साझा पार्टी कास्कीमा खनाल, महानगरमा गुरुङ

नेताको सम्पत्ति छानबिन गर्नुपर्छ : मिश्र

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७६

कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय संयोजक रवीन्द्र मिश्र। इन्सेटमा : कास्की संयोजक खनाल र महानगर संयोजक गुरुङ। तस्वीर : ऋषिराम

साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले लोकतन्त्र प्राप्तिको ३० वर्ष बितिसक्दा पनि आमनागरिकले शान्ति सुरक्षा, सुशासन, विकास र समृद्धि प्राप्त गर्न नसकेको टिप्पणी गरेका छन्।

साझा पार्टीको कास्की तथा पोखरा महानगर संयोजक घोषणा कार्यक्रमलाई शनिवार पोखरामा सम्बोधन गर्दै संयोजक मिश्रले भने, ‘नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीले ३० वर्ष शासन गरे, २५/२६ वटा सरकार निर्माण भए, यो अवधिमा नेताको जीवनस्तर परिवर्तन भयो तर जनताको जीवनस्तरमा परिवर्तन आएन। ’

केही वर्षअघि नेपालभन्दा गरीब राष्ट्रले ३० वर्ष अवधिमा वार्षिक प्रतिव्यक्ति आयश्रोत १० हजार डलर पु¥याए तर नेपालमा प्रतिव्यक्ति आयश्रोत १ हजार डलरमात्र रहेको मिश्रले बताए। देशभित्र भएको भ्रष्टाचारले जनतालाई सधैँ पीडित भएको बताउँदै उनले राजनीतिक नेतृत्वमा रहेका व्यक्तिको सम्पत्ति छानविनको लागि साझा पार्टीले आफ्नो मुद्दाको रुपमा अगाडि बढाउने जनाए।

‘प्रधानमन्त्री राष्ट्रिय ध्वजावाहक विमानमा विदेश नगई निजी कम्पनीको जहाजमा चढेर विदेश जान्छन्। दलाल र ठेकेदार र दलालसँग उठबस गर्छन्, ’ मिश्रले भने, ‘ती नेताले जनताको हितमा कसरी काम गर्छन् ? जनताको करमा मोजमस्ती गर्ने राजनीतिक दलका नेताको सम्पत्ति हामीले कहिल्यै खोजेनौ। ’ उनले पछिल्लो समयमा राज्यका न्यायिक तथा विश्वविद्यालयमा समेत राजनीतिक भागवण्डामा नियुक्ति हुने गरेको पनि बताए।

कास्की निर्वाचन क्षेत्र २ को उपनिर्वाचनमा आफ्नो पार्टीबाट कास्कीकै व्यक्ति उम्मेदवारको रुपमा खडा गर्ने र पार्टीले कास्कीको उपनिर्वाचनलाई विशेष महत्व दिने जानकारी उनले दिए।

‘मंसिर १४ मा हुने उपनिर्वाचनलाई निर्वाचनरुपमा नहेरी जनमतसङ्ग्रहको रुपमा लिएका छौं, ’ उनले भने, ‘सत्तामा बसेको व्यक्तिले शासन कस्तो गरेका छन् भन्ने नतिजा दिन पनि उपनिर्वाचनबाटै देखिने छ। ’

पार्टी संगठन विभाग प्रमुख केशव दाहालले पुराना पार्टीले देश हाँक्न सक्दैनन्, अब आमनागरिकले पार्टी परिवर्तन गरी नयाँ सोच र जाँगर भएको पार्टीमा समर्पित हुनुपनेर्मा जोड दिए। ‘राणा फाल्यौं, पञ्चायत फाल्यौ, राजा फाल्यौं, काँग्रेस बन्यौं, कम्युनिष्ट बन्यौ तर देश बनेन। जनताको जीवनस्तरमा सुधार आएन। पुरानो राजनीतिक बाटो वेठिक छ। अब नयाँ राजनीतिक पार्टीबाट अगाडि बढ्नु जरुरी छ, ’ उनले भने।

पार्टीका केन्द्रीय सदस्य विकल शेरचनले ७० वर्षको इतिहास बोकेका पार्टी धरासायी बन्नुको कारण उनीहरु समय अनुसार परिवर्तन हुन नसक्दा नै भएको दाबी गरे।

अर्का केन्द्रीय सदस्य अनिल भेटवालले अबको राजनीति पारदर्शी, जनताप्रति उत्तरदायी, सुशासन, शान्ति, महँगी नियन्त्रणतर्फ केन्द्रित हुनुपनेर्मा जोड दिए।

पार्टीका केन्द्रीय सदस्य अब्दुस मियाँले नेपालको राजनीति फोहोर भएकाले सफा बनाउनेतर्फ साझा पार्टी लागेको दाबी गरे। साझा पार्टीमा त्यस्ता व्यक्ति हुन्छन्, जसले भ्रष्टाचार गदैर्न। जनताप्रति सधैँ उत्तरदायी, लोकतन्त्रप्रति प्रतिबद्ध, व्यक्तिवादी नभइ पार्टीको नीति र नियममा चल्ने उनले बताए।

अर्का केन्द्रीय सदस्य सुशीला केसी अधिकारीले कास्कीको उपनिर्वाचनबाट नै सरकारलाई रिपोर्ट कार्ड दिन आवश्यक भएको बताइन्। उक्त अवसरमा पार्टीका केन्द्रीय सदस्य प्रीया सिग्देल, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, साझा पार्टीमा नवप्रवेशी रजनी केसी, एकराज न्यौपाने लगायतले आफ्ना भनाइ राखेका थिए। सो अवसमा एक दर्जन व्यक्ति साझा पार्टीमा प्रवेश गरेका थिए। साझा पार्टीको कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाल र पोखरा महानगर संयोजकमा मनकाजी गुरुङलाई जिम्मेवारी दिइएको छ। कास्की संयोजक खनालले राजनीतिमा इमान्दारिता हुनु जरुरी रहेको बताए। उनले सरकारीस्तरमा हुने भ्रष्टाचारमात्र रोक्न सकेमात्र देशको विकास सधैँ अगाडि बढ्ने बताए। पोखरा महानगर संयोजक गुरुङले आफू साझा पार्टीमा सधैँ कटिबद्ध रुपमा लाग्ने बताए। पार्टीको कास्की जिल्ला संयोजक बनेका खनाल राजनीतिशास्त्रमा स्नातकोत्तर हुन्। कानूनको विद्यार्थी समेत रहेका खनाल युवा व्यवसायी पनि हुन्। उनी एक इन्भेष्टमेन्ट कम्पनीका अध्यक्षको रुपमा कार्यरत छन् भने आफ्नै लगानीमा होटल संचालन गरिरहेका छन्। सामाजिक अभियन्ताको रुपमा लामो समयदेखि संलग्न खनालले २५ बढी देश भ्रमण गरिसकेका छन्।

त्यस्तै महानगर संयोजक बनेका गुरुङ कान्तिपुर एकेडेमीका प्राचार्य तथा संचालक हुन्। दीप युनाइटेड क्लबका अध्यक्ष गुरुङ नेशनल प्याब्सनका कास्की जिल्ला सचिवसमेत हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width