डेंगुबाट कास्कीमा १२७३ संक्रमित

संक्रमण फैलिएसँगै सर्वसाधारणमा त्रास

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७६
p2

पोखरा,२८ भदौ । डेंगु रोगको संक्रमण देशैभर फैलिएको छ । कास्कीमा पनि यो संक्रमण दू्र्रतगतिमा बढेको छ । ४५ दिन समयावधिभित्र कास्कीमा १ हजार २ सय ७३ जनामा डेंगु रोग देखिएको छ ।

एडिस जातको लामखुट्टेको टोकाइबाट हुने डेंगु ज्वरो स्वास्थ्य केन्द्रको नियन्त्रण बाहिर जाँदा कस्केली नागरिक त्रसित बनेका छन् । डेंगुको संक्रमण कास्की, चितवन र काठमाडांै जिल्लामा दू्रतगतिमा फैलिएको छ । २००४ सालमा पहिलो पटक नेपालमा डेंगुको संक्रमण देखा परेको र त्यसपछि केही वर्ष बिराएर डेंगुको संक्रमण देखा पर्ने गरेको छ ।

स्वास्थ्य सेवा विभाग स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशद्वारा शुक्रवार पोखरामा आयोजित डेंगु रोग नियन्त्रण र रोकथामसम्बन्धी छलफलमा सहभागी चिकित्सकले डेंगु रोग नियन्त्रण गर्न प्रत्येक घरले लामखुट्टेको खोजी र नष्ट गर्नुको विकल्प नभएको बताए ।

एडिस लामखुट्टेसम्बन्धी विशेषज्ञ भारतीय डा भूपेन्द्रनाथ नागपालले डेंगु ज्वरोको खास उपचार र खोप नहुने भएकाले यो लामखुट्टेलाई नष्ट गर्नुको विकल्प नभएको बताए । डेंगुको संक्रमण विश्वव्यापी रुपमा फैलिएको र हाल १ सय २८ वटा मुलुकमा फैलिएको र विश्वमा वर्षेनी २० हजार जनाको मृत्यु डेंगुकै कारण हुने गरेको छ,’ उनले भने, ‘श्रीलंकाले डेंगु रोगको नियन्त्रण सफल रुपमा गरेको छ ।’

‘डेंगु ज्वरोबाट मृत्युदर कम हुन्छ तर डेंगु लागेको लामो समयसम्म उपचार हुन सकेन भने मानिसको मृत्यु समेत हुन सक्छ,’ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका चिकित्सक राजीव लालचनले भने, ‘कास्कीमा डेंगुको संक्रमण बढिरहेको छ । उक्त जातको लामखुट्टेको अण्डा पार्ने उपयुक्त मौसम पनि यही हो । एउटा लामखुट्टेले आयु ३० दिन र त्यो समयमा यसले ६÷७ पटकसम्म १ सय ५० का दरले करिब ८ सयको संख्यामा अण्डा पार्छ । जसका कारण डेंगु द्रूतगतिमा फैलिने मद्दत पु¥याउँछ । रोग नियन्त्रणको विकल्प घरघरबाट लामखुट्टे नष्ट गर्ने नै उचित विकल्प हो।’

साउन १५ गते पोखरा महानगरपालिका वडा ८ का एक व्यक्तिमा डेंगुको संक्रमण भेटिएपछि फैलिएको डेंगुको संक्रमणले हाल करिब १ हजार ३ सय जनालाई पीडित बनाएको छ । कास्कीमा बढी मात्रामा ११ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिलाई बढी देखा परेको जानकारी स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राजेन्द्र घिमिरेले दिए ।

‘डेंगु नियन्त्रण गर्न तीन वटै सरकारको सक्रियता आवश्यक देखिएको छ,’ प्रमुख घिमिरेले भने, ‘डेंगुको संक्रमण अर्को वर्ष पनि फैलिन सक्छ, लामखुट्टे नष्ट गर्न प्रत्येक घर र टोलबाट अभियान चाल्नै पर्छ।’

कास्की लगायत हिमाली जिल्ला म्याग्दी पर्वत, बागलुङ लगायतमा समेत डेंगु संक्रमण देखिएपछि नियन्त्रणमा थप समस्या आएको छ । इजिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका उत्तमराज प्याकुरेलले ३ हजारभन्दा बढी प्रजातिका लामखुट्टेमध्ये एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले डेंगु रोगको भाइरस सार्ने बताए । ‘टाइप १ देखि टाईप ४ सम्मको भाइरस डेंगुमा हुन्छ । टाइप १ र २ नर्मल हुन्छ भने टाइप ३ र ४ खतरा हुन्छ,’ प्याकुरेलले भन, ‘नेपालमा १ र २ टाइपको भाइरल भएको ज्वरो देखिएको छ ।’

डेंगुको कुनै उपचार नभएको र खोप पनि नभएकाले ज्वरो आउनेवित्तिकै उपचारका लागि स्वास्थ्य संस्था पुग्न चिकित्सकले सल्लाह दिएका छन् । यसको लक्षणमा उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाडहरु बेस्सरी दुख्ने, आँखाको गेडी वरपर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्वाहरु देखा पर्ने, नाक, गिँजा र शरीरका अन्य अंगबाट रगत बग्न सक्ने हुन्छ ।

लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो । उक्त जातको लामखुट्टेले दिउँसोको समयमा वा उज्यालोमा टोक्ने गर्छ । नाङ्गो जीउ बाहिर ननिस्कने, बाहिर निस्कने बेलामा कपडा लगाएर निस्कने, जमेको पानीमा फुल पार्ने भएकाले आफू बस्ने वरिपरी फालिएका खालीबोतल, अलकत्रा तथा मट्टीतेलका खाली ड्रमहरु, पुराना टायर लगायतमा पानी जम्न नदिने, पानीका ट्याङ्कीमा पनि लामखुट्टे बस्न नदिने, गमलामा पानी जम्न नदिने, भाँडामा पानी जम्न नदिई घोप्ट्याएर राख्ने साथै लामखुट्टेको टोकाइबाट बच्ने मलाम लगाउन चिकित्सकहरुले सल्लाह दिएका छन् ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमनाथ पौडेलले महानगरपालिकाले अभियानको रुपमा लामखुट्टेको खोज र नष्ट कार्य अगाडि बढाएको बताए । पोखरा पर्यटकीय क्षेत्र भएकाले पनि लामखुट्टेको खोज र नष्टको अभियान तीव्र पार्न आवश्यक भएको भनाइ उनको छ । पोखरामा एक विदेशीलाई समेत डेंगु रोग देखा परेको छ ।

ऋषिराम बराल

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width