समाजवादी पार्टीले बनायो ७५ सदस्यीय जिल्ला समिति

आदर्श समाज सम्वाददाता
भाद्र २६, २०७६
Samajbadi dal

लमजुङ, २६ भदौ । तीन महिना अघि केन्द्रमा एकीकरणको घोषणा गरेका नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबाट बनेको समाजवादी पार्टीको एकीकृत जिल्ला समिति घोषणा गरिएको छ । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यतामा ७५ सदस्यीय जिल्ला समिति घोषणा गरिएको हो ।

उक्त घोषणा सभाको उदघाटन गर्दै अशोक राईले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा परिचित, निष्ठापूर्ण शक्तिको धरोहरको रूपमा पार्टी स्थापित भएको दावी गरे । उनले भने ‘हिजो हामीलाई जातिवादीको आरोप लगाइन्थ्यो पछि मधेशीको आरोप लगाइयो आज हामीले हिमाल, पहाड र मधेशलाई जोड्न सफल भएका छौं, हाम्रा नेता बाबुराम माथि चौतर्फी आक्रमण भएको छ ।’ जोसँग उच्च भिजन र निष्ठा हुन्छ त्यसैलाई विभिन्न आरोपले खुइल्याएर सिध्याएपछि मात्रै आफ्नो कुकृत्यपूर्ण राजनीति सफल हुने हुँदा यसरी घेराबन्दी गरिएको मात्र हो राईले भने ।

विशेष अतिथि सो दलमा महासचिव गंगानारायण श्रेष्ठले नेपालमा रहेका थुप्रै पार्टीको बीचमा फेरी अर्को पार्टी थप्नका लागि मात्रै समाजवादी पार्टी स्थापना भएको होइन भने । उनले वास्तविक परिवर्तन हिमाल, पहाड र तराईलाई भावनात्मक एकतामा जोडेर समावेशी नयाँ नेपाल निर्माण गर्न गठन गरिएको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका अध्यक्ष मोती रिजाल, इन्चार्ज दुर्गाप्रसाद गुरुङ, प्रदेश उपाध्यक्ष रमेश पोख्रेल, पार्टीका केन्द्रीय सदस्य खेमजङ गुरुङ, प्रदेश सभा सांसद धनमाया तामाङ, प्रदेश सचिव रेखि गुरुङ, समाजवादी दलित मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष लालबहादुर वि.क, समाजवादी विद्यार्थी संघका उपाध्यक्ष गोविन्द्र कँडेल, ईश्वर अधिकारी, गिरबहादुर तामाङले शुभकामना व्यक्त गरेका थिए ।

नव घोषित समाजवादी पार्टीको लमजुङ जिल्ला समितिको अध्यक्षमा गमबहादुर तामाङ अध्यक्ष चयन भएका छन् । उपाध्यक्षहरू त्रय नरेन्द्र गुरुङ, रञ्जित कुमाल, रेलकुमारी गुरुङ रहेका छन् । जिल्ला सचिवमा बलबहादुर राना, सहसचिव वसन्तबहादुर (बासु) थापा, कोषाध्यक्षमा कुमराज मजाकोटी सहित ७५ सदस्यीय कमिटी चयन भएको सहसचिव एवम् पत्रकार वसन्तबहादुर (बासु) थापाले बताए । उनका अनुसार पद्मराज घलेको अध्यक्षता र तेजनाथ पौडेल सचिव रहेको २१ सदस्यीय सल्लाहकार समिति पनि चयन भएको छ ।

सो दलका तत्कालीन अध्यक्ष पृथ्वीमान घलेको अध्यक्षतामा भएको घोषणा सभाको सञ्चालन सो दलका केन्द्रीय सदस्य राजु थापाले गरेका थिए । गत जेष्ठ २३ गते केन्द्रमा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम बीच एकता घोषणा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width