पोखरा, २४ भदौ । स्याङ्जाको सर्केटारी–गलेम–पञ्चासे ग्रामीण सडकअन्तर्गत फेदीखोला गाउँपालिका–४ स्थित गलेम भीर खण्डको ट्रयाक मंगलबार उद्घाटन गरिएको छ । झण्डै २ करोड रुपैयाँ लागतमा खोलिएको सो खण्डको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
पञ्चैबाजा र नाचगान सहित सडक खण्ड उद्घाटन भएपछि पोखरा र अन्य बजार क्षेत्रमा बसोबास गर्दै आएका फेदीखोला गाउँपालिकाका हजारौं बासिन्दा र स्थानीय जनता भीरखण्डमा नाचगान गर्दै कार्यक्रमस्थल गलेम डाँडा पुगेका थिए । सर्केटारी गलेम पञ्चासे ग्रामीण सडक उपभोक्ता समितिले कार्यक्रम आयोजना गरेको हो ।
संघीय सरकार, गण्डकी प्रदेश सरकार, सांसद विकास कोष, स्थानीय निकाय र फेदीखोलाका ६ सय ३३ बासिन्दाले सडक निर्माणका लागि आर्थिक सहयोग गरेको समिति अध्यक्ष मेजर डिलबहादुर गुरुङले जानकारी दिए । कार्यक्रम अवसरमा बाटो निर्माणको जिम्मा पाएका बाराही कन्ष्ट्रक्सन, सत्य निर्माण सेवा र डोजर चालक दीपक नेपाली गाउँपालिका, निर्माण समिति तथा स्थानीय आमा समूहको तर्फबाट सम्मानित भएका थिए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले सर्केटारी गलेम पञ्चासे मार्गको जिम्मा अब प्रदेश सरकारले लिने घोषणा गरे । ‘अब जनताले बाटोको लागि पैसा हाल्नु पर्दैन,’ उनले भने, ‘जनताको पीर प्रदेश सरकराले नजिकबाट हेर्छ ।
बाटो समितिका उपाध्यक्ष चूडामणि पौडेलले भीर छिचोलेर सडक मार्ग गाउँ पुग्दा आफूमा हर्षको सीमा नरहेको बताए । बाटोको स्तारोन्नति हुन सके विदेशी पर्यटक पञ्चासे पुग्न र स्थानीय बासिन्दा गाउँ अर्थात् प्रकृतितर्फ फर्कन सघाउ पुग्ने विश्वास उनले व्यक्त गरे । प्रदेश सरकारले गाउँ फर्कने खालको नीति ल्याउनुपर्ने सुझाव पनि पौडेलको थियो ।
सिद्धार्थ राजमार्गअन्तर्गत फेदीखोला गाउँपालिका– १ सर्केटारीबाट २०५४ मा खन्न शुरु गरिएको सडम मार्गअन्तर्गत गलेम भीर खण्ड मात्र २ हजार ६ सय मिटर रहेको छ भने गत माघदेखि यता पछिल्लोपटक भीरमा ८ सय मिटर खण्ड खनिएको हो । सर्केटारीबाट गलेमहुँदै अगाडि बढ्ने यो मार्ग पञ्चासे भञ्ज्याङ पुग्दा १७ किलोमिटर दुरी तय हुने उपभोक्ता समितिका पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेलले जानकारी दिए । भीर खण्डमा बाटो निर्माणको थालनी भने २०६८ सालमा भएको उनले सुनाए ।
समितिअन्तर्गत भीर खण्डका लागि मात्र गठित उपभोक्ता समितिका अध्यक्ष एवं अर्थ संकलन समितिका संयोजक क्याप्टेन इन्द्रबहादुर गुरुङले लामो प्रयासपछि बाटो निर्माण कार्य सम्पन्न भएको भन्दै सहयोग दाताहरुलाई धन्यवाद ज्ञापन गरे ।
फेदीखोला–४ का वडा अध्यक्ष माधवप्रसाद शर्मा सुवेदीले गाउँपालिकाको बजेटले मात्र सडकको स्तरोन्नति गर्न सम्भव नहुने भन्दै प्रदेश सरकारले त्यसमा सघाउनुपर्ने माग राखे । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश समिति सदस्य शैलेन्द्र घिमिरेले विकासका काममा राजनीति गर्न नहुने भन्दै सिंगो गाउँले आर्थिक सहयोग गरी बाटो बनाउनु नेपालमा नै उदाहरणीय काम भएको बताए । ‘जनताको यो हुटहुटीबाट प्रदेश सरकारले सिकोस्,’ उनले भने ।
फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बाटो आएसँगै जनता अब गाउँ फर्कनुपर्ने बताउँदै गाउँपालिकाले कृषि र पर्यटनमा ठूलो सम्भावना बोकेको भनाइ राखे । बाटो बनाउनेविरुद्ध नै अदालत र अख्तियारमा मुद्दा हाली केही पक्षले निरुत्साहित गर्न खोजेको भन्दै उनले दुखेसो पोखे । बाटो बन्नुपूर्व जनताले गलेम भीर के हुन्छ भनेर प्रश्न सोध्ने गरेको र कसैले गाउँलाई स्याङ्जाको कर्णाली भन्ने गरेको भन्दै उनले गाउँलाई अब पर्यटकीय र कृषिको गाउँ बनाउनुपर्ने भनाइ राखे । पूर्व सांसद हितकाजी गुरुङले समेत बाटो निर्माणमा ठूलो भूमिका खेलेको उनले सुनाए ।
कार्यक्रममा संघीय सांसद नारायणप्रसाद मरासिनी, प्रदेश सांसद मीनप्रसाद गुरुङ, समितिका सचिव कृष्णप्रसाद शर्मा, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास लगायतले भनाइ राखेका थिए ।
Related News
सम्बन्धित समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
hero news full width
मुख्य समाचार
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१