पोखरा, ५ भदौ । पट्यारलाग्दो कार्यक्रममा सात जना बोलेपछि आठौं नम्बरमा उनको पालो आयो । रेवान पोखराको २५ औं वार्षिक साधारण सभा लेखिएको ब्यानर मुन्तिर उभिएर उनी बोल्न थाले । ‘म लामो बोल्दिनँ, ३ मिनेटभित्रमै आफ्ना भनाइ सक्छुु’ वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी कोमलविक्रम शाहले विहीवार आफ्नो भनाइ यसरी नै शुरु गरे ।
उद्घोषकले ३ मिनेट भने पनि उनले अलि लामै बोले । ‘लेकसाडको कुन होटलमा तोडफोड भएको छ ? कुन रेष्टुरा फोरिएको छ? कि कुनै पर्यटकमाथि हातपात भएको छ?’ दिग्गज पर्यटन व्यवसायीबीच उनले प्रश्नको भेल छुटाउन थाले, ‘कुनै चोरीको खबर सुन्नुभएको छ लेकसाइडमा, कि ग्याङफाइट भएको छ यहाँ ?’ पर्यटन मन्त्री विकास लम्साल पनि माउण्ट कैलास होटलको त्यही हलमा डीएसपी शाहलाई सुन्दै थिए । प्रश्नैप्रश्नका बीच हलको गुनगुन र साइड टक एकाएक शान्त भयो ।
डीएसपी शाह अझै रोकिएनन् । चोरी भनेको त्यही वडा कार्यालय चोरिएको केश हो, त्यही पनि मैले चोरलाई समातेर छाडें । म लेकसाइडमा कुनै ग्याङफाइट र गुण्डागर्दी हुन दिन्नँ । तपाईहरु त्यत्तिकै प्रोपोगाण्ड गर्नुहुन्छ । सुरक्षा भएन भन्नुहुन्छ । पर्यटन व्यवसायीसामु उनले प्रश्न र गुनासो मिसाए–कसैको व्यक्तिगत स्वार्थमा लागेर (मिडियामार्फत्) भ्रम फैलाउनुहुन्छ । लेकसाइड अहिले शान्त छ । खाने, पिउने र त्यसपछि धेरैथोरै हल्ला गर्ने त नेपालीको बानी नै हो, यसलाई अन्यथा लिनु भएन ।
अब भने उनी अलि रोकिए र सम्झाउन थाले, सुरक्षा र शान्ति सबैको दायित्व हो, पुलिसले मात्र गरेर हुने होइन । निश्चित समय भएपछि त काठमाडौंमा पनि रेष्टुराँमा सर्भिस रोक्ने गरिन्छ । एउटा डिस्कोको स्थान नमिल्दा लेकसाइडमा हल्ला र तानातानको गुनासो आएको भनाइ उनको थियो । मर्यादित भएर व्यवसाय गर्न सुझाव राख्दै उनले आगामी सन् २०२० को नेपाल भ्रमण वर्ष कार्यक्रम सफल पार्न प्रहरीका तर्फबाट सक्दो सहयोग र पहल हुने प्रतिबद्धता जनाए ।
नेपालको पर्यटकीय राजधानी दाबी गरिने लेकसाइडको अतिथि सत्कारसँग अहिले ध्वनी प्रदूषण र अश्लीलताको आरोप जोडिन पुगेको छ । कतिपय रेष्टुराँले ध्वनी प्रदूषण गरेको मुद्दा अहिले अदालतसम्म पुगेको छ । विचार नै नगरी अदूरदर्शी ढंगले यस्तो मुद्दा कतिपय व्यवसायीले अगाडि बढाएको रेवान पोखराका सल्लाहकार एवं पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सूर्यबहादुर भुजेलले आरोप लगाए । सात आठ वटा डिस्कोमध्ये केहीमा हल्ला भयो होला, तिनको मुद्दा सल्टाएको भए अहिलेको समस्या सबै समाधान हुने थियो, उनले भने ।
केही रेष्टुराँ देखाएर सबैलाई मुछ्न खोज्नु आपत्तिजनक भएको भन्दै उनले अदालतले रेष्टुराँ बन्द गर्न भन्यो भने नेपाल भ्रमण वर्षको मुखमा नकारात्मक सन्देश जाने बताए । रेवान पोखराका महासचिव गणेशबहादुर थापा पनि १३ प्रतिशत भ्याट र आयकर समेत तिरेर कानूनी रुपमा संचालित रेष्टुराँमाथि कसैले आरोप लगाउन नसुहाउने बताउँछन् ।
पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन पछिल्लो विवादलाई होटल र रेष्टुराबीचको द्वन्द्वजस्तो गरी प्रस्तुत गर्न खोजिनु दुःखद भएको बताउँछन् । उनले थपे, ‘पीडित भएर नै व्यवसायी र नागरिक अदालतमा मुद्दा हाल्न पुगेका हुन् । अरु धेरै सरकारी निकायमा धाउँदा पनि नभएपछि अदालतको शरण लिनु परेको हो । यहाँ त पीडितलाई नै अपराधीजस्तो देखाउन खोजिएको छ,’ उनले थपे, ‘यो खासमा शान्ति चाहने र नचाहनेबीचको मुद्दाजस्तो बन्न पुग्यो । समाजलाई शान्त र कोलाहलमुक्त बनाउँ र लेकसाइड पनि २४ घण्टा नै खोलौं । नौ घण्टा र २४ घण्टा भनेर विवाद नगरौं, सबै मर्यादित बनेर अगाडि बढौं ।
सामुदायिक सेवा केन्द्र बैदामकी अध्यक्ष मीना भट्टराईले डिस्को र डान्सभन्दा बाहिरको अवस्था कोलाहलयुक्त हुने गरेको बताइन् । मर्निङ वाकमा जाँदा डिस्कोबाट निस्कनेहरु होहल्ला गर्दै गरेको आफूले देख्ने गरेको बताउँदै उनले १८ वर्ष नपुगेकालाई डिस्को र डान्समा छिर्न नदिन आग्रह गरिन् । यहीबीच जिल्ला प्रशाशन कार्यालय कास्कीसँग सहकार्य गर्दै अहिले व्यवसायी, प्रहरी र सामुदायिक सेवा केन्द्र लेकसाइडको रात्रीकालीन व्यवसायका लागि आचारसंहिता समेत बनाउने क्रममा रहेका छन् ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइराला, पोखरा महानगरपालिका वडा ६ का अध्यक्ष जगतबहादुर पहारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, रेवान पोखराका अध्यक्ष बुधराज भुजेल लगायतले भनाइ राखेका थिए ।
Related News
सम्बन्धित समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
hero news full width
मुख्य समाचार
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१