गाउँलाई माया गर्नुपर्छ

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७६
sim simla nepane progrem photo_Fotor

अन्नपूर्ण स्थित सिम सिम्ले नेपाने बहुउद्देश्यीय कृषि फर्मको दोस्रो वार्षिक साधारणसभाका अतिथी। तस्स्विरःश्रीभद्र पौडेल/आदर्श समाज

अन्नपूर्ण–१, अधिकारीडाँडा (भारतीडाँडा) स्थित सीम सिम्ले नेपाने बहुउद्देश्यीय कृषि फार्मको शनिवार सम्पन्न दोस्रो वार्षिक साधारणसभाका वक्ताहरुले सो कुरामा जोड दिएका हुन्।

पछिल्लो समय गाउँबस्तीहरु उजाड बन्दै गएको, गाउँको सम्भावनाको खोजी नगरिएको तथा जमिन बाँझो हुँदै गएको तर बजारमा मानिसले कृर्तिम जीवन निर्वाह गरिरहेको भन्दै आफूलाई जन्माई हुर्काएको गाउँलाई बिरानो बनाउन नहुने वक्ताहरुको ठहर छ।

वक्ताहरुले आधुनिकताका नाममा पश्चिमेली संस्कृतिलाई भित्राउने, शहर झरेकाहरु आफ्नो गाउँको नाम भन्न समेत हिचकिचाउने, देखावटी फेसनमा रमाउने तथा श्रम नगरी खान पाउनुपर्दछ भन्ने मनोविज्ञानलाई चिर्नुपर्ने भन्दै आफुलाई जन्माई हुर्काएको जमिन बाँझो देख्दा मन दुख्ने पनि बताए।

अन्नपूर्ण १ माइती भएकी प्रतिनिधि सभा सदस्य दुर्गा विकले श्रममा रमाउन खोज्ने प्रवृति सबैभन्दा राम्रो भएको बताइन्। शहर तथा विदेश गएर ठुलाठुला कुरा गर्ने तर आफू जम्मेको ठाँउमा सिन्को नभाच्ने, उल्टै गाउँलेलाई पाखे भनी आरोप लगाउने मानवीय प्रवृतीप्रति संकेत गर्दै उनले यस्तो सोचको अन्त्य नभएसम्म नेपालको विकास नहुने पनि औँल्याइन्।

सरकारले बाँझो जग्गालाई निरुत्साहित गर्ने नीति लिएको पनि उनको भनाई छ। सांसद विकले गाउँमै केही गर्नुपर्दछ भन्ने मनसायका साथ स्थापना गरिएको फार्मलाई सरोकारवाला मिली नमूना बनाउनुपर्ने तर्क पनि गरिन्। आजभोलि गाउँ फर्कन खोज्ने मानिस शहरमा धेरै रहेकोतर्फ संकेत गर्दै सांसद विकले निकट भविष्यमै गाउँफर्क अभियान चल्ने दावी गरिन्। फार्मको व्यवस्थापन पक्ष बलियो बनाउन उनले सुझाव पनि दिइन्।

अन्नपूर्ण १ घरभएका प्रधानमन्त्री कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले कृषि पेशबाट प्रत्यक्ष आर्थिक फाइदा नभएपनि दीर्घकालिन रुपमा फाइदा हुने बताए। फार्मका संचालकलाई प्रतिबद्घ भएर काम गर्न सुझाव दिदै प्रवक्ता कुँवरले विना हिचकिचावट कृषि कर्म गर्ने आग्रह गरे। फार्म संचालकले कृषिप्रधान देश नेपालमा कृषि कर्म गरेर देशलाई पनि योगदान दिएको उनको ठम्याई थियो। वडावासी तथा गाउँपालिका अध्यक्ष युवराज कुँवरले गाउँवासीको कृषिप्रतिको आकर्षण सराहनीय रहेको तर्फ संकेत गर्दै दुई सय जना मिलेर फर्म संचालन गर्नु उदाहरणीय भएको बताए। अध्यक्ष कुँवरले गल्ती कमजोरीलाई सम्बन्धित ठाँउमा भन्नुपर्ने औँल्याउँदै विकास र आम्दानी सबैको आवश्यकता भएको पनि जोड दिए। गाउँपालिका गाउँ निर्माण गर्ने कुरामा सधै प्रतिबद्घ रहने उनको भनाई छ। गाउँलाई तिरस्कार गर्ने मान्छे नेपाली हुन नसक्ने उनले ठोकुवा गरे।

वडाध्यक्ष भरतजंग कुँवरले सबै मिली फार्मको स्तरबृद्घिमा लाग्नुपर्ने धारणा राखे। भारतीडाँडाको कफीले विश्ववजारमा ख्याति कमाएको तर्फ संकेत गर्दै अध्यक्ष कुँवरले अन्य कृषि उत्पादनमा पनि गाउँले ख्याति कमाउनुपर्नेमा धारणा राखे।

सल्लाहकार कलाधर भुगाईले आफूहरुले नगरे कसले गर्ने? अहिले नगर कहिले गर्ने? तथा कृषि नगरे के गर्ने? भन्ने तिन प्रश्नको उत्तर खोज्दै जाँदा फर्म स्थापना भएको जनाए। नेपाल कम्प्युनिष्ट पार्टी(ने.क.पा) अन्नपूर्ण संयन्त्र सदस्य लक्ष्मीप्रसाद अधिकारीले युवाको काँधमा राष्ट्र निर्माणको जिम्मेवारी रहेको सुनाउँदै गाउँ निर्माणमा पनि युवाले भूमिका खेल्ने भनाई राखे।

उक्त कार्यक्रममा समाजसेवी कृष्णबहादुर कुँवर ए, बाटो निर्माण समितिका अध्यक्ष केदारनाथ अधिकारी, पशु सेवा विज्ञ केन्द्र कास्कीका पशु अधिकृत सहदेव पौडेल, शेयर सदस्यद्वय विष्णुप्रसाद अधिकारी र अम्बिका कुँवर, व्यवस्थापक हेमराज अधिकारी, फार्मका अध्यक्ष हरिप्रसाद भुगाई, उपाध्यक्ष शिवप्रसाद अधिकारी लगायतले पनि धारणा राखेका थिए।

उनीहरुले युवा विकर्षणका कारण गाउँका आमाबुबा टुहुरा सरह बन्न गएको, फार्ममा विज्ञ टिम बनाएर काम गर्नुपर्ने, गाउँपालिकामै नमूना फर्म बनाउनुपर्ने, जन्मभूमिलाइ सबैले माया गर्नुपर्ने, गाउँबाट युवा पलायन रोक्नुपर्ने, सहकारीमा हुने बोनस मानसिकता तोड्नुपर्ने साथै कृषिबाट दीर्घकालिन फाइदा हुने औँल्याएका थिए। कार्यक्रमका दर पनि खुवाइएको थियो।

फर्मका अध्यक्ष भुगाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष शिवप्रसाद अधिकारीले स्वागत तथा सचिव राजकुमार कुँवरले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width