संस्कृतिमाथि राज्य अनुदार : हिन्दू महासंघ

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७६
hindu_Fotor

तीज पर्व भड्किलो भएको आरोप सहित साउन पहिलो साता नारी जागरण अभियानले मुख्यमन्त्री सहित कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए। साउन ९ गते जिल्ला प्रशासन कार्यालय कास्कीले तीजमा तडकभडक नगर्न तथा पार्टी प्यालेस र होटलमा तीज नमनाउन सार्वजनिक सूचना जारी गर्यो। त्यसपछि गण्डकी प्रदेशभरी लहर नै चल्यो, सार्वजनिक सूचना निकाल्ने। आन्तरिक मामिला तथा कानून मन्त्रालयले पनि सबै जिल्ला प्रशासन कार्यालयलाई तडकभडक रोक्न आग्रह सहितको परिपत्र गर्यो।

अहिले विश्व हिन्दू महासंघले प्रशासनले निकालेको सार्वजनिक सूचनाविरुद्ध आवाज उठाउन थालेका छन्। ‘पछिल्लो समय शहरी क्षेत्रमा तीजका मुख्य दिन आउनुभन्दा हप्तौं अगाडिदेखि विभिन्न संघसंस्थाको नाममा विभिन्न होटल र पार्टी प्यालेसमा दरखाने र भेटघाट कार्यक्रम राख्ने गरेको विगतका केही वर्षहरुमा देखिएको छ। यस वर्ष पनि तीज आउनु एक महिना अगाडिदेखि नै दर खाने र भेटघाट कार्यक्रमका नाममा प्रचारप्रसार, अग्रिम टिकट बुकिङ र होटल तथा पार्टी प्यालेसहरुको बुकिङ हुन थालेको सूचना जानकारी यस कार्यक्रममा समेत प्राप्त हुन आएको छ, ’ प्रशासनले निकालेको पत्रमा भनिएको छ, ‘तीजको मौलिकतामाथि आँच आउने प्रकृतिका फजूल खर्च तडकभडक गरगहना प्रदर्शन, र सांगीतिक कार्यक्रमका नाममा हुने ध्वनी प्रदूषण तथा होटल एवं पार्टी प्यालेसमा हुने दरखाने कार्यक्रम लगायत खर्चिला कार्यक्रमले हिन्दू नारीहरुले मनाउने मौलिक चाडको मौलिकतामाथि प्रश्न उठाएको भनि तीजको मौलिकता संरक्षणको ध्यानाकर्षण पत्र आएको छ। मौलिकता अनुसार तीज मनाउन अनुरोध छ। यो सूचनाको बर्खिलाप गरे कानून अनुसार कारबाही हुन्छ। ’

तर विश्व हिन्दू महासंघले चाहीँ प्रशासनले निकालेको सूचनाले हिन्दू धर्ममाथि प्रहार गरेको आरोप लगाएको छ। उनीहरुले संस्कृति प्रति राज्य अनुदार भएको आसय व्यक्त गरे। शनिवार पत्रकार सम्मेलन गरी महासंघले धर्म निरपेक्ष मुलुकमा अन्य धर्मलाई प्रश्रय मिल्ने गरी हिन्दू धर्मको बर्खिलापमा प्रशासन उत्रिएको आरोप लगाएको हो। ‘जागरणका नाममा चोकचोकमा सच्चाई खोलिएका छन्। कोही बोल्दैन। अभियन्ताले त्यस्तो देख्दैनन्। प्रशासन चुप छ, ’ महासंघ कास्कीका सचिव कमल पौडेलले भने, ‘सरल तरिकाले दिदीबहिनीहरु रमाइलो गर्दा गिद्धे नजर किन? भड्किलोको नाममा अभियान्ताले संस्कृति मास्ने काम गरे। ’

अध्यक्ष पार्वता पौडेलले प्रशासनको पत्रले समाजमा त्रास फैलिएको बताइन्। ‘समाज परिवर्तनको क्षेत्रमा अभियान चलाएको भए हामी पनि साथ दिन्थ्यौं। यस्ता अभियानले समाज भाँडिन्छ। प्रशासनको सूचनाले समाजमा त्रास फैलिएको छ, ’ उनले भनिन्, ‘डेरा गरेर एउटा कोठामा बस्नेहरु होटल र पार्टी प्यालेसमा तीज नमनाए प्रशासन अगाडि मनाउने? कि स्पष्ट ठाउँ तोकियोस् नभए छेकबार लगाउने अधिकार प्रशासनलाई छैन। ’ उनले पार्टी प्यालेसमा तीज मनाउन रोक्नेभन्दा आवश्यक सुरक्षा प्रदान गर्न सुझाइन्। ‘प्रशासनको काम तीज मनाउन रोक्ने होइन। कसैले गल्ती गरे रोक्ने र आवश्यक शान्तिसुरक्षा प्रदान गर्नै हो, ’ उनी भन्छिन्, ‘प्रशासनले संविधानमाथी नै धावा बोलेको छ। महिलाविरुद्ध ज्यादति गरेको हाम्रो ठहर छ। प्रशासनले उक्त कदम फिर्ता नलिए अदालतको शरणमा जानेछौं। ’ प्रशासनले क्षेत्राधिकार मिचेर चाडपर्वमाथि असंवैधानिक कदम चालेको उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले तीज मनाउन रोकेको नभई व्यवस्थित गर्न खोजेको बताए। ‘समग्रको भावना बुझेर नै सूचना निकालिएको हो। तीज नमनाउनुस् भनेकै छैन। भड्किलो नगर्नुस् भनेको हो, ’ उनले भने, ‘जे पनि गर्न पाउनुपर्छ भन्ने हो भने त्यसलाई समाजले नै विरोध गर्छ। चाडबाड मौलिक बनाउनुपर्छ विकृति हुनुहुँदैन भनेका हौं। महिनौदेखि होइन निश्चित समयमा मात्रै तीज मनाउनुस् भनेर आग्रह गरिएको हो। ’ तीजका नाममा विभिन्न प्रकृतिका असामाजिक क्रियाकलाप नहोस् भन्ने हेतुले सूचना जारी गरी पहिल्यै सजग गराएको उनको भनाइ छ। तीज पर्व मनाउने नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गर्नै, गरगहना प्रदर्शन गर्नै, फजुल खर्च गर्नै, विभिन्न सांगीतिक कार्यक्रमका नाममा ध्वनि प्रदूषण गराउने जस्ता असामाजिक क्रियाकलाप नगर्न प्रशासनको सूचनामा भनिएको छ।

नारी जागरण अभियान संयोजक अञ्जु क्षत्रीले भड्किलो तीज रोक्नु धर्ममाथिको प्रहार नभएको बताइन्। ‘साथीहरुले धर्मसँग जोडेर हेर्नुभयो। हामीले विकृतिसँग जोड्यौं। धेरै दिन मनाउँदैमा पर्वको महत्व हुने हैन, ’ उनी भन्छिन्, ‘परम्परा र मौलिकता अहिलेको तीजमा छैन। सम्पत्ति प्रदर्शन गर्नै थलो बनेको छ। यस्तो नहोस् भन्न खोजेका हौं। हाम्रो अभियान यतातिर छ। धर्ममाथि आक्रमण होइन। ’

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width