कौसीखेती, लाखौंको सन्तुष्टि

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७६
kausi_Fotor

पोखरा–८, शिवालयमार्गस्थित दुईतले घर। यो घर अरुको तुलनामा फरक छ। घरको खाली भाग कौसी, छत कतै खाली छैन। मौसम अनुसारका लटरम्म तरकारी फलेका छन्। यसरी चुलोमा कराई बसालेर १५ वर्षदेखि कौसीमा तरकारी टिप्ने गृहिणी हुन्–सरस्वती थापा।

सामाजिक अभियन्ता समेत रहेकी सरस्वतीको परिचय यत्तिमै सीमित छैन। समाजशास्त्रमा मास्टर्स उनी स्टाफ नर्स हुन्। तनहुँको रम्घाकी सरस्वतीको विष्णुबहादुर थापासँग बिहे भयो। परिवारमा दुई छोरीहरु इरा र इला (जुम्ल्याहा) छन्। तीमध्ये एक जनाले एमबीबीएसको अन्तिम परीक्षा दिँदै छन् भने अर्की सीए पूरा गदैर्छिन्। श्रीमान् विष्णुबहादुर राष्ट्र बैंकका रिटायर्ड हुन्। परिवारमा ४ जना सदस्यको हरेक छाकमा कौसीकै तरकारी पाक्छ। ‘म किसान परिवारकी छोरी हुँ। किसानीकै रगत छ, ’ कौसीखेतीमा आकर्षित हुनुको तथ्य खुलाइन् सरस्वतीले, ‘स्वास्थ्यकर्मी समेत भएकीले स्वस्थप्रति सचेत छु। यो घर बनेपछि (२०६२ साल) कौसीखेती शुरु गरेकी हुँ। बजारीया विषादी तरकारी खानुको साटो अर्गानिकको कुरै बेग्लै। ’ कुराकानी क्रममा उनले घरको कौसी र छतभरि फलेका विभिन्न जातका तरकारी देखाइन्। देखिहाल्नु भो–यहाँ २०÷२५ प्रकारका तरकारी छन्। काउली, बोडी, घिरौँला, करेला, टमाटर, घीउ सिमी, कर्कलो, अदुवा, भाण्डा, रामतोरिया, खुर्सानी (३ जातका), साग (३ जातका), प्याज, लसुन, धनियाँ, कागती, कुरिलो, आँप, लहरेआँप, स्ट्रवरी फलेका छन्। उनले फलाएका सिजन अनुसारका तरकारी तथा फलफूलहरु घरपरिवारलाई पर्याप्त हुन्छ। साथै आफन्त, चिनेजानेलाई बाँड्छिन्।

कौसीमा लगाएको तरकारी हेर्न छिमेकीमात्र होइन, टाढा टाढाबाट समेत मानिसहरु आउने गर्दछन्। आफन्त र चिनेजानेकालाई कौसीमा फलेको तरकारी उपकारको रुपमा समेत दिने गरेकी छन्। यहाँ आएर हेर्नेहरुले आफ्नो घरमा पनि यस्तै तरकारी फलाउने सपना बुनेर फर्किने गरेको सरस्वतीले सुनाइन्। उनले बताइन्, ‘अर्को वर्ष मैले पनि यस्तै तरकारी फलाउँछु भन्नेहरु धेरै छन्। ’ सरस्वतीले आफूले जानेको सीप अरुलाई पनि सिकाउँछिन्। थोरै ठाउँको सदुपयोग गर्न प्रेरणा समेत भर्छिन्। उनी कृषि सञ्जाल पोखरा ८ की संयोजक हुन्। उनले गरे के हुन्न भन्ने उदाहरण आफैलाई उदाहरण पस्किन्छन्। वडा ८ को सहयोगमा सञ्जालले वडाका ११ वटा समूहलाई गरी कुल ६ सय जनालाई कौसीखेती तालिम प्रदान गरिसकिएको छ। दुई दिनसम्म चल्ने सो तालिममा कौसीखेतीबारे जानकारी, खेती तरिका, बिरुवा उत्पादन तरिका, मल बनाउने तरिका सिकाइने गरिएको छ। तालिम लिएकाहरुले सीपको सदुपयोग गर्दै खेती समेत थालेका छन्। वडास्तरमा सीमित यो तालिम महानगरपालिकाले कार्यक्रम नै बनाएर वडा सबै तथा जिल्लास्तरमा समेत प्रदान गर्नुपर्ने उनको सुझाव छ।

बढ्दो सहरीकरणसँगै खेतीयोग्य जमिन नासिँदै जानु, मानिसमा कृषि पेसामा आकर्षण कम हुनु तथा परनिर्भर बन्दै जाँदा यसप्रकारका कौसीखेतीले धेरथोर फाइदा पुर्याउँछ । यसबाट दैनिक रुपमा महँगो तरकारी किन्ने आर्थिक व्ययभार घट्नुको साथै अर्गानिक उत्पादनले मानव स्वास्थ्यमा फाइदा दिन्छ। तरकारी किन्न जाने समयको बचत हुनुका साथै मानिसमा सकारात्मक सोचको विकास हुने र सानो तिनो काममा क्रियाशील हुँदा शरीर फुर्तिलो हुन्छ। यसका साथै घरभित्रको फोहोर सदुपयोग गरी तरकारी उत्पादनको लागि प्राङ्गारिक मल बनाउन सकिन्छ। कौसीखेतीका लागि माटो राख्ने भाँडाहरु समेत घरकै बिग्रिए भत्किएका सामग्री उपयोगी हुन्छन्। जसबाट वातावरण सन्तुलन कायम गर्दछ। यो खेतीबाट आत्मसन्तुष्टि मिल्नुका साथै लाखौंको सन्तुष्टि मिल्ने सरस्वतीको भनाइ छ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग