लेकका किसान अलैंची रोप्न व्यस्त

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७६
ALaichi Biuwa 2

लमजुङ, ८ साउन । लमजुङको लेकका किसानहरू यतिवेला अलैंची रोप्न व्यस्त छन् । जिल्लामा जेठ महीनाबाट सुरु गरिएको अलैँची रोप्ने कार्य साउन महीनासम्म गरिन्छ । मनसुन सुरु भएसंगै अलैंची किसान अलैंची विरुवा रोप्न सुरु गरेका हुन् ।

जिल्लामा करिव २१ हजार अलैँची किसान छन् । जिल्लामा १२ हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिँदै आएको छ । ७ सय ५० हेक्टर क्षेत्रफलमा अलैंची उत्पादन हुँदै आएको छ । क्व्होलासोंथर गाउँपालिका– ८ घाम्राङका किसान मख्खन गुरुङले आफूले ४० हजार विरुवा उत्पादन गरेको र २८ हजार विक्री भइसकेको बताए । उनका अनुसार एउटा विरुवालाई ५ रुपियाँमा विक्री गरिएको छ । लमजुङसंगै छिमेकी जिल्ला कास्कीमा समेत लग्ने गरिएको छ ।

मस्र्याङ्दी गाउँपालिका– ७ छिनखोलाका अजय तामाङले यो वर्ष करीब २० रोपनी क्षेत्रफलमा अलैँची रोपेको बताए । उनले असार ३ गतेदेखि अलैँचीका बिरुवा लगाउन शुरु गर्नु भएका उनले ३५ हजार बिरुवा रोपेको बताए । उनका अनुसार जिल्लाका अलैंची किसानले आफैंले विरुवा उत्पादन गरेर लगाउने र विक्री गर्ने गरेका छन् । बेसीसहर नगरपालिका– १० खाँचेका अलैंची कृषक सोमबहादुर तामाङले २० रोपनी जग्गामा विरुवा रोपिसकेका छन् । जिल्लाका किसानले उत्पादन गरेका अलैंचीको विरुवा स्याङ्जा, कास्की, बाग्लुङ, गोरखासम्म विक्री हुने गरेको छ ।

मस्र्याङदी गाउँपालिका– ७ शेराका केशलाल तामाङले ६ रोपनी जग्गामा विरुवा लगाएको बताए। उनका अनुसार पानी पर्दाको समयमा विरुवा लगाउन राम्रो हुने भएकाले पानी पर्न थालेपछि अलैँचीका विरुवा रोपेको शुरु गरेको हुँ । जल्लाका किसानले साउने, डम्बरसाई, जिर्मले, रामशाई, गोलसाई जातका अलैंची खेती गर्दै आएको उनले जानकारी दिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अलैंची जोन) कार्यालयका निमित्त प्रमुख हरि मिजारले अलैँचीका बिरुवा लगाउने मौसम भएकाले जिल्ला र जिल्ला बाहिरबाट बिरुवाको उच्च माग भइरहेको बताए । उनका अनुसार जिल्लाको उत्तरी क्षेत्रको ताघ्रिङ, बाहुनडाँडा, घेर्मु, भुलभुले, लुदी, शेरा, सिम्पानी, उत्तरकन्या, भुजुङ, घनपोखरामा अलैँची खेती गरिएको छ । त्यस्तै, उत्तर पश्चिम क्षेत्रको पसगाउँ, भोजे, गिलुङ, घनपोखरा, बाग्लुङपानीमा खेती गरिएको छ । त्यसैगरी, जिल्लाको पूर्वी क्षेत्रका बाँझाखेत, हिलेटक्सार, चिति, ढोडेनी, फलेनी, बन्सार, श्रीमञ्ज्याङ, राइनास मोहारियाकोट, कोल्की, बिचौर, दूधपोखरी, गौंडा, ईलमपोखरी, लगायतका गाउँमा व्यवसायिक रूपमा अलैंची खेती गर्ने गरिएको मिजारले जानकारी दिए । उनका अनुसार यसवर्ष नर्सरी बिरुवाको मूल्य प्रति गोटा पाँच रुपैयाँमा बिक्री भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width