साग समयमै हुन्छ : मन्त्री विश्वकर्मा

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७६
Khelkud Mantri Jagat Bk Pressmeet_Fotor

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता समय सीमाभित्र हुने दाबी गरेका छन्।

खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले भने, ‘साग गेम समयमै हुन्छ कि हुँदैन भनेर मनमा आशंका र दुविधा कसैले राख्नुपर्देन। ’

सागलाई समय सीमाभित्रै आयोजना गर्ने नेपाल सरकारले लक्ष्य लिएको उनले जिकिर गरे। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले साग गेमलाई समेत रकम विनियोजन गरिसकेको मन्त्री विश्वकर्माले प्रष्ट पारे।

सहभागी राष्ट्रलाई समेत समय सीमाभित्रै साग गेमका लागि खेलाडी तयार पार्न सरकारले आमन्त्रण गरिसकेको उल्लेख गरे। आयोजक राष्ट्रको हिसाबले पनि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको मन्त्री विश्वकर्माले जानकारी दिए।

साग आयोजना गर्न पाउनु देशको इज्जत र प्रतिष्ठाको विषय बनेको मन्त्री विश्वकर्माको भनाइ थियो। उनले भने, ‘साग खेलकुदको आयोजकको हिसावले प्रतिष्ठा र गौरव जोडिएको छ। राज्यले साग गेमलाई महत्वका साथ हेरेको छ। साग गेमको पूर्वाधारलाई प्रमुख प्राथमिकतामा राखेको छ। ’

मन्त्री विश्वकर्माले भूकम्पले क्षति पुर्याएको दशरथ रंगशालाको निर्माण कार्य करिब पूरा भएको जनाए। उनले भीआइपी प्यारापीटमा छानो राख्ने कामबाहेक अन्य काम अन्तिम चरणमा पुगेको उल्लेख गरे। मन्त्री विश्वकर्माले साग गेमको उद्घाटन र समापन पनि दशरथ रंगशालामा हुने भएकोले भौतिक पूर्वाधारमा विशेष जोड दिइएको जनाए। उनले अक्टोवर १० तारिखभित्र सबै काम सक्ने लक्ष रहेको बताए।

दशरथ रंगशालाबाहेक सातदोबाटोमा पनि खेलकुदको भौतिक पूर्वाधार निर्माणमा तीव्रता दिइएको मन्त्री विश्वकर्माले बताए। सातदोबाटोमा हिटिङ स्वीमिङ पुल, लन टेनिस कोर्टलगायत भौतिक पूर्वाधारको निर्माण थालनी गरिएको उनको भनाइ थियो। खेलकुदको भौतिक पूर्वाधार निर्माण पूरा गर्न बजेटमा व्यवस्था गरिएको र नपुग बजेटमा सरकारले थप व्यवस्था गर्ने उनले दाबी गरे।

पोखरालाई भेनू बनाएर हुने साग गेमका पूर्वाधार निर्माणमा विशेष जोड दिइएको मन्त्री विश्वकर्माले बताए। आर्चरी, स्वास र ब्याडमिन्टनमा बजेट छुटेको बताउँदै सरकारले ती खेलकुदका लागि बजेटको व्यवस्था गरिसकेको प्रष्ट पारे। साग गेमका लागि पोखराले भेनू पाएको उनको जिकिर थियो।

पोखरा रंगशालाभित्रको फुटबल मैदान प्रकृतिक नै बन्नुपनेर्मा मन्त्री विश्वकर्माले जोड दिए। उनले फाइनल डिजाइन पनि एक हप्ताभित्र आउने ग्यारेन्टी दिए। आर्टिफिसियल काम रोकेर प्राकृतिक फुटबल मैदान बनाउने कुरामा निर्माण कम्पनीसँग सम्झौता भएको जनाए।

‘पोखरा स्टेडियमको फुटबल ग्राउण्ड नेचुरल्ली नै बन्नुपर्छ। भोलिका दिनमा यहाँ अन्तराष्ट्रिय गेम हुँदा मान्यता पाउने किसिमको अन्तराष्ट्रिय मैदान बन्नुपर्छ, ’ मन्त्री विश्कर्माले उल्लेख गरे, ‘कात्तिकको १५ गतेभित्र पोखरा रंगशालाको फुटबल मैदानको निर्माण कार्य पूरा हुन्छ। निर्माण कम्पनीलाई समेत त्यही किसिमको निदेर्शन दिएका छौं। ’

नवौं राष्ट्रिय खेलकुद लक्षित गरेर पोखरामा स्वीमिङ पुल, सूटिङ र क्रिकेट मैदानको निर्माण गर्ने पक्षमा सरकार रहेको मन्त्री विश्वकर्माले उल्लेख गरे। उनले खेलका पूर्वाधार अन्तराष्ट्रियस्तरकै हुने दाबी गरे।

‘अब पोखरामा बन्ने स्वीमिङ पुल, सुटिङ र क्रिकेट मैदान अन्तराष्ट्रियस्तरकै बन्छ, ’  मन्त्री विश्वकर्माले भने, ‘यी पूर्वाधारका लागि चालु आवको बजेटमा समेत विनियोजन भइसकेको छ। ’

यसअघि, खेलकुद मन्त्री विश्वकर्माले पोखरा रंगशाला निरीक्षण गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width