ढुवानीमा नयाँ व्यवस्थाले व्यवसायी आन्दोलित

विक्रम खड्का
श्रावण ६, २०७६
VCTS_Fotor

सामाजिक सुरक्षा कोष र सामान ढुवानीमा भीसीटीएस सिष्टमबाट उत्पन्न समस्याका सम्न्धमा नेपाली काँग्रेस रुपन्देहीले आइतवार स्थानीय व्यवसायीसँग छलफल गरेको छ। आन्दोलनरत रुपन्देही जिल्लामा क्रियाशील व्यावसायिक संघसंस्थाका अध्यक्ष पदाधिकारी तथा सरोकारवालालाई बोलाएर सामाजिक सुरक्षा कोष र सामान ढुवानीमा सो सिष्टम सम्बन्धमा छलफल गरेको काँग्रेसले बताएको छ।

कार्यक्रममा सहभागी व्यावसायिक संघसंस्थाका अध्यक्ष तथा व्यवसायीहरुले सामाजिक सुरक्षा कोष र भीसीटीएस प्रणालीमा जाँदा बन्न लागेको औद्योगिक वातावरण समेत बिग्रन लागेका गुनासो गरेका छन्।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष प्रतावबहादुर कार्की, व्यवसायी चन्दमान श्रेष्ठ, सुरज पंगेनी मञ्जु भुसाल, श्याम थापा लगायतले सामाजिक सुरक्षा कोष र सामान ढुवानीमा सो सिष्टमले व्यवसायीलााई पार्ने असरका सम्बन्धमा जानकारी गराए।

उनीहरुले प्रविधियुक्त बनाएपछि मात्र भीसीटीएस प्रणाली लागू गर्न आग्रह गर्दै राज्य संचालनका लागि निजी क्षेत्रले दिएको योगदान आधारमा प्रोत्साहन गर्नुको सट्टा उद्योगी व्यवसायीलाई आतंकित बनाएर मुलुक चल्न नसक्ने चेतावनी दिए।

सामाजिक सुरक्षा योजना साना, घरेलु तथा मझौला उद्योगले लागू गर्न नसक्ने भएकाले यसलाई स्वेच्छिक बनाउन माग गर्दै कर तिरेको आधारमा उद्योगी व्यवसायीलाई पनि पेन्सनको व्यवस्था गर्न पनि उनीहरुको माग छ।

सो अवसरमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले बिनातयारी भेहिकल एन्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम भीसीटीएस र सामाजिक सुरक्षा योजना ल्याएकाले कार्यान्वयनमा जटिलता आएको बताए।

उद्योगी व्यवसायीसँग व्यापक छलफल नगरी बिनायोजना उद्योगी व्यवसायीलाई नै आतंकित पार्ने गरी ल्याएकाले कार्यान्वयनमा जटिलता देखिएको उनको भनाइ छ। गृहकार्यबिना ल्याइने नीति र योजना कार्यान्वयन हुन नसक्ने धारणा खाँणको छ।

सो अवसरमा पूर्व मन्त्री तथा नेपाली काँग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले अव्यवहारिक नीति ल्याउने सरकारको रवैयाविरुद्ध काँग्रेसले साथ दिने बताए। जिल्ला सचिव रामकृष्ण खाँणले सरकारले ल्याउने गलत निर्णयविरुद्ध काँग्रेसले आवाज उठाउने बताए।

मुख्यमन्त्रीलाई ज्ञापनपत्र

भीसीटीएस प्रणाली अव्यवहारिक भएको भन्दै रुपन्देहीका उद्योगी व्यवसायीले आइतवार मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका छन। रुपन्देहीका व्यावसायिक संस्थाको समूह सञ्जाल रुपन्देहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश उपाध्यक्ष दीपक पौडेलले मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्। व्यवसायीको ११ बुँदे ज्ञापन बुझ्दै मुख्यमन्त्री पोखरेलले सामाजिक सुरक्षा कोष उद्योगीको स्थायित्व र सुरक्षाका लागि तथा भीसीटीएस सिष्टम ढुवानी व्यवस्थित गर्न ल्याइएको भए पनि स्वयं व्यवसायी नै बिरोधमा उत्रनु सान्दर्भिक नभएको बताए।

Related News

सम्बन्धित समाचार

hero news full width