शङ्ख फुँक्दा पनि जोगिएन बारीको मकै

रासस
असार २२, २०७६
mankey

पोखरा, २२ असार । सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका वडा नं ३३ को आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथानलगायत क्षेत्रका मकै बारीमा शङ्ख बज्न थालेको दुई महिना भइसकेको छ । बिहान उज्यालो भएदेखि बेलुका झमक्क साँझ नपरेसम्म बज्ने गरेको शङ्ख कुनै पूजाआजा वा अनुष्ठान भएर फुकिएको भने होइन । दुई महिनादेखि मकैमा धानचमरा आउँदादेखि नै बाँदरले नछाडे पनि तै धपाउन सकिन्छ कि भन्दै शङ्ख फुक्ने गरिएको हो ।

“खै अघिल्ला वर्षमा त शङ्ख फुकेपछि बाँदर तर्सिएर भाग्थे,” स्थानीयवासी कृषक बन्धुराज पौडेलले भने, “अहिले त शङ्ख फुके पनि बाँदरले छोड्दै छोडेनन् हामी त आजित भइसकेका छौँ ।” कसैगरी मकै जोगाउन नसकेपछि स्थानीयवासीले बाँदरबाट जोगिएका हरिया मकै नै भाँच्न थालेको उनले बताए ।

“अघिल्ला वर्ष एक ट्र्याक्टरभन्दा बढी मकै आँगेटारीबाटै घरमा भित्र्याउँथ्यौँ,” दुःखेसो सुनाउँदै उनले भने “खै अहिले त भन्न पनि लाज लाग्छ, हरियै भाँचेर एक डोकी लगियो ।” आँगेटारीमा त भाँचेर राखेका हरिया मकैसमेत बाँदरले घरबाटै खाइदिएपछि कृषक थप पीडामा छन्।

स्थानीयवासीका अनुसार आँगेटारी, नाङ्गे चौर र आसपासका क्षेत्रमा दुई महिनायता भित्रिएका झण्डै छ सय बाँदरको फौज यतिखेर अड्डा जमाएर बसेको छ । अघिअघि एक दुई जनाले धपाएर पनि बाँदर भाग्ने गरेको अनुभव सुनाउने स्थानीय चण्डी माध्यमिक विद्यालयका शिक्षक कमलप्रसाद पौडेल अहिले भने भाग्नुको साटो एक दुई जनालाई त उल्टै कोपर्न आउने गरेको बताए ।

केही वर्षयता बाँदरका कारण यस क्षेत्रका कृषक ठूलो समस्यामा परे पनि सरकारी निकायबाट कुनै किसिमको सहयोग पाउन नसकिएको र सम्बन्धित निकायमा खबर गरे पनि त्यसको पूर्ण बेवास्ता गरिएको उनले बताए ।

बाँदरले मकै खेतीमा ठूलो क्षति पुर्याएको जनाउँदै कृषकहरू सम्बन्धित निकायमा क्षतिपूर्तिको माग गर्ने तयारीमा लागेका छन् । बाँदरले खाद्यान्न, तरकारी बाली र फलफूल खेती नष्ट गरिदिए पनि सरकार एवंम सम्बन्धित निकाय मौन बनेको भन्दै कास्कीका किसानले २०७३ मा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । बाँदर आतङ्कका कारण खेती बाँझै छाडेर गाउँ छाड्नुपर्ने अवस्था आएको जनाउँदै राष्ट्रिय कृषक समूह महासङ्घ कास्कीका तर्फबाट रिट निवेदन दिइएको अगुवा कृषक खेमराज बरालले जानकारी दिए । किसानकै पक्षमा सर्र्वोच्चले रिटको सुनुवाइ गरिसकेको भए पनि त्यसको कार्यान्वयन हुन नसकेको उनले बताए ।

“बाँदरका कारण किसान धेरै मर्कामा छन् । सरकारले मर्का सुनेको छैन”, कृषि सञ्जाल वडा नं २२ का अध्यक्षसमेत रहेका बरालले थपे । बाँदरका कारण कृषक सधैँ समस्यामा पर्ने र कुनै किसिमको राहत तथा सहयोग नपाउने अवस्थाको तत्काल अन्त्यका लागि सर्वोच्चको आदेशको कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ ।
– वासुदेव पौडेल

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width