रघुगंगाको बजेट पारित

आदर्श समाज सम्वाददाता
असार २१, २०७६
IMG_1002

म्याग्दी ,२१ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको गाउँसभाले ३१ करोड ४१ लाख ३१ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । आर्थिक बर्ष २०७६ /७७ का लागि गाउँपालिका उपाध्यक्ष कमला तिलिजाले असार ५ गते सुरु भएको गाउँसभामा प्रस्तुत गरेको पूजिगततर्फ ११ करोड ५८ लाख ३१ हजार र चालुतर्फ १९ करोड ८३ लाख गरी कुल ३१ करोड ४१ लाख ३१ हजारको बजेट शुक्रबार बसेको गाउँसभाले पारित गरेको हो ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रबार बसेको गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष भव बहादुर भण्डारीले हरेक वडा,बस्ती र जनताको घरदैलोमा पुग्ने खालका योजनालाई बजेटमा समावेश गरिएको बताए ।

अध्यक्ष भण्डारीले खानेपानी, कृषि, पर्यटन, जलविद्युत, रोजगार तथा विकासका योजनालाई प्राथमिकता दिएको बताए । विगतमा टुक्रे योजनाले जनताको आवश्यकतालाई समाधान नगरेको भन्दै एक वडा १ गौरवको योजना, ५ लाखभन्दा माथिका योजनाहरूलाई प्राथमिकता,एक घर एक धारा र एक घर एक महिला रोजगार कार्यक्रम लगायत विभिन्न प्रभावकारी कार्यक्रमलाई प्राथमिकता दिएको उनको भनाई छ ।

अध्यक्ष भण्डारीले विनियोजन भएको बजेटको सदुपयोग ,प्रभावकारी कार्यान्वयन ,पारदर्शिता र उपलब्धीमुलक बनाएर जनताले सुविधा पाउने तथा विकासको अनुभव गर्ने वातावरण बनाउनका लागि कार्यान्वयनमा सबैको सक्रिय साथ र सहयोगको अपेक्षा व्यक्त गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने ,सुशासनमा जोड दिने तथा विगतको तुलनामा प्रशासकि खर्चलाई कम गर्ने बताए । खर्च नहुने प्रशासनिक प्रकृतिका शीर्षकमा विनियोजन हुने खर्चलाई व्यापक कटौती गरिएको जानकारी दिए । गत आर्थिक बर्ष २०७५/७६ मा हुने गरेको प्रशासनिक खर्चलाई कम गर्न आर्थिक बर्ष २०७६/७७ को प्रशासनिक खर्चमा ९० लाख रुपैयाँ भन्दा बढी खर्च कटौती गरिएको उनको भनाई छ ।

विभिन्न खालका कर र गैरकर पहिचान गरी करको दायरा बढाउने र करको दरलाई घटाउने उनको भनाई छ । कार्यक्रममा वडा अध्यक्ष तथा कार्यपालिका सदस्यले आफ्नो धारणा राखेका थिए । गाउँसभाको अध्यक्षता अध्यक्ष भण्डारी र सञ्चालन प्रमुख प्रशासकीय अधिकृत थापाले गरेका थिए । गाउँसभाले कार्यमूल्याङकनको आधारमा गाउँपालिकामा कार्यरत चार जना कर्मचारीहरुलाई सम्मान गरेको छ भने एकता होमस्टेका सञ्चालक मौवाफाँट निवासी मुकुन्द सुवेदीलाई नागरिक सम्मान गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width