दुई दाजुबहिनीको पाँच वर्षदेखि गोठमा बास

रासस
असार १२, २०७६
goath n thar with vakaro_2066 (3)

म्याग्दी, १२ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी चाउनेकी ७० वर्षीया घमिष्टा भण्डारी र उनका दाजु चन्द्रबहादुर भण्डारीको बषौदेखि गोठमा सुत्ने गरेका छन् ।

भण्डारी दाजुबहिनीको त घरसमेत नहुँदा अर्काको गोठमा दाउराको सिरानी र परालको सिरक ओडेर बाँच्नुपर्ने बाध्यता छ । भण्डारी दाजुबहिनी विगत पाँच वर्षदेखि पशुचौपायालाई बनाइएको गोठमा बस्दै आएका छन् ।

भत्किने अवस्थामा रहेको गोठभित्र रहेको पराललाई ओड्ने सिरक, वनजङ्गलबाट ल्याएको दाउरालाई सिरानी बनाएर उनीहरु सुत्ने गर्छन । गोठभित्र कुनामा रहेको अँगेना मुस्किलले दुई÷चार दिनमा एकपटक बल्छ । पुराना भाँडाकुँडा चुहिने अवस्थामा छन् भने एकछाक पकाउने चामलसमेत छैन । छिमेकीले पकाएर दिएको भातकै भरमा रात कटाउने गरेका दाजुबहिनीले पेटभरि भात खान पाउनुलाई नै अहोभाग्य ठान्छन् ।

गाउँकै विपन्न भण्डारी दाजुबहिनीलाई स्थानीय धनवती गिरीले पशुचौपाया राख्ने गोठमा आश्रय दिएका छन् । गर्मी मौसममा नजिकै पशुचौपाया भएकाले पनि लामखुट्टेबाट जोगिन आगो बाल्ने गर्छन भण्डारी दाजुबहिनी । “खानेकुरा केही छैन्, बस्ने बास छैन, दाई बिरामी छन्”, गोठमा प्रवेश गर्नेबित्तिकै घमिष्टाले भनिन् । उनले एक सातादेखि वनजङ्गलबाट ल्याएको तरकारी र गाउँबाट मागेर ल्याएको भात खाएको बताउँदै बिरामी दाइलाई उपचार गर्ने पैसासमेत नभएको बताए ।

गोठभित्र सुत्ने र खाना पकाउनेभन्दा पनि पराल, पुराना कपडा र दाउरामै रात बिताउने गरेको र बिहानै गाउँलेको काममा निस्किएर बेलुकी केही खानेकुरा ल्याउने गरेको स्थानीयवासी धनवती गिरीले जानकारी दिए । “अलपत्र अवस्थामा मैले बस्ने ठाउँ दिएको छु, मेरो पनि आर्थिक अवस्था कमजोर नै भएकाले उनीहरूलाई आवश्यक केही सहयोग गर्न सकेको छैन”, उनले भने ।

विसं २०७२ वैशाखमा गएको भूकम्पमा चर्किएको गोठमा बस्न बाध्य भण्डारी दम्पत्तीलाई बाह्रै महीना समस्या हुनेगरेको स्थानीयवासीको भनाइ छ । “न्यानो लुगा र बाक्लो सिरक ओढ्ने सपनाजस्तै छ, छेउमै पशुचौपायाको गोठ भएकाले गर्मी महीनामा पनि रात काट्न मुस्किल हुन्छ”, घमिष्टाको भनाइ उद्धित गर्दै एक स्थानीयवासीले भने ।

घमिष्टाका दाजु नशा र शरीर दुख्ने समस्याका कारण हिँडडुल गर्न सक्दैनन। भोक लागेर चिच्याउन थालेपछि स्थानीयवासीले समेत केही खानेकुरा दिने गरेका छन । पशुसरह जीवन जिउन बाध्य भण्डारी दाजुबहिनीलाई सानो बस्ने घर र सम्मानयुक्त जीवन स्थापित गर्न स्थानीयवासीले सहयोगको याचना गरेका छन् । खान, बस्न र बाँच्न पाउने अधिकारबाट समेत वञ्चित भएका भण्डारीलाई तत्काल गोठबाट सुरक्षित घरमा सार्न खाद्यान्न र लत्ताकपडाको आवश्यकता देखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग