पोखराको बजेट ७ अर्ब

आदर्श समाज सम्वाददाता
असार ११, २०७६
Pokhara-Lekhnath-Mahanagar

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ५४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। महानगरले चालुतर्फ २ अर्ब १५ करोड ५४ लाख र पुँजीगततर्फ ४ अर्ब ७० करोड ९९ लाख तथा सांसद विकास कोषमार्फत १४ करोड र विभिन्न कोषहरुमा ४० करोड रुपैयाँ विनियोजन गरेको छ।

संघ सरकारबाट ३ अर्ब ३३ करोड ७८ लाख, गण्डकी प्रदेश सरकारको ४७ करोड ९६ लाख रुपैयाँ अनुदान पाएको छ भने २ अर्ब ५० करोड रुपैयाँ आन्तरिक आम्दानी गर्ने अनुमान छ। यसबाहेक ३६ करोड रुपैयाँ जनसहभागिताबाट उठाउने र चालु वर्षको २२ करोड रुपैयाँ अख्तियारी सारेर लैजाने महानगरले जनाएको छ। अपुग १० करोड रुपैयाँ वैदेशिक अनुदान र ऋण लिने महानगरले जनाएको छ।

अघिल्लो वर्षदेखि थालिएको कनेक्टिङ रोडका लागि मात्रै ७२ करोड रुपैयाँ विनियोजन

महानगरले अण्डरग्राउण्ड पार्किङसहित नक्सापास गर्दा दस्तुरमा १ तलाको राजश्व छुट गरेको छ भने भूकम्पपीडित लाभग्राहीमा परेका परिवारलाई १ हजार स्क्वायर फिटसम्मको घरलाई निःशुल्क नक्सापासको व्यवस्था मिलाएको छ। महानगरका पुरातात्विक महत्वका पुराना घर पुरानै शैलीमा बनाए ५० प्रतिशत राजश्व छुट र ग्रामीण पर्यटकीय क्षेत्रमा बन्ने भवनका लागि नक्सापास दस्तुरमा ५० प्रतिशत छुट, अपाङ्गता भएका, पिछडा वर्ग तथा महिलाले व्यवसाय दर्ता गर्दा ३० प्रतिशत छुट, कृषिसम्बन्धी व्यवसायको लागि ३० प्रतिशत छुटको व्यवस्था गरेको मेयर मानबहादुर जिसीले जानकारी दिए।

आगामी वर्षको सबैभन्दा ठूलो रकम कनेक्टिङ सडकमा लगानी गरिएको छ। ७२ करोड ४० लाख रुपैयाँ नयाँ वडाको केन्द्रसम्म पुग्ने सडक स्तरोन्नतिमा विनियोजन गरिएको हो। यी सडकको टेण्डर निस्किएर सबैको ठेक्कासमेत सम्झौता भैसकेको छ। यस्तै, भोटीखोला, घोरकुना, फिकेर्खोलासहित अन्य ४ ठाउँमा मोटरेवल पुल बनाउन २३ करोड २८ लाख छुट्याइएको छ। वडा २, ११, १२, ३०, ३२, १९ र २२ सहित थप ९ वटा भवन बनाउन २४ करोड ९७ लाख र महानगरको आफ्नै भवन बनाउन ६ करोड रुपैयाँ बजेट छ।

पोखरामा अन्तराष्ट्रियस्तरको सभाहल बनाउन ३ करोड, अस्फालट कंक्रिट रोडका लागि ८ करोड, पोखरा १७ को आरटिओ सडकका लागि ९ करोड, पोखराको डिजिटल गुरुयोजना र भूउपयोग नीति बनाउन ८ करोड रुपैयाँ विनियोजन गरिएको छ। एक वडा एक विशेष कार्यक्रम सञ्चालन गर्न ४५ करोड, ३३ वटै वडाका वडास्तरीय विकासमा ३६ करोड ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ। महानगरले विकट वडाहरुमा कार्यरत कर्मचारीहरुलाई थप भत्ताको व्यवस्था गरेको छ। वडा १६, १८, १९, २०, २१, २२, २३, २४, २८, ३२ र ३३ मा काम गर्ने कर्मचारीको प्रोत्साहनका लागि प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँका दरले भत्ता उपलब्ध गराउने बजेटमा उल्लेख छ। फेवाताल संरक्षणका लागि सिल्ट्रेसन ड्याम बनाउन ३३ करोड ७९ लाख रुपैयाँ छ भने प्रत्येक वडामा फलफूल बगैँचा बनाउन १ करोड २० लाख, राष्ट्रिय विभूतिपार्क बनाउन १ करोड, सार्वजनिक शौचालय निर्माणका लागि २ करोड ५० लाख, नदीले पारेको असर न्यूनिकरण गर्न ३ करोड, कास्कीकोट, सराङकोट, भदौरे, पुम्दीभुम्दी र दीपाङ तालमा पैदलमार्ग बनाउन २ करोड, आधुनिक शव दाहस्थल बनाउन १ करोड रुपैयाँ विनियोजन भएको छ।

गोस्तेघाट, भण्डारढिकको खेलमैदानसहित पोखरा वडा २० मा हाईअल्टिच्युड खेलमैदान बनाउन ३ करोड रुपैयाँ छुट्याइएको छ भने प्रत्येक वडामा खेल मैदानका लागि १ करोड, एक घर एक धारा अभियानका लागि १० करोड रुपैयाँ बजेट छ।

नगरसभामा मंगलवार उपप्रमुख तथा राजश्व परिचालन समिति संयोजक मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गरेकी हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट कार्यान्वयनमा जोड दिन आग्रह गरे।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width