मालिकाको नीति तथा कार्यक्रममा विकास र समृद्धिलार्ई जोड

आदर्श समाज सम्वाददाता
असार ९, २०७६
DSC_0472

म्याग्दी,९ असार । जिल्लाको पश्चिम मालिका गाउँपालिकाले विकास र समृद्धिलाई जोड दिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ को लागि आइतबार गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रममा विकास र समृद्धिलाई जोड दिएको उल्लेख गरिएको छ । गाउँपालिका केन्द्र दरवाङमा आयोजित गाउँपालिकाको तेस्रो गाउँसभामा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले समृद्ध गाउँपालिकाको खाका सहितको नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

गाउँपालिका अध्यक्ष रोका मगरले गाउँसभाको उद्घाटन गर्दै विगत दुइवर्षको अनुभव र सिकाईका अधारमा गाउँपालिकाको विकास र समृद्धिका लागि नीति तथा कार्यक्रम ल्याएको बताए । उपलब्ध साधन र स्रोतको समूचित व्यवस्थापन तथा प्रयोगद्वारा गाउँबासीको चाहना बमोजिम समृद्धि र विकासका लागि अधिकतम प्रगती हासिल गर्ने कुरामा अध्यक्ष रोका मगरले विश्वास व्यक्त गरे ।

बहुजातीय,बहुधार्मिक,बहुसांस्कृति तथा भौगोलिक विविधतायुक्त गाउँपालिकालाई समृद्धिको बाटोतर्फ डो¥याउन प्राकृतिक,धार्मिक,सांस्कृतिक,पुरातात्विक महत्वको स्थान तथा वस्तुको संरक्षण गर्दैै समृद्धिको खोजी गर्ने उनले बताए ।

गाउँसभामा पेश भएको आगामी बर्षको नीति तथा कार्यक्रममा गाउँपालिका सडकहरुलाई स्तरउन्नति गरी बाह्ै महिना यातायात सञ्चालन गरिने उल्लेख गरिएको छ । एक वडा एक सडक गाउँ स्तरीय योजनाको रुपमा निर्माण गरिने नीति मालिकाले ल्याएको छ ।

आगमी पाँचवर्ष भित्र १० किमि सडकलाई पक्की बनाउने गुरुयोजना अनुसार आगमी आर्थिक वर्षभित्रमा एक किमि सडकलाई कालोपत्रे गर्ने कार्यलाई प्राथमिकतामा राख्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । गाउँपालिका केन्द्र देखि वडासम्म जोड्ने सडकलाई प्राथमिकतामा राखी सडक स्तरउन्नतिको कार्यलाई तीव्रता दिने जनाइएको छ ।
सडकलाई व्यवस्थित बनाउनका लागि मर्मत सम्भार कोषको स्थापनाका लागि “मेरो सडक मेरो पनि लगानी,गाडी नचल्दा हामीलाई नै हुन्छ हैरानी” कार्यक्रम अन्तर्गत ३ प्रतिशत रकम जुटाई मर्मत सम्भार कोष खडा गरिने नीतिमा उल्लेख गरिएको छ ।

गाउँपालिकाको केन्द्र दरवाङ बजारलाई व्यवस्थित बनाउन पार्किङको व्यवस्था गरिने,दरवाङ देखि बेनी सम्म बाह्मै हिना यातायात सञ्चालनका लागि गाउँपालिकाले सडक स्तरउन्नतिलाई प्राथमिकतामा राखेको छ ।

नयाँ प्रविधिमा आधारित र समुदायको सहभागितामा लिफ्ट प्रविधिबाट सिँचाईको लागि संघीय,प्रदेश तथा विभिन्न संघसंस्थाहरु सँग समन्वय गर्ने उल्लेख गरिएको छ ।
यसै गरी गाउँपालिका भित्र वीना स्विकृति मापदण्ड विपरित प्लटिङ गरी बेच्ने कार्यलाई निरुत्साहित गरिने, सवैको रहर स्वच्छ,सुन्दर समृद्ध दरवाङ शहर सुरक्षीत गाउँ बनाउन र सम्भावित भुकम्पीय जोखिमबाट हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्न तथा घर नक्सा पास कार्यलाई व्यवस्थित गर्ने नीतिमा समावेश गरिएको छ ।

“घर घरमा उज्यालो हाम्रो शान,उज्यालो मालिका गाउँपालिका निर्माण हाम्रो अभियान” कार्यक्रम सञ्चालन गरि तिन वर्ष भित्र उज्यालो गाउँपालिका घोषणा गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाको सिमानामा रको दाङखोला र गाउँपालिका भित्रका रितुङखोला,खोप्ती खोला,दुखुखोला,शिवरात्रीखोलामा संभावित लघुजलविद्युत उत्पादनका लागि संभाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

खोजमुलक र अनुसन्धानमुलक पत्रकारितालाई प्रवर्धन गर्ने,छिमेकी गाउँपालिकाको समन्यमा सामुदायिक एफएम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
शैक्षिक क्षेत्रको समग्र विकासका लागि विद्यार्थीहरुलाई सहज ढङगले कक्षामा उपस्थित भै पठनपाठनमा सहयोग गरी शैक्षिक क्षेत्रलाई व्यवस्थित बनाउन अध्यक्ष सँग शैक्षिक विकास कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

शैक्षिक क्षेत्रमा सुशासन कायम गर्न सवै सामुदायिक विद्यालयहरुमा इन्टरनेट जडान गरी इलर्नीङ शिक्षा,प्रोजेक्टर शिक्षालाई प्राथमिकतामा राखिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसै गरी बालमैत्री गाउँपालिका घोषणा कार्यक्रम,गाउँपालिका पुरस्कार कोषको स्थापना,हाम्रो गाउँ साक्षर गाउँ,हाम्रो भविष्य निर्माण,सवैका लागि व्यवहारिक तथा वैज्ञानिक शिक्षा कार्यक्रमलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।

उपाध्यक्ष सँग स्वास्थ्य सरसफाई कार्यक्रम सञ्चालन गरिने मालिकाले नीति लिएको छ । आगमी तीन वर्ष भित्र गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त गाउँपालिका घोषणा गर्ने नीति लिएको छ । खेलकुद विकासमा समय दान,प्रत्येक वडामा खेलमैदान निर्माण,अध्यक्ष कप खेलकुद प्रतियोगिता,उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने नीति लिएको छ ।

विपन्न परिवार आवास कार्यक्रम सञ्चालन गर्ने,ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण गर्ने नीतिमा उल्लेख छ । एक गाउँ एक उत्पादन मार्फत आर्थिक उपार्जन तथा रोजगारी सृजना हुने कार्यक्रमलाई प्राथमिकतामा राखिने नीति लिएको छ । कृषिलाई प्रोत्साहन गरिने, कृषि क्षेत्रलाई उत्पादनमुखी, दिगो, फराकिलो र स्वरोजगारीमुखी बनाउन समूहमा खेति गर्ने, सहकारी मार्फत खेती गर्ने वा संस्थागत रुपमा खेती गर्ने कृषि व्यवसायी समूह र पशुपालक समूहलाई यन्त्र उपकरणहरुमा अनुदानको व्यवस्था गरिने उल्लेख छ ।

गाउँ क्षेत्रभित्रका गाउँगाउँमा आर्थिक विकासका लागि उत्पादनमुलक लद्युउद्यम कार्यक्रम तथा एक घर एक उत्पादन विधि सञ्चालन,युवाहरुलाई उद्यमशिल बनाउनका लागि गाउँपालिकाले सघन रुपमा कार्यक्रम सञ्चालन गर्नका लागि उपाध्यक्ष उद्यमशिलता कार्यक्रम सञ्चालन गर्ने नीतिमा उल्लेख छ ।

सहकारीको नियमन गर्ने तथा कार्यसम्पादन तथा मुल्याङकनमा उत्कृष्ट एक सहकारीलाई प्रत्येक वर्ष गाउँपालिका अध्यक्ष सहकारी पुरस्कारले पुरस्कृत गर्ने उल्लेख गरिएको छ ।
गाउँपालिका भित्र रहेको मालिका मन्दीरलाई पूर्वाधारको निर्माण,पदमार्ग,प्रत्येक वडामा मनोरञ्जानात्मक पाक,बाल उद्यान निर्माण गरी पर्यटन व्यवसायलाई विस्तार गर्ने जनाएको छ । धौलागिरी प्रवेश द्धारका रुपमा रहेको गाउँपालिकालाई पर्यटन पूर्वाधार विकासका लागि डिपिआर तयार गर्ने उल्लेख छ । पर्यटनको पूर्वाधार विकास समृद्धिको आधार को नारालाई सार्थक बनाउन गाउँ पर्यटन विकास र संस्कृति प्रवर्धनका लागि भ्यु टावर निर्माण,बहुजातिय संग्रालय भवन निर्माणलाई निरन्तरता दिइने नीति तथा कार्यक्रम समावेश गरिएको छ ।

यसै गरी विपद व्यवस्थापन,सुशासन तथा संस्थागत विकास,संस्थागत विकास,राजश्व परिचालन,वित्तीय व्यवस्थापन,वित्तीय जोखिम न्यूनिकरण,सार्वजनिक सुनुवाई,सामाजिक परिक्षण,आन्तरिक र अन्तिम लेखा परीक्षण जस्ता कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

गाउँसभामा अध्यक्ष रोका मगरद्धार प्रस्तुत गरिएको नीति तथा कार्यक्रम माथि गाउँसभाका सदस्यहरुले दिएको सुझावहरुलाई समावेश गरी आइतबार नै गाउँसभाबाट पारित गरिएको उपाध्यक्ष खरमाया विटालुले बताइन् । नीति तथा कार्यक्रम पारित भएसँग आगमी असार १० गते वस्ने अर्को गाउँसभामा बजेट ल्याउने बाटो खुलेको उनले बताइन् । गाउँसभा प्रमुख प्रशासकीय अधिकृत बुिद्धराम उपाध्यायले सञ्चालन गरेका थिए ।

गाउँसभामा वडा नम्बर ४ का वडाअध्यक्ष दिलिपकुमार शेरचन,७ का वडाअध्यक्ष रेशम जुग्जाली,१ निस्कोटका टंकप्रसाद पुन,२ का नरबहादुर पुन,६ दरवाङका सन्तनाथ सुवेदीले नीति तथा कार्यक्रममा छुटेका विषयलाई समावेश गर्न सुझाव दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width