छ महिनामा ४६ आपराधिक घटना

रासस
असार ८, २०७६
Nepal Police

बागलुङ, ८ असार । पछिल्लो छ महीनामा जिल्लामा आपराधिक र मानवअधिकार उल्लङ्घनका ४६ घटना भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले ‘मानव अधिकार वर्ष पुस्तक– २०२०’ का लागि शनिबार गरेको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा उक्त तथ्य सार्वजनिक भएको हो ।

सबैभन्दा बढी घरेलु हिंसाका २१ घटना छन । जसमध्ये ११ घटना मिलापत्रमा टुङ्गिएका छन् । तीन घटना अदालत पुगेको र बाँकी प्रक्रियामा छन । इन्सेकद्वारा सार्वजनिक विवरणमा जबर्जस्ती करणीका सात र करणी उद्योगका नौ घटना भएका छन ।

राजनीतिक अधिकारसम्बन्धी एक, धम्की तथा कुटपिटसम्बन्धी एक, सामाजिक अधिकारसम्बन्धी एक, बालअधिकारको एक, जातीय विभेदको एक, बहुविवाहसम्बन्धी तीन र महिला अधिकारसम्बन्धी एउटा घटना भएका छन ।

“मानवअधिकार वर्ष पुस्तकका लागि पछिल्लो छ महीनाभित्रका ४६ घटना प्रलेख गरिएको छ”, इन्सेक प्रतिनिधि सिर्जना पन्तले भने । स्थलगत अध्ययनसँगै प्रहरी र अदालतको स्रोतबाट इन्सेकले घटना विवरण सङ्कलन गर्ने गरेको छ । देशको मानवअधिकारको अवस्था झल्कने गरी इन्सेकले वर्षेनी मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ । हिंसा र अपराधसँग जोडिएका घटनालाई पनि पछिल्लो समय मानवअधिकारसँग जोडेर हेर्ने गरिएको छ ।

समीक्षा कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले घटनाका दोषीलाई संरक्षण गर्न नहुनेमा जोड दिए। “मानवअधिकारको रक्षाका लागि सम्बद्ध सबै पक्ष जिम्वेवार हुनुपर्छ”, उनले भने “मुख्य दायित्व राज्यको रहन्छ ।”

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै