युकेश र सुस्मी वर्ष खेलाडी

श्रेया केसी पपुलर प्लेयर अफ दि इअर

नारायण शाही
जेठ २४, २०७६
TVS Sports Awards

पोखरा । प्याराग्लाइडिङका युकेश गुरुङ र फूल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठ टीभीएस वर्ष खेलाडी बनेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आयोजना गर्दै आएको चौथो संस्करणको टीभीएस अपाचे स्पोर्टस् अवार्डमा उनीहरु गण्डकी प्रदेशकै वर्ष खेलाडी बन्न सफल भएका हुन् ।

वर्ष खेलाडीमा पुरुषतर्फ युकेशले टीभीएस अपाचे मोटरसाइकल र महिलातर्फ सुस्मी श्रेष्ठले टीभीएस वीगो स्कूटरको साथमा ट्रफी र प्रमाणपत्र हात पारे ।
शुक्रबार पोखरा सभागृहमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका कार्यलयका कार्यकारी अधिकृत शेषनारायण पौडेलले युकेशलाई वर्ष खेलाडी घोषणा गरेका हुन् ।

पोखरा महानगरपालिकाकी उपप्रमूख मञ्जुदेवी गुरुङले सुस्मी श्रेष्ठलाई महिलातर्फको वर्ष खेलाडी घोषणा गरिन् ।

वर्ष खेलाडी पुरुषतर्फको मनोेनयनमा युकेशलगायत अन्य अमृत थापा (स्क्वास) र रुपक नेपाली (फूल कन्ट्याक्ट कराँते) थिए । त्यस्तै, महिलातर्फको मनोनयनमा सुस्मीलगायत अन्य प्रीती बराल (सफ्ट टेनिस) र श्रेया केसी (सुटिङ) थिए ।

सुटिङकी श्रेया केसी पपुलर अफ दि इअरको अवार्र्डबाट सम्मानीत भएकी छन् । श्रेयाले नगद २५ हजार र ट्रफी हात पारिन् । अवार्डका लागि खेलाडी छनोट समितिका संयोजक रामकृष्ण ज्ञवालीले श्रेयालाई पपुलर आफ दि इअर–२०७५ घोषणा गरेका हुन् ।

मञ्चका संस्थापक अध्यक्षसमेत रहेका ज्ञवालीले नेपाल टेलिकमले दिएको सूचना अनुसार श्रेयालाई पपुलर प्लेयर अफ दि इअरको घोषणा गरेका हुन् ।
वर्ष पपुलर प्लेयर अफ अवार्ड यस वर्षदेखि थप गरिएको विधा हो । वर्ष खेलाडी पुरुष, महिला र उदियमान विधाबाट मनोनयनमा परेका ९ मध्ये एकलाई एसएमएस आधारमा पपुलर प्लेयर अफ दि इअर घोषणा गर्ने विधा थपिएको थियो ।

मञ्चले यसपालि लाइफटाइम अचिभ मेन्ट अवार्ड चित्रबहादुर गुरुङ (बक्सिङ) लाई प्रदान गर्ने भएको छ । स्याङ्जा मनकामनामा २०१८ सालमा जन्मिएका गुरुङ हाल वन विज्ञान अध्ययन संस्थानमा खेल शिक्षकको रुपमा कार्यरत छन् । उनले तेस्रो दक्षिण एशियाली खेलकुद कोलकत्ता–१९८७ रजत, चौथो दक्षिण एशियाली खेलकुद–१९८९ स्वर्ण र ११ औं एशियाली खेलकुद बेइजिङ–१९९० कास्य पदक हात पारेका छन् ।

यसअघि, लाइफ टाइम अचिभमेन्ट अवार्डबाट कृष्ण थापा (२०७२), खड्गबहादुर रानाभाट (२०७३) र प्राडा वीरेन्द्रसिंह गुरुङ (२०७४) सम्मानित भैसकेका छन् ।

उत्कृष्ट वर्ष प्रशिक्षकमा दीपक गोदार (फूल कन्ट्याक्ट) घोषित भए । गण्डकी प्रदेश सांसद दिपक कोइरालाले गोदारलाई उत्कृष्ट वर्ष प्रशिक्षकको घोषणा गरेका हुन् । गोदारले नगद २५ हजारसहित उत्कृष्ट प्रशिक्षकको ट्रफी र प्रमाणपत्र हात पारे ।

गोदारले कार्यक्रममा बोल्दै अवार्डबाट प्राप्त २५ हजारमा थप २५ हजार गरी नेपाल राष्ट्रिय खेलाडी संघलाई ५० हजार प्रदान गर्ने घोषणा गरे ।

क्रिकेटका अर्जुन कुमाल वर्ष उदीयमान खेलाडी बनेका छन् । कास्की जिल्ला समन्वय समितिका प्रमूख बैनबहादुर क्षत्रीले अर्जुनलाई वर्ष उदीयमान खेलाडी घोषणा गरे । अर्जुनले २५ हजार नगद र ट्रफी हात पारे । उक्त विधामा अनुष्का शेरचन ( आर्चरी ) र सुस्मिता थापामगर (आइटीएफ तेक्वान्दो) मनोनयनमा परेका थिए ।

कास्की जिल्ला बास्केटबल उत्कृष्ट खेल संघको रुपमा पुरस्कृत भयो । उसले नगद १५ हजार, ट्रफी र प्रमाणपत्र पायो । पत्रकार विनोद लामिछाने उत्कृष्ट खेल पत्रकारका रुपमा पुरस्कृत भए । विनोदले नगद २० हजार, ट्रफी र प्रमाणपत्र पाए ।

Related News

सम्बन्धित समाचार

hero news full width