सरकारी काम : नाली खन्दै, पुर्दै यत्तिकै सकियो ४ लाख

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७६
62334261_2121848334774476_8843745357939605504_n_Fotor

नाला बनाउन खनिएको खाल्डो पुर्दै। तस्वीरः सुदर्शन रञ्जित

असार नजिकिँदै छ। आर्थिक वर्ष अन्त्यतिर अधिकांश निर्माणका कामको ठेक्का लाग्छ, यो पुरानै रोग हो। एकसाता अघि पोखराको पृथ्वीचोक वरिपरि नाला खनियो। संघीय कार्यान्वयन इकाइले हाल भइरहेको नाला सार्न सरस्वती निर्माण सेवालाई ४२ लाख रुपैयाँमा ठेक्का दियो। कोरिडोर सुधार शीर्षकबाट सडक डिभिजन कार्यालयसँगको समन्वयमा काम गरिएको इकाइ प्रमुख नारायण भण्डारीले बताए। तर नाला खनेर नसकिँदै भोलिपल्टै पुरिएको छ।

‘सडक डिभिजनसँग सल्लाह गरेरै नाली खनिएको हो। अहिले मापदण्ड पुगेन भन्नुभयो। त्यसैले पुरेका हौं,’ उनले भने, ‘अब अर्को ठाउँबाट काम गरौंला।’ नाला खन्न र पुर्नमात्रै ठेकेदारले ४ लाख हाराहारीमा खर्च भैसकेको दाबी गरेका छन्। अहिलेसम्मको खर्च कार्यालयको विविध शीर्षकबाट मिलान गराउने भण्डारीले बताए। ‘काम थाल्ने बेलामा अहिले भइरहेको ठाउँबाट नाला बनाउन भन्नुभयो। खनेर सकेपछि मापदण्ड पुगेन भनेर रोक्नुभयो। डिभिजन कार्यालयकै निदेर्शनपछि त्यत्तिकै पुरिएको हो,’ इञ्जिनियर सूर्य बरालले भने, ‘अनावश्यक ठाउँमा पैसा खर्च भयो।’ यसबारे आदर्श समाज दैनिकले केही समय अघि समाचार प्रकाशन गरेको थियो।

‘डिभिजन सडक कार्यालयका प्रमुख हरिकुमार पोखरेलले मापदण्ड नपुगेपछि काम रोकेको बताए। राजमार्गमा हेर्ने सडकले हो। संघीय कार्यान्वयन इकाइको खातामा पैसा रहेछ। काम गर्छु भन्नुभयो। रोक्ने कुरा भएन,’ उनले भने, ‘तर पैसा छ भन्दैमा जता पायो उतै खनेर त भएन नि। सेन्टरलाइनबाट १५ मिटर न्यूनतम मापदण्ड हुनुपर्छ। अहिले २ मिटर सारेर काम छैन।’ एशियाली विकास बैंक (एडीबी) ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको सडक ४ लेनको बन्दैछ। शहरी क्षेत्रमा ६ लेनको सडकसहित ड्रेन निर्माण गरिनेछ। तर केही सरकारी कार्यालयहरुले आफूखुसी टेण्डर निकालेर सडक विस्तार र स्तरोन्नतिको काम गरिरहेका छन्। मुस्ताङचोकदेखि राष्ट्र बैंकचोकमा पनि सडक डिभिजनसँग समन्वय नै नगरी काम भैरहेको पोखरेलले बताए।

डिभिजन सडक कार्यालयले पनि चाउथेमा ४ लेनभित्रै पर्ने गरी स्वागत गेट निर्माण गर्दैछ। चाउथे र छोरेपाटनमा सूचना बोर्डसहितको स्वागत गेट बनाउन ३० लाख विनियोजन भएको डिभिजन सडक पोखराले जनाएको छ। कार्यालय प्रमुख पोखरेलले चाहीँ एडीबीसँग सल्लाह गरेरै गेट बनाउन लागेको बताए। ‘सूचना बोर्ड सडकमा नभै नहुने कुरा हो। धेरै पहिले बनाइसक्नुपर्थ्यो,’ उनले भने, ‘आवश्यकताको महसुस गरेर नै बजेट छुट्याइएको हो।’ २ वर्षअघि पनि सडक डिभिजनले बुद्धचोक र अमरसिंह चोक क्षेत्रमा ड्रेन (नाला) बनाएको थियो। त्यतिबेला बनाइएको ड्रेन अहिले सडक विस्तार गर्दा भत्काएर सारिएको छ। बजेट सक्ने नाममा अनावश्यक ठाउँमा पनि निर्माणको काम हुने गरेको कर्मचारीहरु स्वयं बताउँछन्।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width