इच्छाकामनामा शीतभण्डार निर्माण गरिने

रासस
जेठ ७, २०७६
39568600184_d935a1a709_b

मुग्लिन, ७ जेठ । चितवनको इच्छाकामनामा शीतभण्डार निर्माण गरिने भएको छ ।

साना किसान सहकारी संस्था लिमिटेड इच्छाकामना–४ कुरिनटारमा शीतभण्डार निर्माण गरिने भएको हो । केन्द्र सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत गाउँपालिकाले साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई छनोट गरिएको हो । तराई–मधेश समृद्धि कार्यक्रमबाट रु ३५ लाख र सहकारीको १० प्रतिशत लगानीमा शीतभण्डार निर्माण गरिने साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष नरबहादुर नेपालले जानकारी दिए ।

उनले गाउँपालिकासँग सम्झौता भई निर्माण कार्यका लागि प्रक्रिया अघि बढेको बताए । नेपालले भने , “गाउँपालिकासँग सम्झौता भई निर्माण कार्यका लागि प्रक्रिया अघि बढिसकेको छ, अबको डेढ महीनाभित्र शीतभण्डार निर्माण सम्पन्न गरिनेछ ।”
स्थानीय किसानले उत्पादन गरेका कृषि उपज फलफूल तथा तरकारी समयमै बिक्री नहुँदा सड्ने तथा बिग्रने भएको हुँदा किसानको मागलाई लक्षित गर्दै शीतभण्डारको स्थापना गरिएको उनको भनाइ छ ।

गाउँपालिकामै पहिलोपटक शीतभण्डार निर्माण हुन लागेको हो । शीतभण्डार निर्माण हुने भएपछि कृषक खुशी भएका छन । तामिन कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा अगुवा कृषक हरिबहादुर नेपालले शीतभण्डार निर्माणपछि किसानलाई राहत मिल्ने बताए ।

चितवनको पहाडी भेग रहेको इच्छाकामना तरकारी उत्पादनका लागि उर्वरभूमि मानिन्छ । यहाँको तरकारी काठमाडौँ, नारायणगढ तथा पोखरालगायत शहरमा पनि जाने गर्दछ ।

कृषकलाई गाउँपालिकाको अनुदान

यसैबीच गाउँपालिकाले किसानलाई अनुदानका कार्यक्रम ल्याएको छ । गाउँपालिकाले खेर गइरहेको जग्गामा व्यावसायिक कृषि गरेमा रु एक लाखसम्मको अनुदान दिइने कार्यक्रम ल्याएको हो ।

गाउँपालिकाले तीन दुहुना भैँसी पालेमा रु एक लाख अनुदान, सुन्तला, कागतीलगायतका फलफूल खेती गरेमा ५०० सम्म बिरुवा अनुदान दिइनेलगायतका कार्यक्रम ल्याएको छ । गाउँपालिकाले किसानलाई हातेट्र्याक्टर वितरण गरिसकेको छ ।
कृषकलाई विभिन्न चरणमा तालीम प्रदान गरिरहेको छ ।

यहाँका तरकारी तथा फलफूलका लागि उर्वरभूमि भएकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न विभिन्न योजना ल्याइएको अध्यक्ष गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width