बझाङ, २७ वैशाख । विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान थालेका छन् ।
तीन महीना यार्सा सङ्कलन गरेर झण्डै एक वर्ष खान पुग्ने भएपछि स्थानीयवासी सपरिवारसहित यार्सा सङ्कलन गर्न लेकतिर जाने गरेको स्थानीय उमेश बोहराले बताए । यहाँका धेरैजसो स्थानीयवासीले यार्सा सङ्कलनबाटै सदरमुकाम चैनपुर, धनगढी, कैलाली , महेन्द्रनगर, कञ्चनपुर र काठमाडौँसम्म घर तथा जग्गा खरीद गरिसकेका छन् ।
अहिले लेकमा हिउँ भएको भए पनि तल्लो भेगतिर यार्सा पाइन थालेपछि लेकतिर जान थालेका हुन। वैशाखको पहिलो साताबाट लेकतिर जाने गरेका यहाँका स्थानीयवासी असारको अन्तिमतिर मात्र घर फर्किन थाल्छन । सुर्मा, साइपाल गाउँपालिकाका स्थानीयवासी अहिलेको ‘सिजन’मा घरमा ताला लगाएर यार्सा सङ्कलन गर्न जाने गरेको गाउँपालिकाका पे्रमबहादुर बोहराले बताए । यहाँ पाखो जमीन भएका कारण उब्जनी नहुने र तीन महीना यार्सा सङ्कलन गरेर वर्षभरिका लागि परिवारको लालनपालन गर्ने गरेको उनले बताए ।
सुत्केरी महिला, हिँडडुल गर्न नसक्ने वृद्धवृद्धा र ससाना हिँडडुल गर्न नसक्ने बालबालिकाबाहेक सबै अहिलेको सिजनमा यार्सा सङ्कलनका लागि लेकतिर लागेको स्थानीय कलकबहादुर बोहराले बताए । गाउँ नै शून्य बनाएर अहिले यहाँका स्थानीय यार्सा सङ्कलनका लागि लेकतिर गएको बोहराले बताए । ।विगतका वर्षहरुभन्दा क्रमिकरूपमा यार्साको उत्पादन घट्दै गएको उनको भनाइ छ ।
विद्यालय बन्द
सरकारले कुनै पनि पढ्ने उमेरका बालबालिका आधारभूत शिक्षाबाट वञ्चित हुन नपरोस भनेर देशव्यापी भर्ना अभियान चलाइरहेकै बेला बझाङ जिल्लाका धेरैजसो सरकारी विद्यालय तीन महीनाका लागि बन्द भएका छन ।
विद्यालयमा पढ्ने उमेरका सबै विद्यार्थी र अभिभावकसमेत यार्सागुम्बा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्तसम्मका लागि बन्द भएका हुन । जिल्लाका साइपाल, सुर्मा गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन् भने तल्कोट गाउँपालिका, बुङ्गल नगरपालिकाका केही विद्यालयसमेत बन्द भएका छन । अझै केही विद्यालय यसै महीनाको अन्तसम्ममा बन्द हुनसक्ने साइपाल गाउँपालिकाका स्थानीयवासी वसन्त बोहराले बताए । चैतको वार्षिक परीक्षा सकिएदेखि नै विद्यालय बन्द भएको उनले बताए ।
यस क्षेत्रका बासिन्दाको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बा रहेकाले पनि यस मौसममा सात÷आठ वर्षका बालकदेखि ७० वर्षका वृद्ध पनि यार्सागुम्बा टिप्न लेकतिर चढ्ने गरेका छन । विद्यालय बन्द भएपछि विद्यार्थीसँगै केही शिक्षक शिक्षिका पनि यार्सागुम्बा टिप्नका लागि पाटनतिरै उक्लिएका छन ।
चैतको अन्तिम साताबाट यार्सागुम्बा सङ्कलन शुरु गरी असारमसान्तसम्म टिप्ने क्रम जारी हुनाले तीन महीना विद्यालय पूर्णरूपमा बन्द हुने गरेका साइपाल गाउँपालिकाका एक शिक्षक उज्ज्वल बोहराले बताए । उनले भने “विद्यार्थी सबै यार्सा टिप्न जाने भएकाले अभिभावकको सहमतिमै विद्यालय बन्द गर्ने गरिएको छ ।” एकै पटक साउनमा विद्यालय खुल्ने र केही विद्यार्थीले भर्नाको काम पनि त्यतिबेला नै गर्ने गरेको उनको भनाइ छ ।
दुर्गम हिमाली क्षेत्रका विद्यालय वर्षामा तीन महीना यार्सा सङ्कलनको समयमा र हिउँदमा मङ्सिरदेखि फागुनसम्म जाडोका कारण बन्द हुने गरेका छन् । यसैगरी दशैँ, तिहार र अन्य विदामा समेत विद्यालय बन्द हुने हुनाले यस क्षेत्रका विद्यालयमा वर्षमा चार महीना पनि राम्रोसँग पढाइ नहुने गरेको विद्यार्थी बताउँछन । नियमित पढाइ नहुँदा यस क्षेत्रका बालबालिकाको शैक्षिक गुणस्तर र सिकाइ उपलब्धि न्यून हुने गरेको छ ।
समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा पाइने यार्सागुम्बा टिप्नका लागि अहिले यस जिल्लामा छिमेकी जिल्ला बाजुरा, बैतडी, हुम्ला, दार्चुला र अछामबाट मानिस ओइरिने क्रम शुरु भइसकेको छ भने यार्सागुम्बा टिप्न र व्यापार गर्नका लागि सुर्खेत, रुकुम, रोल्पा, काठमाडौँ, भारत र चीनको तिब्बतबाट एक सिजनमा २० देखि ४० हजार मानिस यहाँ आउने गरेका छन । धेरै उचाइमा गएर काम गर्नुपर्ने र पालमुनिको बास हुने हुनाले अधिकांश बालबालिका र वृद्धहरु चिसोका कारण बिरामी हुने गर्दछन भने कतिपयले ज्यानैसमेत गुमाउने गरेका छन ।
Related News
सम्बन्धित समाचार
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन
विस्मृतिमा अन्नपूर्ण प्रथम हिमाल
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
जेठ २१, २०८०