काँग्रेसलाई रुपान्तरण गर्न जागरण अभियान : महामन्त्री खड्का

काँग्रेसको राष्ट्रिय जागरण अभियान शुरु

आदर्श समाज संवाददाता
वैशाख २५, २०७६
DSC00705

पोखरा, २५ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबारबाट मुलुकभर एकसाथ ‘हिमाल, पहाड, तराई–मधेशको नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सुरू गरेको छ ।

७७ वटै जिल्ला, क्षेत्र, गाउँ र नगर, वडा र टोलसम्म विस्तार हुने राष्ट्रिय जागरण अभियान २०७६ सालभर तीन चरणसम्म संचालन गरिनेछन् । अभियानको बुधबार दिउँसो काठमाडौंमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबीच उद्घाटन गरेका छन् ।

त्यस्तै, कास्कीमा काँग्रेस महामन्त्री पूर्र्णबहादुर खड्काले जागरण अभियानको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै खड्काले काँग्रेसलाई रुपान्तरण गर्न काँग्रेस जागरणको अभियान शुरु गरेको बताए । जनताले खोजेको जस्तै काँग्रेस बनाउन जागरण अभियान थालिएको खड्काको स्पष्टोक्ति थियो । उनले कुँडिएको काँग्रेसी मनहरुलाई एकता गराउने उद्देश्यले जागरणको अभियान थालिएको बताए ।

‘अभियानमा संवाद, छलफल र समीक्षाद्धारा काँग्रेसी मनहरुलाई माझिनेछ,’ उनले भने, ‘कुँडिएका काँग्रेसी मनहरुलाई सम्झाउँदै, बुझाउँदै सिंगो काँग्रेस पार्टीलाई रुपान्तरण गरिनेछ । जनताले खोजेको जस्तै सच्चा काँग्रेस बनाइनेछ ।’

महामन्त्री खड्काले कम्युनिष्ट सरकारसँग जनताहरु निराश भएकाले त्यसको बैकल्पिक शक्तिमा काँग्रेसलाई उभ्याउन कास्की काँग्रेसका कार्यकताहरुसँग आग्रह गरे । कम्युनिष्ट सरकार गठन बनेदेखि देशमा विसंगति बढेको खड्काले उल्लेख गरे । काँग्रेसका राम्रा कामहरुलाई जनताबीच लिएर जान उनको आग्रह थियो ।

‘कम्युनिष्टहरुले कुहिएको पीठो बेच्न सफल भए, काँग्रेसहरुले टल्किएको चामल पनि विक्रि गर्न सकेनन्,’ उनले भने, ‘यसमा काँग्रेसको केन्द्रीय टिम नै असफल रहे । ठूला ठूला परिवर्तनका संवाहक काँग्रेस अल्छि बन्यो । काँग्रेस पार्टीले गरेका राम्रा कामहरुलाई जनताबीच लिएर जान सक्नुप¥यो ।’
‘देशमा राज्य र विद्रोही पक्षबीच द्ध्रन्द्ध हुने खतरा छ,’ महामन्त्री खड्काले भने, ‘यहाँ जातीय, क्षेत्रीय र धार्मिक द्धन्द्ध बढ्न सक्ने संभावना छ । ति द्धन्द्धलाई समाधान गर्ने वैकल्पिक शक्तिका रुपमा काँग्रेसलाई शसक्त बनाउनुपर्छ ।’

महामन्त्री खड्काले काँग्रेसलाई रुपान्तरण गर्न पार्टीका नेताहरु जिम्मेवार बन्नुपर्नेमा जोड दिए । काँग्रेसको बोली र व्यवहारमा परिवर्तन आउनु पर्ने उनको धारणा थियो ।

काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले आफूहरु सच्चिनका लागि जागरण अभियानको थालनी गरेको उल्लेख गरे । उनले कास्की काँग्रेसले नयाँ काँचुली फेर्ने दावी गरे । जोशीले काँग्रेसभित्रको गुट, उपगुट समुहहरुलाई गिरोहको संज्ञा दिए । आफ्नो स्वार्थ पूरा गर्न र अरुलाई परास्त गर्न बनेको गुट र गिरोहरुको अन्त्य गरेरै छाड्ने जोशीको जिकिर थियो ।

‘हिँजो गल्ती भएकै हो, गल्ती पहिचान गरेर अघि बढे हामी सच्चिन सक्छौं, अभियानको उद्देश्य पनि यही हो,’ जोशीले भने, ‘पार्टीमा फरक विचारहरु हुन्छन्, फरक विचार भएपछि विगतमा फरक समुहहरु जन्मिए । समुहसँगै गुटहरु जन्मिए । गुटसँगै गिरोहहरु पनि जन्मिए । अबको एक महिनाभित्र यस्ता गुट र गिरोह समुहहरु अन्त्य हुनेछन् ।’

जोशीले अभियानमा काँग्रेसका नेता तथा कार्यकर्ताहरुले इमान्दारिता प्रस्तुत गर्नुपर्नेमा जोड दिए । उनले काँग्रेसले स्वरुप फेरिएको कार्यक्रम ल्याएको बताए । उनले अब काँग्रेसको मन पनि फेरिन जरुरी रहेको औंल्याए । अबका दिनमा मुलुकको जिम्मा काँग्रेसले लिनुपर्ने जोशीको जिकिर थियो ।

‘प्रजातान्त्रिक मूल्य मान्यताको विकल्प, प्रजातान्त्रिक मूल्य मान्यता भएजस्तै काँग्रेसको विकल्प काँग्रेस नै हो,’ उनले भने, ‘अबको समय लोकतन्त्र बचाउनेहरुको हो । काँग्रेसमाथि चुनौती छ । हावाको बहावसँगै बग्न जान्नु प¥यो । नेपाली जनताहरु, अब काँग्रेसका एक नेताले अर्को नेतालाई गाली गलौज गरेको सुन्न चाहँदैनन् ।’

कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य तारा अधिकारीले जागरण अभियानमा भातृ संगठनहरुलाई कृयाशील बनाउनुपर्नेमा जोड दिइन् । उनले संसदमा काँग्रेसले सशक्त प्रमुख प्रतिपक्षीको भुमिका निभाउन आग्रह गरिन् ।

तीन चरणमा हुने अभियानको प्रथम चरण यही वैशाख २५ गते शुरु गरेर आगामी जेठ २५ गते समापन हुने काँग्रेसले जनाएको छ । त्यस्तै, दोस्रो चरण भदौ २४ गते शुरु भई असोज ७ गते समापेन हुनेछ । तेस्रो चरणको अभियान पुस ७ गतेबाट प्रारम्भ भई पुस १६ गतेसम्म संचालन हुनेछ ।
प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण सातवटै प्रदेशहरुको तीन सय ३० वटा प्रादेशिक निर्वाचन क्षेत्रहरुमा र तेस्रो चरण सात सय ५३ वटै स्थानीय तहमा हुने कार्यक्रम छ।

अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनीतिक उपलब्धी एवं समृद्धिको संप्रेषण गर्नेलगायतका कार्यक्रमहरु छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width