स्मार्ट भिलेजमा महोत्सव शुरु

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७६
ghalegaun mahotsab_Fotor

लमजुङ, २४ वैशाख। सार्क राष्ट्रकै नमना गाउँको रूपमा परिचित स्मार्ट भिलेज घलेगाउँमा २० औं महोत्सव शुरु भएको छ।

गण्डकी प्रदेशका उद्मोग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले महोत्सवको उद्घाटन गर्दै परम्परागत भाषा, कला संस्कृति बुझेका एक जनाले बनाएको संस्कृति विस्तारै हराउँदै गएको बताए। उनले आफ्ना पहिचान र संस्कृति चिन्न नसक्दा सम्पत्तिको रूपमा रहेको संस्कृति लोप भइरहेको भन्दै परम्परागत सस्कृतिको संरक्षण गर्न स्थानीयलाई आग्रह गरे।

उनले गण्डकी प्रदेशका १ सय १० वटा पर्यटकीय गाउँको पहिचान भइसकेको र अन्य एक सयजति पहिचानको चरणमा रहेको जानकारी दिए। गण्डकी प्रदेशमा १ सय ९० वटा होमस्टे छनौट गरी अनुदान दिइएको र होमस्टे प्रवद्र्धनात्मक कार्यक्रम अघि बढेको उनले बताए।

गण्डकी प्रदेश सरकारले ३ सय होमस्टे गाउँ बनाउने उद्घोषसहित कार्यक्रम अघि बढाइएकोमा अब ८६ होमस्टे छनोट भएको र अनुदान दिने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए। उनले भने ‘हामीले हरेक महिना एउटा होमस्टेको आम्दानी कम्तीमा २० हजार हुने हिसाबले अध्ययन गरेका छौं। ’

सन् २०२१ बाट पोखरामा अन्तराष्ट्रिय हवाई उडान हुने भएकाले ग्रामीण भेगमा बाह्य पर्यटकको आगमन समेत बढ्ने उनले बताए। ‘यही वर्ष १५ लाख आन्तरिक पर्यटक हाम्रा होमस्टेमा भित्रिनेछन्। अर्को वर्ष २० लाख पर्यटक भित्र्याउने हाम्रो योजना हो’ उनले भने ‘२ वर्षभित्र सवै गाउँमा विद्युत र खानेपानी पुर्याइने र ४ वर्षभित्र पर्यटकीय गाउँसम्मको मोटरबाटो कालोपत्रे हुनेछ। ’

लम्सालले ग्रामीण भेगमा पाइने जंगली जनावर पालेर पर्यटन प्रवद्र्धन गर्न सकिने पनि बताए। उनले ग्रामीण जनजीवनमा मानिसका सबैभन्दा नजिकका जंगली जनावर रहेकाले मृग पालेर पर्यटन प्रवद्र्धन गर्न सकिने भन्दै आयोजकलाई त्यस्तो सुझाव दिए। होमस्टेहरू पुराना तरिकाले चल्दैनन् नयाँ प्रविधि र ज्ञानको आवश्यकता पर्छ, उनले सुझाए।

क्व्होंलासोंथर गाउँपालिका–३ घलेगाउँमा आयोजना भएको महोत्सवको गण्डकी प्रदेशसभा सदस्य मधु अधिकारीले होमस्टेले स्थानीयको आय वृद्विमा टेवा पुर्याएको बताइन्। होमस्टेमा आउने पर्यटकहरूलाई अर्गानिक परिकार दिएर गाउँमै आम्दानी गर्नुपर्ने उनको भनाइ छ। घलेगाउँ पर्यटन व्यवस्थापन समिति अध्यक्ष एवं क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले आर्थिक समृद्धि, ग्रामीण गुरुङको लोकसंस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्वन गर्न र घलेगाउँलाई स्मार्ट भिलेजको रूपमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। उनले भने, ‘घलेगाउँका स्थानीयले वषेर्नी गाउँमा सञ्चालन हुने घलेगाउँ महोत्सवलाई नै ठूलो चाडको रूपमा मनाउँदै आएका छन्, हामीहरूले दसैँ–तिहार भन्दा गाउँमा वर्षको एकचोटी लाग्ने घलेगाउँ महोत्सवलाई नै ठूलो चाडको रुपमा मनाउँछौं। ’

स्थानीयले २०५७ सालदेखि घलेगाउँ महोत्सव मनाउँदै आएको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकले बताए। पर्यटकलाई सदैव स्वागत गर्ने घलेगाउँका बासिन्दाले महोत्सवलाई चाडपर्वको रुपमा विगतदेखि नै मनाउँदै आएका छन्।

घलेगाउँको पर्यटन प्रवद्र्धन गर्न, पौराणिक लोकसंस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकास, प्राकृतिक स्रोत–साधनको सदुपयोग गर्न र गाउँलाई ‘स्मार्ट भिलेज’को रूपमा चिनाउने उद्देश्य महोत्सवको छ। वेशीशहरदेखि २४ किमी दुरीमा रहेको घलेगाउँ कच्ची मोटरबाटो तय गरी २ घण्टामै पुग्न सकिन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width