माछापुच्छ्रे हिमालको पानी अन्नपूर्णमा

रासस, वासुदेव पौडेल
वैशाख २५, २०७६
machhapuchhre himal

पोखरा, २४ वैशाख। कास्कीको अन्नपूर्ण गाउँपालिकाले माछापुच्छ्रे हिमालको पानी गाउँपालिकाभित्र ल्याउने गरी बृहत् योजना अघि सारेको छ। यसका लागि गाउँपालिकाले ‘एक घर, एक धारा’ अभियानलाई अगाडि बढाएको हो।

गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एक घर, एक धारा अभियान सञ्चालन गर्ने उल्लेख गरेको छ। माछापुच्छ्रे हिमालको फेदी (मर्दी हिमाल नजिकै) को लान्द्रुक बनबाट पानी ल्याउने गरी गाउँपालिकाले सम्भाव्यता अध्ययन गर्ने योजना प्रस्ताव गरेको हो। अन्नपूर्ण गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत शेषकान्त पौडेलका अनुसार बस्तीबाट झण्डै नौ किमि टाढा रहेको लान्द्रुक वनबाट खानेपानी ल्याउन लागिएको हो। गाउँपालिकाले सम्भाव्यता अध्ययन गरी संघीय खानेपानी तथा सरसफाइ मन्त्रालयमा योजना प्रस्ताव गरिसकेको उनले जानकारी दिए।

“अन्नपूर्ण गाउँपालिकाका–१ देखि ७ सम्मका साथै पोखरा महानगरपालिका– २६ कास्कीकोटका बासिन्दालाई समेत खानेपानी पुर्याउने गरी योजना प्रस्ताव गरिएको छ”, उनले भने, “कूल रु ७७ करोड लागत अनुमान गरिएको सो योजना सम्पन्न भएसँगै गाउँपालिकाका सातवटै वडा र पोखरा महानगरपालिका–२६ कास्कीकोटका स्थानीयवासी खानेपानीमा आत्मनिर्भर बन्ने छन्। ”

समुद्री सतहबाट दुई हजार छ सय मिटर उचाइको लान्दु्रक वनस्थित पानीको मुहानमा चैतको खडेरीमा समेत पर्याप्त पानी हुने गरेको अध्ययनका क्रममा पाइएको पौडेलले जानकारी दिए। मुहान रहेका स्थानमा तीन वटा ठूला ठूला पानीका मुहान रहेको उनले जानकारी दिए।

प्रस्तावित खानेपानी योजना मुहानदेखि सबैभन्दा टाढा नागडाँडासम्म ल्याइपुर्याउन २६ किलोमिटर दूरी पार गर्नुपर्छ। बृहत् खानेपानी योजनाको प्रस्ताव गरेको गाउँपालिकाले यस आर्थिक वर्षमा विभिन्न वडामा अन्य साना खानेपानीका योजना पनि सञ्चालन गरिरहेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए।

“हामी गाउँपालिकालाई खानेपानीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लागेका छौँ”, उनले भने, “पदयात्रा पर्यटन, दृश्यावलोकन आदिका प्रचुर सम्भावना बोकेको यस ठाउँलाई खानेपानीमा आत्मनिर्भर बनाउन सके यसले यहाँको पर्यटकीय विकासमा पनि उत्तिकै टेवा पुर्याउनेछ। ”

चालू आवमा यहाँका एक हजार घरधुरीमा धारा पुर्याउने लक्ष्यका साथ विभिन्न साना खानेपानी योजना सञ्चालनका क्रममा रहेको उनले जानकारी दिए। उनका अनुसार विभिन्न वडा एवं स्थान विशेषमा सञ्चालित साना योजनामा स्थानीय अवस्थाका आधारमा १० देखि २० प्रतिशत जनश्रमदानसहित वडाले खानेपानीका लागि लगभग रु तीन करोड छुट्याएको छ।

चालू साना योजनामध्ये गाउँपालिका–१ को लेवाडेका साथै कुँवरगाउँ, नेपाली थर, भुवाइँ थर र फल्ला पानीलाई लक्षित गरी सञ्चालित खानेपानी योजना अन्तिम चरणमा पुगेको छ। त्यस्तै वडा नम्बर २ को सेराचौर, वडा नं ४ सल्यान, वडा नं ८ वीरठाँटी, वडा नं १० को सिमेमा सञ्चालित खानेपानी योजनाको निर्माण कार्य सकिएको छ।

वडा ३ को पाउँदुरकोट, दमदमे, भिरमुनि दलितबस्ती, वडा ५ को पुरानोगाउँ दलित बस्ती, वडा ९ को तिखेढुङ्गा र वडा ११ को छोम्रोङमा सञ्चालित खानेपानी योजना सकिने क्रममा छन्। वडा ६ मा संघीय बजेटअनुरुप नै सञ्चालित खानेपानी योजना निर्माणका क्रममा छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width