पेट्रोलियम पाइपलाइन ओछ्याउने काम अन्तिम चरणमा

रासस
वैशाख १५, २०७६
petrolium-pipeline-1

वीरगञ्ज, १४ वैशाख। दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ।

बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ओछ्याउने पेट्रोलियम पाइपलाइन विछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ।

नेपालको लाइफलाइनको रुपमा रहेको ७० किलोमिटर लम्बाइको सो पाइपलाईन ६५ किलोमिटर सम्पन्न भइसकेको र अब करीब पाँच किलोमिटर क्षेत्रमा मात्र काम बाँकी रहेको बताइएको छ।

पाइपलाइन विछ्याउने क्षेत्रमा करीब नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्जपर्ने भएकाले सो क्षेत्रमा ६ हजार ५ सय ठूला–साना रुख काटिने काम धमाधम भइरहेको पेट्रोलियम पाइपलाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले बताए।

काटिएका रुखको जरा उखेल्न समस्या भए पनि सो काम तीव्रगतिमा भइरहेको छ।

उनले निकुञ्जभित्रको नौ किलोमिटर क्षेत्रमध्ये चार किलोमिटर क्षेत्रमा रुख कटान गरी पाइपलाइन बिछ्याउने काम भइसकेको र बाँकी रहेको पाँच किलोमिटर क्षेत्रमा पर्ने रुख कटान गरी चाँडै नै पाइप बिछ्याउने काम सम्पन्न भएपछि असारसम्ममा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउनेछन् भने।

पाइपलाइन विस्तार गर्ने क्रममा निकुञ्ज क्षेत्रभित्र काटिएको रुख भएको ठाउँमा पुनः वृक्षरोपण गर्न नेपाल आयल निगमले निकुञ्जलाई पाँच वर्षसम्मको लागि एक लाख ४७ हजार २ सय रुख रोप्न एक करोड ३९ लाख ६७ हजार ५२ रुपैयाँ क्षतिपूर्ति दिएको सहायक संरक्षण अधिकृत अशोककुमार रामले बताए।

गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुतm रुपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गरेपछि यसले गति लिँदै जमीनमुनि पाइप ओछ्याउने काम अन्तिम चरणमा पुगेको छ।

भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म ७० किलो मिटर लम्बाइ भएको सो पाइपलाइन भारतीय आयल निगमको २ सय ७५ करोडको लागतमा निर्माण भइरहेको छ। जसमध्ये भारत सरकारको २ सय करोड तथा सङ्घीय सरकारको ७५ करोडको लगानी रहेको पेट्रोलियम पाइपलाइन कार्यालय सिमराले जनाएको छ।

पाइपलाइन बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्नका लागि अमलेखगञ्ज आयल निगमको डिपोमा ३९ सय किलोलिटर क्षमता भएको दुई वटा तथा ४ हजार १ सय किलोलिटर क्षमता भएको दुईवटा गरी चार वटा ट्याङ्कर मर्मतसम्भार दु्रत गतिमा भइरहेको छ। सो पाइपलाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि प्रतिघण्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाईनबाट भित्रिने छन्।

जमीनमुनी साढे दुई मिटर तल तथा पौने ११ इञ्चको माइल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकोले खिया भने लाग्दैन।

यो प्रोजेक्ट सञ्चालमा आएपछि नेपाल भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास जानकारहरुले लिएका छन्।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width