महानगर उछिन्ने सफाइ अभियान

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७६
firke first day_Fotor

पोखरा, १२ वैशाख।  पोखरा महानगरपालिका।  देशकै ठूलो महानगर।  स्मार्ट सिटीको अवधारणामा अघि बढेको महानगरको नारा जताजतै सुनिन्छ, स्वच्छ सुन्दर, हराभरा पोखरा।

तत्कालीन पोखरा लेखनाथ महानगरले २०७५ साल जेठ ८ मा फोहोरमैला व्यवस्थापन नियमावली, २०७४ स्थानीय राजपत्रमा प्रकाशित समेत गर्यो।  महानगरको नाराजस्तै काम भए– नभएको छुट्टै मूल्यांकन गर्नुपर्ने आवश्यकता एकातिर रहे पनि पोखरा सफाइ अभियानमा धेरै अघि बढेको छ, यहाँको नागरिक समाज।

पोखरा उपत्यका बृहत् सरसफाइ अभियानका साथ नागरिक समाज पोखराले ३ वर्षअघि विश्व वातावरण दिवसकै अवसरमा सरसफाइ अभियान शुरुवात गर्यो।  २०७३ जेठ २२ मा महानगरको बीच भएर बग्ने फिकेर्को मुहान अँधेरीकुनादेखि थालिएको सरसफाइ अभियानले १ सय ५१ औं हप्ता पार गरिसकेको छ।

यसबीचमा महानगरका ३३ वटै वडामा सफाइ अभियान पुग्यो।  ठाउँ– ठाउँमा अभियन्ता निस्के।  मानिसहरु स्वतःस्फूर्तरुपमा वडावडा तथा टोलटोलमा अभियान बोकेर सफाइ अभियानमा जुटे।  वडास्तरमा सफाइ सचेतना,  विभिन्न घाटको सफाइ, सांस्कृतिक तथा धार्मिक सम्पदा सफाइ, पोखरा आपूर्ति हुने माछापुच्छ्रे गाउँपालिकास्थित खानेपानी मुहान सफाइ लगायतमा गरी १ लाख ९७ हजार मानिसले सहभागिता जनाए।  यसरी हालसम्म करिब १० हजार ४ सय टन फोहरमैला संकलन भएको अभियान संयोजक रामबहादुर पौडेल बताउँछन्।

अभियान शुरु गर्ने तय गर्दा नागरिक समाजका तत्कालीन संयोजक रामबहादुर पौडेललाई सहभागिता के कस्तो हुने हो र कहाँसम्म पुगिएला भन्नेमा चिन्ता थियो।  तर शुरुवातको दिनदेखि हरेक साता सबैको चासो र सहभागिता यति बढ्यो कि फिर्के– बुलौदी अभियान सहजरुपमा सफल हुँदै बृहत् पोखरा उपत्यका अभियानमा परिणत हुन पुग्यो।

त्यत्तिबेला सहरी क्षेत्रमा पुग्ने गरी अभियान शुरु भएको हाल गाउँगाउँ पुगेरै भए पनि अभियानलाई निरन्तरता दिएका छौं, ’ अभियन्ता पौडेल भन्छन्, ‘यो सामाजिक चेतना र नागरिक जागरणको लागि भएकोले सबैको सहभागिताले सफल भएको हो।  यो अभियान निरन्तर चल्छ। ’

अभियन्तामध्ये एक शशी तुलाचनका अनुसार सो अभियानबाट सर्वसाधारणमा फोहोरमैलाबारे सचेतना मिलेको विश्वास व्यक्त गरिन्।

बागमती सफाइ अभियानका अभियन्ता समेत रहेका नेपाल सरकारका तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले अभियान उद्घाटन गरेका थिए।  फिर्के बुलौदी सरसफाइ अभियान पूरा गर्न १८ औ साता लागेेको थियो।  फेवाताल ड्यामसाइडस्थित गाईघाटमा करिब १० रोपनी पानीको भूभाग टापुमा परिणत भएको र यसको बेलैमा रोकथाम नभए तालको अस्तित्व वषेर्नी नासिदै जाने हुँदा सचेतनास्वरुप थालिएको सो अभियानले बृहत रुप लिएको हो।  यसमा पोखरा महानगरपालिका भने पछिपछि छ।  प्रत्येक साता शनिबार बिहान १ घण्टा हुने अभियानमा महानगरले फोहर संकलनको गाडी तथा समय– समयमा आवश्यक मास्क, डोको, ग्लोब सहयोग उपलब्ध गराउने गरेको छ।  यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ, ओम, गण्डकी विकास बैंक, एनआईसी एशिया बैंकको पनि निरन्तर सहभागिता रहेको नागरिक समाज संयोजक विष्णुहरि अधिकारीले जानकारी दिए।  यस अलावा सफाइमा सयौ संघसंस्थाले संस्थागत सहयोग जनाउँदै सफाइ अभियानमा निस्कने गरेका छन्।  सबैभन्दा राम्रो पक्ष ठाउँ– ठाउँमा सफा अभियान जन्मिए।  बेगनास युवा क्लब पोखरा– ३१ को बेगनास ताल सफाइ अभियान, खहरे आमा समूह पोखरा– ६ को फेवाताल सफाइ अभियान, ड्यामसाइड टोल विकास संस्थाको राष्ट्र बैंकचोक– ड्यामसाइड सफाइ अभियान, राइजिङ स्टार युथ क्लब पोखरा– २७ को रिठ्ठेपानी सफाइ अभियान, पोखरा– ११ को प्रत्येक महिना ११ गते वडास्तरीय सफाइ अभियान, पोखरा– ६ को प्रत्येक महिना ६ गते वडास्तरीय सफाइ अभियान, माछापुच्छ्रे महिला क्लब पोखरा– ७ को मासिकरुपमा सफाइ अभियानमा मानिसहरु घरघरबाट कुचो कुटो बोकेर निस्कन्छन्।

अभियन्ता पोखरा– ९ का सचिव लोकदर्शन कोइराला भन्छन्, ‘सरसफाइप्रतिको चासो र ऐक्यवद्धता व्यापक छ।  हामीहरु जुन वडामा जान्छौं, त्यहाँ नै अभियन्ता बताउँछौं। ’

चाडपर्व, बन्द हड्ताल, झरी बादल केही नभनी निरन्तर जारी यस अभियानमा स्कुले विद्यार्थीलाई समेत सफाइ अभियानमै सरिक गराएर सचेत गराउने गरिएको छ।  प्रत्येक साता सम्बन्धित क्षेत्रमा सफाइअघि जनजागरण गरेको छ।  विभिन्न रोगको जड फोहोर नै भन्नेमा मानिस सचेत हुन थालेका छन्।

४ सय ६४ वर्ग किमी क्षेत्रफलमा फैलिएको महानगरमा करिब ४ लाख बढी जनसंख्या छ।  यति ठूलो महानगरमा सफाइ अभियानलाई निरन्तरता दिँदै प्रमुख पर्यटकीय गन्तव्य बनाउन यसका अभियन्ताको भूमिका महत्वपूर्ण रहेको विषय महानगरले कम आँक्नु गलत हुन सक्छ।  महानगरले जारी गरेको फोहर मैला व्यवस्थापन नियमावलीको परिच्छेद– २ मा फोहर मैला व्यवस्थापन महानगरको मुख्य जिम्मेवारी भनी उल्लेख छ।  तर कतिपय स्थानमा फोहर संकलन गर्ने गाडी नियमित नपुग्दा नगरबासीले घरमै लामो समयसम्म फोहर थुपार्नुपर्ने बाध्यता हट्न सकेको छैन।

यता, महानगरपालिका प्रमुख मानबहादुर जिसी भन्छन्, ‘स्थानीय तहको चुनावसँगै आएका हामी जनप्रतिनिधिले काम नगरेको हैन, महानगरले विगतमाझैं घरघरमा पुगेर फोहर संकलन गर्दै आएका छौं।  आगामी दिनमा फोहर नै नगर्ने बानीको विकास गर्दै विस्तृत योजनासाथ अघि बढ्ने तयारी छ। ’ उनले पोखरा बृहत् सफाइ अभियानलाई निकै सकारात्मक र चासोको रुपमा हेरेको भन्दै प्रशंसा समेत गरे।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width