आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न

गण्डकीलाई नवौं संस्करणको जिम्मा

नारायण शाही
वैशाख १२, २०७६
7_Fotor

पोखरा, ११ वैशाख। आगामी २०७७ सालमा गण्डकी प्रदेशमा भेट्ने वाचासहित आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगञ्जमा समापन भएको छ।

उपराष्ट्रपति नन्दबहादुर पुन उपस्थितिमा बुधवार नेपालगञ्ज रंगशालामा प्रतियोगिताको औपचारिक समापन गरिएको हो। यससँगै गण्डकीले २०७७ फागुन २० देखि २७ गतेसम्म हुने गरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मा पाएको छ।

प्रमुख अतिथि उपराष्ट्रपति पुन, राष्ट्रिय खेलकुद परिषद सदस्यसचिव केशवकुमार विष्टले बुधबार साँझ क्षेत्रीय खेलकुद विकास समिति पोखराका अध्यक्ष सम्पन्न श्रेष्ठसहित खेलाडीहरुको टोलीलाई झण्डा हस्तान्तरण गरे। कार्यकममा राखेपका सदस्यहरु राजेशकुमार गुरुङ र अस्मिता गुरुङलगायतको सहभागिता थियो। उपराष्ट्रपति पुनले विजेता टोलीलाई पुरस्कार वितरण गर्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशलाई समयमै तयारीमा जुट्न आग्रह गरे।

राखेपले बुधबार बोर्ड बैठक बसेर नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने आयोजक प्रदेशको टुंगो लगाएको हो। सातौं पूर्वाञ्चलमा हुँदा नै गण्डकी प्रदेशले आयोजना गर्ने दाबी गरेको थियो। तर, प्रदेश ५ ले आठौं आयोजना गर्ने र नवौं गण्डकी प्रदेशलाई दिने सहमति भएको थियो।

राखेपले गण्डकी प्रदेशमा केही खेलकुद भौतिक संरचना निर्माण भएको त केही निर्माणक्रममा भएकोले नवौं गण्डकी प्रदेशमा हुने निर्णय गरेको राखेपका सदस्य राजेशकुमार गुरुङले जानकारी दिए।

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत गत चैत २७ गतेबाटै केही खेलहरु शुरु भए पनि औपचारिक उद्घाटन गत वैशाख ५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्। सो संस्करणको दुई खेल ट्रायथलोन र प्याराग्लाइडिङ प्रतियोगितामा गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न भएको थियो।

यसैबीच, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन बुधबार नेपालगञ्ज रंगशालाको फुटबल मैदानमा पुरुषतर्फ आर्मीले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै स्वर्ण पदक जितेको छ।

भलिबल पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ एपीएफले स्वर्ण पदक जितेका छन्। पुरुषतर्फको क्रिकेटमा भने एपीएफले स्वर्ण पदक जितेको छ। बुधबार भएको फाइनलमा एपीएफले पुलिसलाई ३२ रनले पराजित गर्दै स्वर्ण पदक जितेको हो।

पदकमाथि विभागीयकै वर्चस्व

यसपालि ३ सय ३० स्वर्ण, ३ सय २९ रजत र ४ सय ८० कास्य गरी कूल ११ सय ३९ पदकका लागि प्रतिस्पर्धा भएको थियो। ३ सय ७२ वटा स्वर्ण पदकको लागि खेल पूर्व घोषणा गरे पनि आर्चरी, ट्रायथलन, बडी बिल्डिङ खुला इभेन्ट भएकोले पदक तालिकामा नजोडिएको हो। पदक जित्नेमा विभागीय क्लबहरुकै वर्चस्व रह्यो। नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले १ सय ४० स्वर्ण, ८१ रजत र ६७ कास्य गरी २ सय ८८ पदक जितेर आफ्नो वर्चस्व कायम गर्यो।

अर्को विभागीय नेपाल पुलिस क्लबले ६२ स्वर्ण ४८ रजत ४६ कास्य गरी १ सय ५६ पदक हात पार्यो। त्यस्तै, सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले ५२ स्वर्ण ६९ रजत ८० कास्य गरी २ सय १ जित्यो।

प्रदेश ३ ले २२ स्वर्ण ४० रजत ६० कास्य गरी १ सय २२ पदकसहित पदक तालिकाको चौथो र प्रदेशमै अग्रस्थानमा रह्यो। त्यसपछि गण्डकी प्रदेश १२ स्वर्ण २१ रजत र ४४ कास्य गरी ७७ पदक जित्दै पाँचौं स्थानमा रह्यो। आयोजक प्रदेश ५ ले ११ स्वर्ण २६ रजत ४८ कास्य गरी ८५ पदकसहित पदक तालिकाको छैटौं स्थानमा रह्यो। प्रदेश १ ले ९ स्वर्ण २० रजत ५९ कास्य गरी कूल ८८ पदक जित्दै सातौं स्थान कायम गर्यो। सुदूरपश्चिम ८ स्वर्ण १२ रजत र ३४ कास्य गरी ५४ पदकसहित आठौं र प्रदेश २ ले ६ स्वर्ण ७ रजत र २० कास्य गरी ३३ पदक जित्दै नवौं स्थान कायम गर्यो। गैरआवासीय नेपालीहरुको प्रतिनिधिमूलक छाता संस्था एनआरएनएले ६ स्वर्ण २ रजत ५ कास्य गरी १३ पदक जित्दै पदक तालिकाको दशौं स्थानमा रह्यो। कर्णाली प्रदेशले ३ स्वर्ण ४ रजत ७ कास्य जित्दै पदक तालिकाको अन्तिम स्थानमा समेटिन पुग्यो।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width