तमुहरुले मनाए ट्हांटे

विदेश जाने मानसिकताबाट माथि उठ्न मुख्यमन्त्रीको आग्रह

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७५
tohote ghatu_Fotor

साझा फूलबारी : तमुहरुको महान चाड ट्हांटे पर्वको उपलक्ष्यमा मंगलबार पोखरामा प्रस्तुत साँस्कृतिक झाँकी घाटुका कलाकारहरु। तस्वीर : आदर्श समाज

पोखरा, २६ चैत। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा भएका परिवर्तनहरुसँगै गुरुङहरुले आफूलाई पनि बदल्न सक्नुपर्ने बताएका छन्। देशको राजनीतिक परिवर्तनमा तमुहरुले महत्वपूर्ण भूमिका निर्वाह गरे पनि परिवर्तन पश्चात उपलब्धि उपभोग गर्न नसक्नु कमजोरी रहेको उनको ठहर थियो।

गुरुङहरुको परम्परागत सांस्कृतिक पर्व ट्होंटे अवसरमा मंगलबार आयोजित समारोह उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन्।

उनले तमुहरु विदेशमात्रै जाने, बन्दूक मात्रै बोक्ने मानसिकताबाट माथि उठ्नुपर्ने आग्रह गर्दै खान र लाउनमा सबैभन्दा छिटो नक्कल गर्ने तमुहरुले चेतना अभिवृद्धि र राजनीतिमा पनि नक्कल किन नगरेको भनेर प्रश्न गरे। राजनीतिमा आफू हाँसको बीचमा बकुल्लाजस्तो बनेको बताउँदै प्रदेश नामकरणमा आदिवासी जनजातिको पहिचानको सम्मान हुन नसक्दा दुखेसो रहेको आफूले बुझेको भन्दै समय आएपछि विकल्प आउन सक्छ भने।

तमु लगायत आदिवासी जनजातिहरुमाथि अझै पनि विभेदको महसूस गरे पनि उपलब्धि आत्मसात गर्दै अघि बढ्न सुझाव दिए।

ट्होंटे, ल्होछार लगायतको चाडपर्व संस्कृतिको संरक्षण र विकासका लागि प्रदेश सरकार जुटिरहेको भन्दै चाडपर्वमा बिदा संघीय सरकारको निर्णयबाटै प्राप्त भएको बताए। मुख्यमन्त्री गुरुङले विभेदको अन्त्य गर्ने जिम्मा राज्यको हो, कम्युनिष्टको सिद्धान्त नै भएकाले समान अधिकारका लागि आफू लागिरहने बताए। समाज इन्द्रधनुष तर राज्यसत्ता एकात्मक भएकाले धेरै समस्या भएको बताउँदै जाति, भाषा, धर्म, सँस्कृति, भुगोल, लिंगका आधारमा अब कसैको अपमान सहन नसकिने बताए।

पहिचान, भाषा, धर्मनिरपेक्षता, विभेदको अन्त्यका लागि विगतका आन्दोलनमा आफ्नो सहभागिताबारे चर्चा गर्दै आदिवासी जनजाति आन्दोलनमा अहिले पनि सहानुभूति रहेको उनको भनाइ थियो।

उनले प्रदेश सरकारले ठूलो अस्पताल, प्राविधिक विश्वविद्यालय, रिङरोड, मेट्र बसपार्क, राजमार्गहरु, फिल्मी सिटी, पर्यटन विकास लगायत क्षेत्रमा विकास गर्दै यस प्रदेशलाई सवोर्त्कृष्ट प्रदेश बनाउने आफ्नो पाँचवषे लक्ष्यमा साथ सहयोग समेत मुख्यमन्त्रीको आग्रह थियो।

आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्म गुरुङले यस प्रदेशको समृद्धिको लागि ट्होटें जस्तो सँस्कृति र प्रकृतिको संरक्षण तथा विकासका लागि सरकार लाग्नुपर्ने बताए।

आदिवासी जनजाति पत्रकार महासंघ फेानिज कास्कीका अध्यक्ष एमबी आस्थामगरले आदिवासी जनजातिले मिडिया बुझ्नुपर्ने र सञ्चारकर्मीले पनि आदिवासी जनजातिका विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

तमु धिं नेपालका उपाध्यक्ष हुमबहादुर गुरुङले आदिवासी जनजातिहरु समान अधिकारका लागि, पहिचान प्राप्तिका लागि सचेत एवं एकतावद्ध रुपमा अघि बढ्नुपर्ने बताए। यस प्रदेशकै मुख्यमन्त्री गुरुङ भएकाले तमुहरुले अभिभावक, सहयोगी प्राप्त गरेको र मुख्यमन्त्रीलाई सघाउनुपर्ने अवस्थामा सबै तमुहरुले सघाउन एकजुट हुनुपर्ने बताए।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सांस्कृतिक संयोजक मेनकाजी गुरुङ र सञ्चालन महासचिव गिरीप्रसाद गुरुङले गरेका थिए। त्यसअघि ट्होटें र्याली निस्केको थियो। र्यालीमा ताङतिङ दूधपोखरी तमु समाज प्रथम, चिउली पार्चे तमु समाज दोश्रो, फूलबारी तमु समाज तेश्रो भए। त्यस्तै, बाँझापाटन तमु समाज, सिमपानी र तनहुँ सान्त्वना भए। आँधीखोला तमु समाजलाई घाँटु र कोल्माबहाकोटलाई झोरा संरक्षणका लागि पुरस्कृत गरिएको थियो। बिरौटास्थित तमु ह्युलचोकमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङ, तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले तमु ह्युल, प्रकृति र पितृको नाउँमा धुप बाल्दै र्याली शुरुवात गरेका थिए। तमुहरुको मौलिक हतियार धनुष प्रहारबाट शुरु भएको ट्होटे र्याली मुस्ताङचोक, एयरपोर्ट, नागढुंगा, लखनचोक, नयाँबजारहुँदै तमु धिं नेपालमा पुगी समारोहमा परिणत भएको थियो।

तमु जातिको सभ्यता, ऐतिहासिकता, सांस्कृतिक, एकता र राज्य सुरक्षित राख्नेको पर्वको रुपमा मनाउने ट्होटें सामुहिक रुपमा तमु धिं नेपालको आयोजनामा २०५२ सालदेखि पोखरामा मनाउँदैआएको छ। साउनका ३ र चैतका ३ मंगलवार तमु गाउँ वस्तीमा ट्होटें पर्व मनाउँथे। तर पोखरा झरेका तमुहरुले तमु धिं नेपालको अगुवाइमा २०५२ सालदेखि वर्षमा २ पटक साउन र चैत अन्तिम मंगलबार मनाइँदैआएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width