बारा र पर्सामा भीषण हावा हुरी, २७ को मृत्यु, ४ सय बढि घाइते

नारायण शाही
चैत्र १८, २०७५
Bara-1

पोखरा, १७ चैत । बारा र पर्सामा भीषण हावाहुरीका कारण २७ जनाको ज्यान गएको छ । यस समाचार तयार पार्दासम्म बाराका विभिन्न गाउँमा २५ जना र पर्सामा २ जनाको ज्यान गएको हो । ४ सय जनाभन्दा बढी घाइते भएको जनाइएको छ ।
हावा हुरीले घरका छानाहरू उडाएको र रूखहरू ढलेका कारण सयौ जनाभन्दा बढी घाइते भएको जनाइएको छ । वीगरगञ्जको नारायणी अस्पतालमा मात्र २ सय जना भन्दा बढीको उपचार भइरहेको छ । वीरगञ्जका अन्य अस्पतालमा पनि घाइतेहरूको उपचार भइरहेको जनाइएको छ ।

करीब साढे ७ बजेको समयमा आएको भीषण हवाहुरीले खेतीबारीमा समेत ठूलो क्षति पुगेको स्थानीय उद्दारकर्मीहरूले जनाएका छन् । त्यसैगरी कलैया जिल्ला अस्पतालमा पनि कयौ घाइतेको उपचार भइरहेको जनाइएको छ ।

हावाहुरी बाराको फेता गाउँपालिका कयौं घरहरूमा ठूलो क्षति पुगेको जनाइएको छ । प्रदेश दुईका प्रहरीले प्रमुख डीआइजी हरि पालले हावाहुरीका कारण ठूलो क्षति भएको पुष्टि गर्दै अहिले उद्धार कार्य जारी रहेको जनाएका छन् । घाइतेहरूको नजिकैको स्वास्थ्य केन्द्रमा पनि उपचार भइरहेको छ । घाइतेमध्ये कतिपयको अवस्था निकै गम्भीर भएकोले मृतको संख्या अझ बढ्न सक्ने प्रहरीको अनुमान छ ।

हावाहुरीले सप्तरी जिल्लामा पनि प्रभाव परेको जनाइएको छ । हुलाकी राजमार्गमा रूख तथा विजुलीका पोल ढलेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत २५ जनाको ज्यान गएको र ४ सय घाइते भएको भन्दै शोक तथा समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले उक्त घटनालाई लिएर आइतबार राति दुई वटा ट्वीट गरेका छन् ।

त्यस्तै, प्रधानमन्त्री ओलीले भोलि बिहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा ‘नाइटभिजन’ हेलिकप्टर तयारी अवस्थामा राखिएको बताउँदै उनले सुरक्षाकर्मीसँगै उद्दारमा संलग्न रहन पार्टीका सबैलाई आह्वान गरेका छन् ।
रातको ११ ः २६ मा दोस्रो ट्वीट गर्दै भनेका छन्, ‘भोली बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमॉनाईट भिजन’ हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।’

यसअघि, रातिको १० ः ३७ मा प्रधानमन्त्री ओलीले गरेको पहिलो ट्वीटमा भनेका थिए, ‘हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएको छ । मृत्युबरण गर्नेहरूप्रति शोक व्यक्त गर्दछु । र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पनि ट्विट गर्दै ठूलो संख्यामा जनधनको क्षति भएको जानकारी आएको बताएका छन्। उनले राति ११ ः १८ मा ट्वीट गरेका छन्, ‘बारा पर्साको केही स्थानमा आएको डरलाग्दो आँधि ठुलो संख्यामा जनधनको क्षति भएको खबर आएको छ।दुखको यस घडिमा सम्मपूर्ण सुरक्षाकर्मीलाई उद्दार कार्यमा सहयोग गर्न आहव्ना गर्दछु । घाइतेहरुको उपचारको लागि स्वास्थ्य सेवाका कर्मचारीरु अनुरोध छ । शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

Related News

सम्बन्धित समाचार

hero news full width