विधिको शासनबाटै सुशासन : प्रदेश प्रमुख कुँवर

अञ्जनराज न्यौपाने
चैत्र १५, २०७५

वन्दीपुर (तनहुँ), १४ चैत। गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासनबाट नै मुलुकमा सुशासन कायम हुन सक्ने बताएका छन्।

प्रदेश सभा सार्वजनिक लेखा समिति गण्डकी प्रदेशद्वारा तनहुँको बन्दीपुरमा आयोजित आर्थिक सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक लेखा समिति गण्डकी प्रदेश र सरोकारवाला संस्थाहरुबीच समन्वय र सहकार्य विषयक गोष्ठी विहीवार शुभारम्भ गर्दै प्रदेश प्रमुख कुँवरले भने, ‘बजेट जुन शीर्षकमा छुट्टाएको हो, त्यो शीर्षक अनुरुप खर्च नगर्नु पनि भ्रष्टाचार हो।’

‘पहिलेको व्यवस्था नराम्रो भएकै कारण परिवर्तन मार्फत नयाँ व्यवस्था र संविधान ल्यायौँ, यो व्यवस्थालाई पनि राम्रो बनाउन सकिएन भने हाम्रो बाटो कता हुने’ प्रश्न गर्दै कुँवरले भने, ‘विधिको शासनले नै देशलाई सुशासनको बाटोतर्फ अगाडि बढाउन मद्दत गर्छ।’

‘भ्रष्टाचार र शासन व्यवस्था खराब भयो भनेर नै हामीले लोकतन्त्र ल्यायौ फेरि पनि त्यही कुरा दोहोरिन दिनु हुँदैन, नेपाली नागरिकता भएरमात्र हुँदैन, आफ्नो मातृभूमिप्रति जिम्मेवार हुन पनि त्यतिकै आवश्यक छ,’ उनले भने भने, ‘विधिको शासनमा जोसुकै पनि कारबाहीको भागिदार हुनैपर्छ, यो ठूलो मान्छे यो सानो मान्छे हुँदैन।’

गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले देश समाजवादतर्फ उन्मुख भएकाले राज्यका हरेक तहमा सुशासन महत्वपूर्ण हुने बताए। राज्यका तीनओटै तहमा सुशासन कायम गर्न सरोकारवाला निकाय र नागरिक समाजको खबरदारी नियमित हुनुपर्नेमा सभामुख अधिकारीको जोड थियो।

महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रण भएमात्र सुशासन कायम हुन सक्ने कुरामा जोड दिँदै सुशासनले मात्र भ्रष्टाचार नियन्त्रणमा आउन सक्ने बताए। स्थानीय तहमा भ्रष्टाचारको ठूलो सञ्चालन भएको उल्लेख गर्दै शर्माले भ्रष्टाचार खोतल्न कठिन हुने र त्यसपछि कारबाही गर्न समेत मुस्िकल हुने गरेको उनको भनाइ छ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले तीनै तहका सरकारमा रहेको व्यक्ति तथा कर्मचारीलाई नागरिक समाज, भ्रष्टाचारविरुद्व काम गर्ने संस्थाले सचेत गराइराख्नुपर्नेमा जोड दिए।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सार्वजनिक लेखा समितिको प्रतिवेदन पालना गर्न प्रदेश सरकार सदा तयार रहेको उल्लेख गरे।

गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले राज्यका हरेक निकायमा हुने भ्रष्टाचार न्यूनीकरण गर्न प्रतिबद्वताका साथ अगाडि बढ्नुको विकल्प नभएको बताइन्।

प्रदेश सभाका प्रमुख विपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले लोकतन्त्र संस्थागत गर्न सुशासन कायम राख्नु र भ्रष्टाचार नियन्त्रण गर्नु प्रमुख दायित्व भएको बताए।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले सुशासन समाज विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै विधिको शासन लागू हुन जरुरी भएको बताए।

आयोजक संस्था यूएनडीपीका सुदीप अर्यालले सुशासनका लागि प्रदेश कार्यालय र प्रदेश सांसदहरुको कार्यक्षमता वृद्धि गर्न गोष्ठीको आयोजना गरिएको जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले देशको सुशासन स्थापना हुन नसक्नुमा सबैको चिन्ताको विषय भएको उल्लेख गर्दै शुद्धिकरणका लागि माननीयहरुबाट नै शुरुआत हुन जरुरी भएको बताए।

गोष्ठीमा महालेखापरीक्षक टंकमणि शर्मा, संघीय संसद्का सांसद राजेन्द्र केसी, विरोध खतिवडा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व सचिव श्रीधर सापकोटा, व्यवस्थापकीय संसद् सचिवालयका पूर्व सचिव सोमबहादुर थापा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवं ट्रान्सपरेन्सी इटरनेशनलका आनन्दराज मुल्मी लगायतले कार्यपत्र प्रस्तुत गर्ने छन्।

सार्वजनिक लेखा समिति गण्डकी प्रदेशका सभापति कुमार खड्काको अध्यक्षतामा भएको सो गोष्ठीमा सार्वजनिक लेखा समिति गण्डकी प्रदेश सदस्य प्रभा कोइरालाले धन्यवाद ज्ञापन र सञ्चालन प्रदेश सांसद सावित्री गुरुङले गरेकी थिइन्। गोष्ठी दुई दिनसम्म चल्नेछ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width