इच्छाशक्ति भए व्यावसायिक कृषिकर्म गर्न सकिन्छ

रासस
चैत्र १३, २०७५
1-30102-2-IMG_8994-27012019082551-1000×0

पोखरा, १३ चैत । ‘के तपाई व्यावसायिक रुपमा कृषिकर्म गर्न चाहनुहुन्छ र पैसाको अभावमा चिन्तित हुनुहुन्छ ?’ यदि चिन्तित हुनुहुन्छ भने अब तपाईको चिन्ता हट्ने भएको छ ।

व्यावसायिक कृषिमा इच्छा भएर पनि पैसाको अभावमा समस्यामा पर्नेका लागि पोखरा महानगरपालिका–३३ मा क्रियाशील भरतपोखरी साना किसान कृषि सहकारी संस्था लिमिटेड बरदान सावित भएको छ ।

सहकारीमा गरिने सानो लगानीबाट अधिकतम फाइदा लिनसक्ने भएपछि यतिखेर यहाँका कृषक निकै लाभान्वित भएका छन् । विसं २०६९ मा दर्ता भई ३९ जना किसानबाट सञ्चालनमा आएको सहकारीमा अहिले ९०३ जना सदस्य छन् ।

सहकारीमा न्यूनतम पाँच जनाभन्दा माथिका सदस्यसहित समूहगत दर्ता गर्ने गरिएको र हालसम्म १५० वटा समूह दर्ता रहेको संस्थाका अध्यक्ष रामजीप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार सहकारीले संस्थाका सदस्यलाई पशुपालन, तरकारी, कुखुरापालन आदिका लागि ऋणप्रवाह गर्दै आएको छ ।

सहकारीमा आवद्ध जो कोही कृषक पैसाको अभावमा व्यावसायिक कृषि गर्नबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ ऋण प्रवाह गर्ने गरिएको जानकारी दिँदै उनले संस्थाबाट हाल रु चार करोड ४४ लाखको कारोबार भइरहेको सुनाए ।

संस्थाले सामूहिक जमानीमा सदस्यलाई रु एक लाखसम्म बिना धितो ऋण दिने गरेको छ भने धितोसहित रु १० लाखसम्म ऋण लगानी गर्दै आएको छ । “संस्थाले दूध र मासु प्रयोजनका लागि पशुपालन गर्ने सदस्यलाई ९ प्रतिशत ब्याजमा र कृषिजन्य उत्पादन, तरकारीखेती आदिका लागि १४ प्रतिशत ब्याजमा ऋण सहयोग दिँदै आएको छ,”– उनले भने ।
ऋण सहयोगसँगै भरतपोखरीको बाघमारासहित यहाँका विभिन्न स्थानमा कृषक व्यावसायिक कृषिमा आकर्षित हुँदै गएको उहाँको भनाइ छ । कृषकलाई सजिलोका लागि संस्थागत रुपमा रासायनिक मल खरीद गरी बिक्री वितरण समेत गर्न थालिएको उहाँले जानकारी दिए ।

संस्थाबाट मल बिक्री वितरण गर्दा किसानलाई सहज त भएको छ नै उनीहरूले बजार मूल्य भन्दा सस्तो मूल्यमा समेत पाउने गरेका छन् । बजारमा ६० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको डिएपी मल संस्थामार्फत खरिद गर्दा ५१ रुपैयाँ पर्ने गरेको जानकारी दिँदै अध्यक्ष अधिकारीले अघिल्लो वर्र्ष डिएपी, पोटास र युरिया मल २५ हजार किलो (५०० बोरा) बिक्री भएको बताए ।
साना किसान सहकारीका कारण लगानीका लागि ऋण खोज्न भौतारिनुपर्ने अवस्थाबाट किसानमुक्त भएको ओरेन्ज कृषि तथा पशु फार्मका सञ्चालक गणेशकुमार श्रेष्ठले सुनाए ।

“अब व्यावसायिक कृषिका लागि ऋण लिन बैंक नै धाइरहनुपर्ने अवस्था छैन,” उनले भने, “सहकारीमा आवद्ध भई व्यावसायिक कृषि गर्नेका लागि साना किसान सहकारी बरदान नै सावित भएको छ ।”

रोजगारीको खोजीमा विदेश तर्फ भौतारिने व्यक्तिले यही बसेर व्यावसायिक कृषिबाट मनग्य आम्दानी गर्नसक्ने बताउँदै उनले लगानीका लागि साना किसान सहकारी महत्वपूर्ण सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

साना किसान सहकारीका माध्यमबाट समूहमा आवद्ध हुने किसानबीच सामूहिक भाइचारा अभिवृद्धि हुने गरेको अर्का कृषक एवं आचार्य गाई फार्मका सञ्चालक ठाकुरप्रसाद आचार्यले बताए ।

“एक लाख रुपैयाँसम्मको ऋण प्राप्त गर्न बिना धितो सामूहिक जमानीको व्यवस्था गरेका कारण कृषक समूहमा रहनेबीच एक आपसमा मित्रता एवं सहयोगी भावनामा वृद्धि भएको छ,” उनले भने “इच्छाशक्ति हुनेका लागि लगानीमा हुने सहजताले व्यावसायिक कृषि आयआर्जनको गतिलो माध्यम बनेको छ ।”

कृषिको व्यवसायिकरण र विकासमा राज्यको महत्वपूर्ण भूमिका हुने बताउँदै आचार्यले राज्यबाट वितरण हुने अनुदान सही कृषकले पाउने गरी व्यवस्था गरिनुपर्ने धारणा राखे ।
वासुदेव पौडेल

Related News

सम्बन्धित समाचार

  • गोल्डेन सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०७९
    पोखरा। गोल्डेन बचत तथा ऋण सहकारी संस्था लि., पोखराले १४ औं वार्षिकोत्सव अवसरमा शनिबार रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा…
  • १८ औं संस्करणको लेखनाथ महोत्सव तयारी

    रामशरण नेपाली मंसिर १७, २०७९
    लेखनाथ, १७ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले पुस पहिलो सातादेखि १८ औं संस्करणको लेखनाथ महोत्सव–२०७९ गर्ने भएको छ । शनिवार…
  • एड्भान्स कुकिङ तालिमका सहभागीलाई प्रमाणपत्र

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०७९
    गोरखा । गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एक हप्ते एड्भान्स कुकिङ तालिमका सहभागीलाई हालै प्रमाणपत्र वितरण गरिएको छ । होटल…
  • पाेखरामा औद्योगिक व्यापार मेला सुरू

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०७९
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला शुक्रबारदेखि पोखरामा सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा १६ देखि २५…
  • १८ औं लेखनाथ महोत्सव : दिनहुँ छलफल र बैठक

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०७९
    लेखनाथ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ आयोजना हुने १८ औं लेखनाथ महोत्सव तयारी तीव्र…

hero news full width