भारतलाई लगातार पाँचौ पटक महिला साफ च्याम्पियनसिपको उपाधि

नारायण शाही
चैत्र ८, २०७५
SAAF Championship 1

पोखरा, ८ चैत । भारतले लगातार पाँचौ पटक महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

पाँचौ संस्करणको फाइनलमा घरेलु टोली नेपाललाई ३–१ ले पराजित गर्दै भारतले लगातार पाँचौ पटक उपाधिमाथि कब्जा जमाउन सफल रह्यो । यस संस्करणको जितसँगै महिला साफ च्याम्पियनसिपको सबै उपाधिमाथि एकाधिकार जमाएर भारतले कीर्तिमानसमेत कायम गरेको छ ।

विराटनगरस्थित सहिद रंगशालाको घरेलु मैदानमा भएको फाइनलमा नेपाल भने उपाधि जित्न असफल भएको छ । महिला साफ च्याम्पियनसिपमा नेपाल चौथो पटक उपविजेता बनेको हो । पाँचौ संस्करणको हारसँगै घरेलु मैदानमा भारतलाई हराएर इतिहास रच्ने नेपालको सपना भने पूरा हुन सकेन । महिला साफ च्याम्पियनसिपको फाइनल पुग्ने टोलीमध्ये भारतपछि नेपाल दोस्रो हो । यस पटकको संस्करणसँगै नेपाल चौथो पटक फाइनल पुगेको हो ।

फाइनलमा भारतको लागि डालिमा छिब्बर, ग्रेस डाङमेई र अन्जु तामाङले गोल गरिन् । नेपालको लागि सावित्रा भण्डारी साम्बाले एकमात्र शान्त्वना गोल गरिन् ।

पहिलो पटक नेपालमा आयोजना भएको साफ महिला च्याम्पियनसिप फाइनलमा नेपालले घरेलु दर्शक र मैदानको साथ पाएपनि त्यसको फाइदा उठाउन सकेन । उता भारत भने आफ्नै स्वभाविक खेल खेल्दै नेपाललाई घरेलु मैदानमा हराउन सफल रह्यो । नेपाललाई करिब ९ हजार दर्शकको समर्थन थियो ।
खेलको सुरुवातमा नेपालले केही अवसर बनाएपनि अग्रता लिन सकेन। २६ औँ मिनेटमा नेपालकी हिराकुमारी भुजेलले भारतकी ग्रेसलाई फल गरेपछि करिब ३० यार्डमा प्राप्त फ्रिकिकमा डालिमाले भारतको लागि उत्कृष्ट गोल गरिन् ।

नेपालले ६ मिनेटपछि नै गोल फर्काएर खेललाई बराबरी बनाइन् । ३३ औँ मिनेटमा सावित्राले पुनम जर्घा मगरले सेन्टरबाट उपलब्ध गराएको पासमा डि एरिया भित्रबाट हेड गोल गर्दै खेल बराबरी गरेकी थिइन् ।

पहिलो हाफ एक/एकको बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातदेखि नै नेपाललाई दबाबमा राखेको भारतले दुई गोल थप्यो। ६३ औँ मिनेटमा ग्रेसले गोल गर्दै भारतलाई २–१ को अग्रता दिलाइन् । सन्ध्याले उपलब्ध गराएको क्रस बलमा ग्रेसले नेपाली गोलकिपर एन्जिला सुब्लाई बिट गर्दै खाली पोष्टमा गोल गरेकी हुन् ।

नेपालमाथि हावी बनेको भारतको लागि ७७ औँ मिनेटमा मैदान छिरेकी वैकल्पिक खेलाडी अन्जु तामाङले तेस्रो गोल गरिन् । नेपालले खेलको सुरुवातदेखि नै गोलका लागि अवसरहरु बनाएपनि सदुपयोग गर्न सकेन ।

यसअघि पहिलोदेखि तेस्रो संस्करणसम्म नेपाल फाइनल पुगेपनि भारतसँग पराजित भएको थियो । चौथो संस्करणमा भने भारतले बंगलादेशलाई हराउदै उपाधि जितेको थियो। चौथो संस्करणको सेमीफाइनलमै नेपाललाई भारतले रोकेको थियो ।

यसअघि, नेपालले भारतसँग सन् २०१० को पहिलो साफको फाइनलमा १–० ले हारेको थियो । सन् २०१२ को दोस्रो साफको फाइनलमा नेपालले भारतसँग ३–१ ले हारेको थियो । सन् २०१४ को फाइनलमा नेपालले भारतसँग ६–० को फराकिलो गोल अन्तरले हारेको थियो । २०१६ को चौथो साफमा भारतले बंगलादेशलाई ३–१ ले हराएको थियो । चौथो साफको सेमीफाइनलमा भारतले नेपाललाई ३–१ ले हराएको थियो ।

साफ महिला च्याम्पियनसिप, दक्षिण एशियाली खेलकुद, २०२० टोकियो क्वालिफायर एसिया रिजन–२०१८ र हिरो गोल्डकप गरी हालसम्म भारत र नेपाल १० पटक हेड टु हेड भएका छन् । जसमा भारतले ७ खेल जितेको छ भने नेपालले एक खेल जितेको छ । दुई खेल बराबरी खेलेको छ ।

दक्षिण एसियाली खेलकुद २०१० मा भारतले नेपाललाई समूह चरणमा ५–० को पराकिलो गोल अन्तरले र फाइनलमा ३–१ ले हराएको थियो । २०१६ को दक्षिण एसियाली खेलकुदको समूह चरणमा भारत र नेपालले शून्य/शून्यको बराबरी खेलेको थियो । उक्त प्रतियोगितामा दुबै टिम फाइनल पुग्दा भारतले नेपाललाई फाइनलमा ४–० ले हराएको थियो ।

२०२० टोकियो ओलम्पिक क्वालिफायर एसिया रिजन–२०१८ मा नेपाल र भारतले शून्य/ शून्यको  बराबरी खेलेको थियो । भारतको भुवनेश्वरीमा भएको हिरो गोल्डकपमा नेपालले भारतलाई उसकै घरेलु मैदानमा २–१ ले हराएको थियो ।

भारतविरुद्ध फाइनलमा गोल गरेपछि अनु लामापछि सावित्रा नेपालको लागि सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा छिन् । अनु लामाले ३५ गोल गरेकी छन् । यस संस्करणमा कूल चार गोल गरेकी सावित्राले नेपालको लागि गोल संख्या २६ पु¥याएकी छन् । पूर्व कप्तान जमुना गुरुङलाई पछि पारेकी हुन् । जमुनाले २५ गोल गरेकी छिन् ।

फाइनलमा नेपालका लागि सावित्राले उत्कृष्ट खेल प्रदर्शन गरेकी थिइन् । सावित्राले यस साफमा खेलेको चारवटै खेलमा गोल गरेकी हुन् । उनले फाइनललगायत समूह चरणमा भुटान र बंगलादेश तथा सेमिफाइनलमा श्रीलंकाविरुद्ध एक/एक गोल गरेकी थिइन्।

यस संस्करणको प्रतियोगितामा सावित्रा भण्डारी र भारतकी ईन्दुमति सर्वाधिक गोलकर्ता बने । सावित्रा र ईन्दुमतिले यस संस्करणमा सावित्रासँगै भारतकी इन्दुमतिले समान चार/चार गोल गरे ।

प्रतियोगितामा फाइनल खेलको मोस्ट भ्यालुएभल प्लेयरको अवार्ड भारतकी डालिमा छिब्बरले जितिन् । उनले फाइनल खेलमा पहिलो गोल गरेकी थिइन् । यस्तै, बंगलादेशले ‘फेयर प्ले टिम अवार्ड’ जित्यो । समूह चरणमा भुटानलाई जितेको बंगलादेश समूह चरणमै नेपालसँग र सेमिफाइनलमा भारतसँग पराजित हुँदै बाहिरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width