रुपा गाउँपालिकाका प्रधानाध्यापकद्वारा नमूना विद्यालय अवलोकन भ्रमण

आदर्श समाज संवाददाता
फागुन ३०, २०७५
rupa edu

पोखरा, ३० फागुन । कास्की रुपा गाउँपालिकाका सम्पूर्ण विद्यालय प्रधानाध्यापकको एक दिने नमूना विद्यालय अवलोकन भ्रमण सम्पन्न भएको छ ।

गाउँपालिकाभित्र सञ्चालित ३२ ओटा आधारभूत तथा माध्यमिक सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँगै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र वडाध्यक्षहरुलाई तनुहँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको भ्रमण गराइएको हो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख भोजराज न्यौपानेले गाउँको विकास गर्ने हो भने सर्वप्रथम शिक्षा र स्वास्थ्यको विकास गर्नुपर्ने निष्कर्षसहित गाउँपालिकाले अभियान अघि बढाएको जानकारी दिए । गाउँपालिकाभित्रका विद्यालयको चौतर्फी विकासका लागि अन्य नमूना विद्यालयबाट केही सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले अवलोकन भ्रमण आयोजना गरिएको न्यौपानेले बताए ।

सिकेका सकारात्मक कुरालाई आफ्ना विद्यालयमा लगेर कार्यान्वयन गर्नसमेत प्रधानाध्यापक र अध्यक्षहरुलाई उनले आग्रह गरे । भ्रमणमा सहभागीहरुको जिज्ञासाको जवाफ दिँदै सत्यवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारीले सामुदायिक विद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने हो भने धेरै समस्याको समाधान हुने जिकिर गरे ।

विद्यालयको कुनै पनि पदमा बस्नुको उद्देश्य आफ्ना मान्छेलाई जागिर खुवाउने मात्रै भयो भने त्यो हानिकारक हुने भन्दै उनले हाम्रालाई होइन, राम्रालाई विद्यालयमा प्रवेश गराउनुपर्नेमा जोड दिए । अधिकारीले सामुदायिक विद्यालयको विकासका लागि समुदायको सहयोग, प्रधानाध्यापकको कार्यकुशलता, स्टाफको सकारात्मक समन्वय र व्यवस्थापन समितिको उचित निगरानी आवश्यक पर्ने अनुभव सुनाए । सत्यवतीको उन्नति हुनुमा अभिभावकको सकारात्मक साथ नै प्रमुख कडीका रुपमा रहेको उनको भनाइ थियो ।

विद्यालयको शैक्षिक तथा भौतिक वातावरण अवलोकनसहित आयोजना गरिएको अन्तरक्रिया कार्यव्रmममा विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले २७ सयभन्दा बढी विद्यार्थी रहेको विद्यालयमा सरकारी दरबन्दीबाहेक ४९ जना निजी शिक्षक रहेको जानकारी दिए ।

अभिभावकको सहयोगबाट विद्यालयले चौतर्फी विकासमा सहजता महसुस गरेको भनाइ पौडेलले राखे । कार्यक्रममा रुपा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष रामजी अधिकारी, रामकोट स्रोत केन्द्रका पूर्व स्रोत व्यक्ति हेमराज आचार्य, शिवालय माविका प्रअ रुपिन्द्र प्रभावी, रामकोट माविका विव्यस अध्यक्ष निर्मला सुवेदी, नवीनबाबु पौडेल, राजेन्द्र भट्टराईलगायतले जिज्ञासा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width