लिफ्ट चढेर विन्ध्यवासिनी दर्शन

विन्ध्यवासिनी देशकै अनुपम धार्मिक स्थल : राष्ट्रपति

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७५
rastrapati_Fotor

विन्ध्यवासिनी मन्दिरमा पूजा गरेर निस्किदै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्वीर : प्रकाश ढकाल/आदर्श समाज

पोखरा, २३ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीले विन्ध्यवासिनी मन्दिर देशकै धार्मिक तथा सांस्कृतिक महत्वको अनुपमस्थल भएको बताएकी छिन्। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति गठन भएपछि मन्दिर परिसरमा बनेका भौतिक संरचनाहरु देशकै नमूनाको रुपमा रहेको उनले बताइन्।

‘सुन्दर प्रकृति र विविधताले भरिपूर्ण पर्यटकीय नगरी पोखरामा रहेको विन्ध्यवासिनी भगवती शक्तिपीठ ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको अनुपम पवित्रस्थल हो,’ मन्दिरमा निर्माण गरिएको इलेक्ट्रिक भर्याङ (लिफ्ट) उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘हामी सांस्कृतिक रितिरिवाज परम्परा र प्रचलनहरु सहित अनेकतामा एकता भएको सुन्दर मुलुकका बासिन्दा हौं। जनसमुदायमा स्वःस्फूर्त रुपमा जागृत भएको श्रद्धा र आस्थाका भावनाले गर्दा ऐतिहासिक एंवम् सांस्कृतिक धरोहरहरुको संरक्षण स्वयं जनस्तरबाट हुँदै आएको छ। यसको एउटा ज्वलन्त उदाहरण विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले गरेका कार्यहरु हुन्।’

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले ज्येष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्त, श्रद्धालु भक्तजनका लागि सहज रुपमा दर्शन गर्ने व्यवस्था मिलाउनु सह्रानीय कार्य रहेको भण्डारीले बताइन्। धर्मको महत्वपूर्ण पक्ष सेवा भएको भन्दै उनले समितिले गरेका सेवाका कामले पोखराको धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरिन्।

‘समितिले सम्पदा संरक्षण र सम्बद्र्धन गर्नुका साथै ज्येष्ठ नागरिकहरुको सेवा सुविधाका लागि ज्येष्ठ नागरिक मिलन केन्द्र, गुरुकुल बहुउद्देश्यीय सभा भवन निर्माण, योग शिविर सञ्चालन गर्नु एकदमै सह्रानीय काम हो,’ उनले भनिन्, ‘धर्मको एक महत्वपूर्ण पक्ष भनेको सेवा हो। यसै भावबाट उत्साहित भएर समितिले मन्दिर दर्शनका लागि निर्माण गरिएको लिफ्टले भक्तजनलाई सहजता पुग्नेछ। यस कार्यले पोखराको धार्मिक पर्यटन प्रवद्र्धन गर्न थप टेवा पुग्ने मैले बुझेको छु।’

उक्त अवसरमा राष्ट्रपति भण्डारीले लिफ्ट निर्माणमा सहयोग गर्ने हुण्डाई मोटर कम्पनी दक्षिण कोरियाका प्रतिनिधि उपप्रमुख जोनसोन र लक्ष्मी समूहका निर्देशक सुनील श्रेष्ठलाई सम्मान गरिन्।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले धर्मबाट अनुशासन कायम हुने भन्दै विधि र धर्ममाथि आक्रमण गर्न नहुने बताए। उनले संविधानको परिपालना र कार्यान्वयनमा सबैको ध्यान केन्द्रित हुनुपर्ने सुझाव दिए।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक क्षेत्रहरुलाई प्रदेशको सभ्यता र समृद्धिसँग जोड्न नसकेको भन्दै आध्यात्मिक तथा धार्मिक र सांस्कृतिक भावना विकासमा सरकार प्रतिबद्ध रहेको बताए।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले समितिले भएको सीमित श्रोतसाधन अधिक रुपमा प्रयोग गरी मन्दिरमा उत्कृष्ट व्यवस्थापन गर्दै आएको जनाए। उनले पोखरालाई विश्वका १० उत्कृष्ट प्राकृतिक शहरमध्येको एक भएको दाबी गरे।

समितिले कोरियाली कम्पनी हुण्डाइ र नेपालको लक्ष्मी ग्रुपको आर्थिक सहयोगमा लिफ्ट निर्माण गरेको हो। लिफ्ट बनाउन १ करोड रुपैयाँ लागत लागेको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए। अपाङ्गता भएका र अशक्तलाई लक्षित गरी लिफ्ट बनाइएको उनले सुनाए।

लिफ्टमा एकपटकमा १२ जनासम्म चढ्न मिल्ने र भारवहन क्षमता ६ सय ४० किलोग्राम रहेको जनाइएको छ। लिफ्ट उद्घाटनका लागि पोखरा आइपुगेकी राष्ट्रपति भण्डारीले मन्दिरमा पूजाअर्चना पनि गरेकी थिइन्।

मन्दिरको संरक्षण र विकासका लागि २०४६ सालमा समिति गठन भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति सचिव तीर्थ श्रेष्ठले बताए। समितिले प्रदेश सरकारसंँगको समन्वयमा बोरिङको पानी निकाल्ने तयारी गरेको छ भने मन्दिर परिसरमा संकलित फोहोर व्यवस्थापन गर्न कम्पोष्ट मल बनाउने जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width