प्रदेशस्तरीय लमजुङ महोत्सव

प्रदेशको भविष्य उज्ज्वल : मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
फागुन २१, २०७५

लमजुङ, २० फागुन। वेशीसहरमा गण्डकी प्रदेशस्तरीय छैटौं लमजुङ महोत्सव शुरु भएको छ। महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे।

मुख्यमन्त्री गुरुङले महोत्सवले जिल्लाको पर्यटकीय महत्वलाई झनै उजागर गर्ने विश्वास जागृत भएको बताए। प्रदेश सरकार निजी क्षेत्र र स्थानीय तहसँग मिलेर काम गर्न चाहेको बताउँदै मुख्यमन्त्री गुरुङले लमजुङलाई अन्तराष्ट्रिय व्यापारीक केन्द्र बनाउन समेत आफू लागिपर्ने बताए।

गण्डकी प्रदेशमा वार्षिक ६ लाख पर्यटक भित्रिने गरेको बताउदै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले ३ सय गाउँमा होमस्टे सञ्चालन गर्ने योजना अनुसार फागुन २४ गते १ सय ९० वटा होमस्टे घोषणा गरिने कार्यक्रम रहेको सुनाए।

उनले लगानीमैत्री वातावरण बनाउन सके गण्डकी प्रदेशको भविष्य उज्ज्वल रहेको बताउँदै महोत्सवले लगानीमैत्री वातावरण बनाउन सहयोग पुग्ने बताए। मुख्यमन्त्री गुरुङले प्रदेशले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर योजना बनाएको जानकारी दिँदै पर्यटनको विकासबाट देशमा समृद्धि र गरीबी निवारण हुने बताए। कृषिमा आधुनिकीरण र यन्त्रिकरणसँगै कृषिको विकास हुने र त्यसपछि उद्योग क्षेत्रको विकास हुने उनले तर्क गरे। मुख्यमन्त्री गुरुङले पुरानो औद्योगिक नीति तथा मौद्रिक नीतिको पुनरावलोकन गरिनुपर्ने बताए।

उनले गण्डकी प्रदेशमा १४ प्रतिशत गरीबी रहेकोले अबको ५ वर्षमा त्यसलाई ७ प्रतिशतमा झार्ने प्रदेश सरकारको योजना रहेको दोहोर्याए। उनले भने, ‘कृषि र पर्यटनको विकास हुन सके गरीबी अन्त्य हुँदै जान्छ। रोजगार प्राप्त हुन्छ। प्रदेशले सोही अनुसारको योजना बनाएको छ ।’

कार्यक्रममा नेकपा गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश सभा सदस्य धनञ्जय दवाडी, संविधान सभा सदस्य टुका हमाल, जमिन्द्रमान घले, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवराज कोइराला, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, उद्योग वाणिज्य संघ लमजुङका पूर्व अध्यक्ष धर्मराज श्रेष्ठ, वेशीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डे, मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलगायतले महोत्सवको सफलताको कामना गर्दै पर्यटनको विकासबाट देशको विकास र समृद्धि सम्भव रहेको बताए।

कुल २ सय ५० वटा स्टल रहेको महोत्सवमा शिक्षा क्षेत्रअन्तर्गत विद्यालयस्तरीय नृत्य प्रतियोगिता, पुस्तक प्रदर्शनी तथा बिक्री कक्ष, आइटी प्रदर्शनी राखिएको संघका महासचिव कृष्णजंग गुरुङले बताए ।

यस्तै, गण्डकी प्रदेशभित्र रहेका विभिन्न लोक सांस्कृतिक प्रदर्शनी, लोकदोहोरी गीत कार्यक्रम, राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मशताब्दी विशेष साहित्यिक मेला, झाँकी तथा र्याली प्रदर्शनी, विधि मनोरञ्जनात्मक कार्यक्रम, विज्ञान प्रदर्शनी, नाटक प्रदर्शनी, सरकारी तथा गैरसरकारी निकायको गतिविधि प्रदर्शनी, गृहिणी नृत्य प्रतियोगिता हुनेछ।

लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल समारोह समिति संयोजक राजेश थापाका अनुसार साना तथा मझौला उद्योगको स्थापनामा प्रवद्र्धन गराई युवा जनशक्तिमा विदेशीनबाट रोक्न महोत्सव सञ्चालन गरिएको हो।

संघका निवर्तमान अध्यक्ष एवं पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक रामकुमार श्रेष्ठले महोत्सवमार्फत व्यवसायिक कृषि, पशुपालन र जडिबुटीको प्रवद्र्धन गरी आत्मनिर्भर बनाउने, अल्लो, अलैंची, चिया, कफी, सुन्तला र मह प्रवद्र्धन गर्ने, परम्परागत खाना महोत्सव संचालन गर्ने, होमस्टेको प्रवद्र्धनात्मक हुने बताए। महोत्सवकै अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्मान गरिएको छ। २ लाख दर्शकले अवलोकन गर्ने अनुमान रहेको महोत्सवबाट २० करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ। फागुन २९ गतेसम्म वेशीसहर–८, दनाईफाँटमा महोत्सव जारी रहनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width