पञ्चासे केबलकारमा गैरआवासीय नेपालीले ४० करोड लगानी गर्ने

रासस
फागुन १९, २०७५
maxresdefault

पर्वत, १९ फागुन । पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकार सहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले ४० करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

संयुक्त अरब इमिरेट्स (युएइ)मा भएको पर्वत समाज अन्तराष्ट्रियको बृहत भेलाका क्रममा गण्डकी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको पञ्चासे केबलकारमा लगानी गर्न गैरआवासीय नेपालीले प्रतिबद्धता जनाएका हुन् ।

पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पर्ने पञ्चासेसम्म केबलकारसहितका अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको छ ।

पञ्चासे केबलकार गण्डकी प्रदेशकै सबैभन्दा ठूलो परियोजना भएकाले विभिन्न देशमा रहेका गैरआवासीय नेपालीले लगानीको प्रतिबद्धता व्यक्त गरेको पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । देश समृद्ध बनाउने राम्रो एजेण्डामा उहाँहरुको सकारात्मक प्रतिबद्धतासहित लगानीका लागि अग्रसर रहेको आफूले पाएको शर्माको भनाइ छ ।

अध्यक्ष शर्माले दिएको जानकारीअनुसार अष्ट्रेलियामा बस्ने पर्वतेलीले रु २० करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बेलायतलगायतका युरोपेली देशबाट रु १० करोड लगानी गर्ने प्रतिबद्धता आएको छ भने पर्वत समाज कतारबाट दुई करोड, पर्वत समाज बेल्जियमबाट रु १० करोड लगानीको प्रतिबद्धता आएको छ । कास्की समाजसँग समेत छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष शर्माले जानकारी दिए ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्टले समेत परियोजनाको प्रशंसा गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी अध्यक्ष शर्माले दिए । ११ अर्ब ५० करोड लागतमा केबलकार निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजनाको ६० प्रतिशत सहुलियत कर्जाबाट र ४० प्रतिशत शेयर सङ्कलन गर्ने लक्ष्य छ ।

चार अर्ब ५५ करोड शेयरमध्ये दुई अर्ब ७३ करोड प्रवद्र्धक शेयरबाट सङ्कलन गर्ने लक्ष्य राखिएको छ । यसका लागि अहिले प्रभावित क्षेत्र, देश विदेशमा लगानी जुटाउने काम भइरहेको छ । एक अर्ब ८२ करोड भने शेयर निष्कासनबाट सङ्कलन गर्ने लक्ष्य छ ।

विसं २०७६ माघभित्रमा सम्पूर्ण प्रक्रिया पूरा गरी केबलकार निर्माणको काम शुरु गर्ने योजना छ । पञ्चासे क्षेत्रको प्राकृतिक स्वरुपलाई यथास्थानमा राखेर, पर्यटन पूर्वाधार निर्माण गर्न नगरपालिका र गाउँपालिका एवं नेपाल सरकारसँग करीब तीन हजार रोपनी जग्गा भाडामा लिने गरी प्रक्रिया अगाडि बढिरहेको कम्पनीले जनाएको छ ।

परियोजनाको सञ्चालनबाट प्रत्यक्ष वा अप्रत्यक्ष १० हजारलाई रोजगारी सिर्जना हुने अनुमान छ । सोही समूहले तनहुँको बन्दीपुरमा पनि केबलकार निर्माण गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • सिडिओलाई स्वागत, एसपीलाई सम्मान

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । होटल संघ पोखरा नेपालले कास्कीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे स्वागत तथा जिल्ला प्रहरी प्रमुख एसपी मोहनकुमार…
  • मनकामना केबुलकार ५० दिन बन्द हुने

    रासस असार ४, २०८१
    चितवन । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि…
  • विदेशमा पोखराको प्रचार गर्दै टेवान

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले पोखराको पर्यटन प्रबद्र्धनका लागि थाइल्यान्डस्थित नेपालको राजदूतावासमा अन्तरक्रिया गरेको छ ।…
  • पर्यटकीय राजधानीपछि अब के ?

    आदर्श समाज सम्वाददाता जेठ ३०, २०८१
    पोखरा । पोखरालाई गत ४ चैतमा ‘पर्यटकीय राजधानी’ घोषणा गरियो । अब पोखरालाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन र पर्यटकको आवागमन बढाउनुपर्ने चुनौती…
  • टेवान टोली विदेशतिर

    आदर्श समाज सम्वाददाता जेठ २९, २०८१
    पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोली पोखराको पर्यटन प्रवद्र्धनको कार्यक्रम लिएर विदेशतर्फ लागेको छ । टेवान अध्यक्ष…

hero news full width