सभामुख नेत्रनाथ अधिकारीसँग शपथ लिँदै मनाङ (ख) का सांसद राजीव गुरुङ (दीपक मनाङे)। तस्वीर : आदर्श समाज
पोखरा, १४ माघ। निर्वाचित भएको १४ महिनापछि मनाङ (ख) बाट विजयी राजीव गुरुङ (दीपक मनाङे) ले शपथ लिएका छन्। प्रदेशसभा भवनमा सोमबार गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले मन्त्री र सांसदहरुको उपस्थितिमा उनलाई शपथ गराएका हुन्।
सवोर्च्चको आदेशमा थुनामुक्त भएपछि शपथका लागि निवेदन बुझाएका मनाङेलाई १ महिनापछि पद तथा गोपनीयताको शपथ गराइएको हो। मनाङेले शपथका लागि गत पुस ११ गते निवेदन दिएपछि पुस २२ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर सांसदहरुसँग परामर्श लिएका सभामुख अधिकारी मनाङेलाई शपथ नगराउने पक्षमा थिए। तर पार्टीभित्रको दबाब र मनाङेसँगको भेटवार्तापछि अधिकारीले भोलिपल्टै बोली फेरे र शपथ गराउने तयारीमा जुटे।
यसअघि प्रदेशसभा निर्वाचन ऐनको दफा १६ अनुसार शपथ खुवाउन नमिल्ने प्रतिक्रिया दिएका थिए। अघिल्लो वर्ष मंसिर १० गतेको पहिलो निर्वाचनबाट उनी निर्वाचित भएका हुन्। स्वतन्त्र उम्मेदवारी दिए पनि नेकपा सहयोगमा उनले चुनाव जितेका थिए। उनलाई विजयी गराउनकै लागि एमालेले आफ्नो आधिकारिक उम्मेदवारलाई फिर्ता बोलाएको थियो। निर्वाचित भए पनि शपथ लिनुअघि नै उनी कत्र्तब्य ज्यान मुद्दामा कारागार चलान भए। नयाँ फौजदारी संहिताले १० वर्षभन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने अधिकार दिएकाले मनाङे सवोर्च्चको आदेशमा पुस ६ गते कारागारमुक्त भएका हुन्। मनाङेको शपथसँगै गण्डकी प्रदेशमा एकजना सांसद थपिएका छन्। अब प्रदेशसभामा ५९ सांसद पुगेका छन्। ६० सदस्यीय प्रदेशसभामा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सांसद टेकबहादुर घर्तीको जन्डिसका कारण निधन भैसकेको छ।
शपथपछि सभामुख अधिकारीले कानून अनुसार नै शपथ गराइएको बताए। ‘यसबारे मैले बोल्नुपर्ने केही पनि छैन। वहाँले चुनाव जित्नुभयो। निर्वाचन आयोगको प्रमाणपत्र ल्याएपछि हामीले शपथ गराउनुपर्थ्यो, गरायौं,’ सभामुखले भने, ‘सांसद गुरुङले कानूनी जटिलताका कारण केही ढिला भए पनि शपथ गराएकोमा धन्यवाद दिए। मंगलबार संसद् बैठकबाटै निरन्तर रुपमा बैठकमा आउने उनले बताए।
सांसद बनेपछि निर्वाचन क्षेत्र र समग्र प्रदेशको विकासमा ध्यान दिने गुरुङको भनाइ छ। ‘चुनावमा जाँदा यसअघिका सरकारले नगरेका काम सडक, शिक्षाको विकास गर्ने प्रतिबद्धता थियो। त्यो पूरा गर्ने हो,’ उनले भने, ‘निर्वाचन क्षेत्रभन्दा पनि प्रदेशलाई सोच्नुपर्छ। त्यसैले आफ्नो जिम्मेवारी अनुसार काम गर्छु।’
नेकपा सहयोगमा विजयी भएका उनले तत्काल कुनै पनि पार्टीमा प्रवेश गर्ने मनस्थिति नभएको बताए। ‘सरकारले राम्रो गर्ने बेलासम्म समर्थन गर्छु। नराम्रो गर्न थाले प्रतिपक्षमा बस्छु,’ उनले थपे, ‘अहिले नै कुनै पार्टीमा प्रवेश गर्ने मनस्थिति छैन। तर सरकारलाई सहयोग गर्छु।’ गुरुङले मनाङमा हाइड्रोपावर निर्माण र सञ्चालनतर्फ ध्यान दिने बताए।
विपक्षीको विरोध
अपराध नटुंगिएको मान्छेलाई शपथ गराएको भन्दै प्रदेशसभाका प्रतिपक्षी दलका सांसदहरुले चाहीँ विरोध गरेका छन् । हरेक पटकको बैठकमा उनीहरुले अदालतले फैसला नगरेसम्म शपथ गराउन नहुने बताउँदै आएका थिए।
काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले यो शपथले सदनभित्र गलत नजीर बसेको प्रतिक्रिया दिए। ‘यो विषय विशुद्ध सभामुखको क्षेत्राधिकारभित्रको कुरा हो। तर वहाँको महत्वपूर्ण समिति कार्य व्यवस्थामा सबैले नगराउने सुझाव दिएको हो,’ उनले भने, ‘राजनीति र नैतिकता हेरेर गलत नजीर बसाउन हुँदैनथ्यो। वहाँ राजनीतिक दबाबमा पर्दा सदनको गरिमा कमजोर भएको छ।’
मनाङेको शपथलाई लिएर प्रतिपक्षी तीनवटै दलले मंगलबारको सदनमा विशेष समय लिएर बोल्ने तयारी गरेका छन्।
राष्ट्रिय जनमोर्चाका संसदीय नेता कृष्ण थापाले मनाङेको शपथले संघीयताको नराम्रो धज्जी उडेको बताए। ‘इतिहासको दोश्रो कलंकित काम हो। पहिलो काम संघमा भयो,’ उनले भने, ‘शपथप्रति हाम्रो असहमति छ हाम्रो।’
नयाँ शक्तिका संसदीय नेता हरिशरण आचार्यले पनि संसद् बैठकमै विरोध गर्ने बताए। थुनामुक्तमात्रै भएको ब्यक्तिलाई शपथ गराउनु संसदीय मर्यादाभन्दा बाहिरको कुरा भएको उनको टिप्पणी छ। ‘कानूनमात्रै सबै कुरा हैन। राजनीतिक प्रश्न, कानूनी र नैतिकता तथा नजीरको प्रश्न महत्वपूर्ण हो,’ उनले भने, ‘अपराधीलाई शपथ खुवाउने सभामुख आफै कत्तिको चोखो हुनुहुन्छ यो ठूलो प्रश्न हो। यो घटनाले गण्डकी प्रदेशमा कम्युनिष्ट सरकारको अधोगति शुरु भयो। यसप्रति नयाँ शक्तिको घोरभत्र्सना छ।’
शपथ खुवाउने विषयमा सोमबार पनि कार्य व्यवस्था परामर्श समितिमा छलफल भएको थियो। बैठकमा सत्तारुढ दलले समर्थन गरे पनि विपक्षी दलले पूर्ण विरोध जनाएका थिए। शपथलाई लिएर केहीबेर चर्काचर्की समेत भएको थियो।
Related News
सम्बन्धित समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
hero news full width
मुख्य समाचार
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९