पोखरा, ६ माघ । पोखरा महानगरपालिकाले आम्दानीको श्रोत बढाउन नगरक्षेत्र भित्र आफ्नो नाममा रहेको जग्गामा सटर बनाएर भाडामा लगाएको छ । सिर्जनाचोकको कम्प्लेक्ससहित ६५ वटा सटर भाडामा छ । महानगरको नाममा महेन्द्रपुलमा ३२ वटा सटर छ भने राष्ट्रबैंकचोकमा १० वटा, मालपोत कार्यालय अगाडि ११ वटा, लेखनाथमा एउटा र सिर्जनाचोकमा ठूलो कम्प्लेक्स छ ।
तर वषौर्ं अघिदेखि भाडामा लगाइएको सटरबाट आम्दानी भने भएको छैन । साढे ३ बर्षअघिसम्म महानगरको सटर भाडा र आम्दानी रकमसमेत तथ्यांकमा भेटिँदैन । त्यसयता, ६ करोड २२ लाख ५४ हजार ५ सय ३० रुपैयाँ भाडाबापतको रकम प्राप्त हुनुपर्नेमा २ करोड ९८ लाख ४९ हजार ५ सय ८९ रुपैयाँ मात्रै महानगरको राजश्व खातामा जम्मा भएको देखिन्छ ।
राजश्व शाखाका अनुसार अझै ३ करोड २५ लाख रुपैयाँ उठ्न बाँकी छ । केही सटरको सम्झौता अघिल्लो बर्ष सकिएपनि हालसम्म पुनः सम्झौता भएका छैनन् । तत्कालीन पोखरा नगरपालिकाले अधिकांश सटर निर्माण गरेको हो । पछिल्लो समय पनि केही सटरहरु थपिएका छन् ।
सही रुपमा उपयोग गर्न सके महानगरले सटर भाडाबाट पनि राम्रै आम्दानी गर्न सक्छ । तर ४० बर्ष अघिदेखि निर्माण भएका सटरहरु अहिलेसम्म मर्मत भएको छैन भने यसको यकिन तथ्यांकसमेत महानगरपालिकामा भेटिँदैन ।
महानगरका मेयर मानबहादुर जिसीले चाहीँ सबै सटर खाली गरेर पुनः टेण्डरमा लैजाने बताए । सबै सटरको अध्ययन गर्न कार्यपालिका बैठकबाटै एउटा समिति गठन हुन्छ । विवरण तयार गरेपछि कसरी अगाडि बढ्ने भन्ने निक्यौर्ल गरौंला, उनले भने, ‘अहिलेसम्मका रेकर्ड पनि मागेका छौं । साता दिनमा रिपोर्ट निकालेर कार्यान्वयनमा लैजान्छौं ।’
भाडा बुझाउन बाँकी सटरवालासँग पनि विशेष टोली नै खटाएर भाडा असुल गर्ने जिसीले बताए । ‘महानगरले भाडा खाएर बस्ने हैन । तर भएका सम्पत्तिको संरक्षण चाहीँ गर्नुपर्छ,’ उनले अघि भने, ‘महेन्द्रपुल क्षेत्रका सटर भत्काउँछौं । अरु ठाउँका सटरहरुलाई मर्मत गरेर भाडामा लगाउँछौं ।’
२६ हजारका सटर, ६ हजारमा ठेक्का
२०७४ पुस मसान्तपछि मालपोत कार्यालय अगाडि रहेका सटरहरुको सम्झौता सकियो । त्यसपछि महानगरले अकै ब्यक्तिलाई सटर भाडामा लगायो । पुराना ब्यवसायीहरुले २ लाख १९ हजार रुपैयाँ भाडा बापतको रकम बुझाउनै बाँकी छ । पूराना ब्यवसायीसँग रकम असुल नगरी नयाँ सम्झौता गर्दा राजश्व डुब्ने खतरा बढेको राजश्वकै कर्मचारीहरु बताउँछन् । महानगरले नयाँ सम्झौता गर्दा ब्यापक आर्थिक चलखेल भएको बताइएको छ ।
‘अघिल्लो बर्षसम्म २६ हजार रुपैयाँमा ठेक्का दिईएको सटर पछिल्लो पटक ६ हजारमा सम्झौता भएका छन् । एउटै सटरमा मासिक २० हजार घटाएर नयाँ सम्झौता गरिएका छन् । भाडा घटाउनुपर्ने कुनै कारण पनि छैन,’ श्रोत भन्छ, ‘यसमा कर्मचारीकै मिलेमोतो छ । आर्थिक चलखेल नभई भाडा घट्नै सक्दैन ।’
मालपोतको अगाडि रहेको एउटा सटर र दुईवटा कोठा चाहीँ निशुल्क उपभोग भैरहेको छ । उत्तरतर्फको एउटा सटर, लेखापढी ब्यवसायीले प्रयोग गरिरहेको कोठा र छतमा रहेको अर्को एउटा कोठाको कर्मचारीकै मिलेमोतोमा भाडा नलिइएको बताइएको छ । कर्मचारीले थोरै रकम लिएर निशुल्क प्रयोग गर्न दिएको श्रोत बताउँछ ।
नयाँ सम्झौता हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेल थिए । उनी गएपछि पनि अहिलेसम्म टेण्डर गरिएको छैन । तर महानगरले चाहीँ मालपोतमा चहलपहल घटेकोले मूल्य घटाएर भाडामा दिइएको बताएको छ ।
डेढवर्षदेखि निःशुल्क सटर
महानगरको नाममा लेखनाथ अघौर्चोकमा ५ वटा सटर छ । लामो समयदेखि कसमस कम्प्युटरले सटरहरु भाडामा लिएको छ । तर भाडा सम्झौता सकिएको डेढ बर्ष भैसक्यो । अहिलेसम्म उनै ब्यवसायीले निशुल्क रुपमा सटर उपभोग गरिरहेका छन् । २०७४ असोजदेखि सम्झौता सकिएको महानगरले जनाएको छ । १९ लाख ६० हजार रुपैयाँ भाडा रकम बुझाउनुपर्ने यो पसलले १६ लाख ४४ हजार रुपैयाँ मात्रै बुझाएको छ । अझै ५ लाख हाराहारीमा भाडा रकम उठ्न बाँकी छ ।
भाडा नतिरेपछि भुक्तानी रोक्का
भाडामा लगाउनकै लागि २०७३ सालमा सिर्जनाचोकमा महानगरले कम्प्लेक्स ठड्यायो । चोकमा खुला ठाउँ राख्नुपर्ने धेरैको आवाज र मागलाई समेत बेवास्ता गर्दै ठडिएको कम्प्लेक्स अहिले जष्ट इन टाइम्स भन्ने कम्पनीले ठेक्का लिएको छ । बार्षिक ७६ लाख रुपैयाँ महानगरलाई बुझाउने गरि ५ बर्षका लागि भाडामा दिइएको हो ।
तर हालसम्म भाडा रकम महानगरले पाएको छैन । ठेक्का सम्झौता भएदेखि हालसम्म १ करोड ३३ लाख रुपैयाँ बुझाउनुपर्ने छ । भाडा रकम नबुझाएका सटरवालालाई महानगरले परिपत्र गरिसकेको राजश्व शाखाका अधिकृत रोमनाथ उपाध्यायले जानकारी दिए ।
‘ठेकेदारको नाममा पत्र लेखेका छौं । तर पत्र लिन आएको छैन,’ उनले भने, ‘भाडा नबुझाएसम्म आर्थिक भुक्तानी नदिन लेखा शाखालाई पनि निदेर्शन गरेका छौं ।’ यो कम्पनीले लेखनाथ क्षेत्रको फोहोर संकलन र महानगरभित्रका केही सडकहरुको मर्मत तथा निर्माणमा ठेक्का लिएर काम गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
गौरीशंकरमा रेडक्रस अभिमुखीकरण
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा
पोखरामा खटिए नयाँ नगर प्रहरी
नौविसे ओख्लेडाँडा टोलमा ठाकुर
hero news full width
मुख्य समाचार
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०