बस दुर्घटनामा ७ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
माघ ४, २०७५

पर्वत, ३ माघ । कुस्मा नगरपालिका– १ मालढुङ्गामा विहीवार बिहान भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । घटनास्थलमा तीन जना र अस्पतालमा उपचारका क्रममा चार जनाको मृत्यु भएको हो । म्याग्दी सदरमुकामको बेनीबाट नारायणगढतर्फ गुडेको ग१ख ६१०८ नम्बरको बस बिहान ८:३० बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा म्याग्दी पाखापानी–२ का २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–७ का ५५ वर्षीया अमिसरा पुन र २२ वर्षीय जीवन विक, सोहि गाउँपालिका–८ का ४० वर्षीया सेती परियार र उनका श्रीमान् ५० वर्षीय टिके परियार, चितवन भरतपुर महानगरपालिका–८ का ४१ वर्षीय सुब्बे परियार तथा बाग्लुङ नगरपालिका–४ कुँडुलेका ४८ वर्षीया शान्ती केसी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते नौ जनालाई हेलिकप्टरमार्फत काठमाडाँै लगिएको छ । जसमध्ये सात जनाको छाउनी अस्पताल र दुई जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

उपचारका लागि काठमाडौँ लगिनेमा कालिकोट महावल गाउँपालिका–४ का राजबहादुर सिंह, म्याग्दी बेनी–८ का ६३ वर्षीय लक्ष्मीप्रसाद विक, सोही ठाउँका दीपेन्द्र विक, पर्वत जलजला–८ का प्रवेशिका पौडेल र उनका भाई सात वर्षीय प्रमाण पौडेल, चितवन लङ्पुरका ४५ वर्षीय रोहिडीप्रसाद चापागाईं, सोही ठाउँका कृष्ण पौडेल तथा बेनी नगरपालिका–७ की मन्दिरा पौडेल रहेका छन् ।

घाइतेमध्ये २२ जनालाई उपचारका लागि पोखरा लगिएको छ । पोखराका विभिन्न अस्पतालमा उपचार हुने घाइतेमा जलजला गाउँपालिका–८ का विक्रम रेग्मी, कमला रेग्मी, कुशल रेग्मी, कास्की पोखरा–३३ का लक्ष्मी बोहरा, सोही ठाउँका दिपिका बोहरा, कास्की अन्नपूर्ण–४ बस्ने चन्द्रा आचार्य, सोही ठाउँका सात वर्षीय बालक शङ्कर पौडेल, जलजला–७ का विषमाया पुन, कुश्मा नगरपालिका–९ का बस चालक रमेश पराजुली रहेका छन् ।

यसैगरी जलजला गाउँपालिका–७ का उदिवर तिलिजा, कमल पौडेल र बालकृष्ण पौडेल, म्याग्दी बेनी–७ का टेकबहादुर पुन, हेमकला रेग्मी र सुन्दरी पौडेल चितवन भरतपुर महानगरपालिका–४ का पूर्णकला बस्नेत, पर्वत जलजला–८ का राजन सापकोटा, देवीलाल नेपाली, दीपक परियार र तुलसी सुवेदी, धादिङका मानबहुर गुरूङ, चितवनका लक्ष्मी पौडेललाई पनि उपचारका लागि पोखरा लगिएको छ । अन्य घाइतेको धौलागिरि अञ्चल अस्पतालमै उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

म्याग्दीबाट १४ जना यात्रु लिएर छुटेको बस आधा घण्टामै दुर्घटनामा परेको हो । अन्य यात्रु भने पर्वतको जलजलाका विभिन्न स्थानबाट चढेका थिए । प्रहरीले दुर्घटना भएको आधा घण्टामै सबै बिरामीलाई अस्पताल पुर्याएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । रासस

प्रदेश प्रमुखद्वारा दुःख व्यक्त

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले बस दुर्घटनामा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण समेत गरेका छन् ।

मृतकका शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै उनले विज्ञप्तिमार्फ विभिन्न अस्पतालमा उपचार गराइरहेका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

‘यस दुःखद घटनामा तदारुकताका साथ उद्धार एवं उपचारमा खटिनुहुने सबैलाई धन्यवाद दिन चहान्छु विज्ञप्तिमा भनिएको छ,‘बेलाबेलाल सवारी दुर्घटनाका कारण ठूलो जनधनको क्षति हुँदै गएको अवस्थामा सजगताका साथ सवारीसाधन संचालन गरी दुर्घटनाबाट जोगिन सरोकारवालासँग अपेक्षासमेत गर्दछु ।’

Related News

सम्बन्धित समाचार

hero news full width