पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र बनाइने

आदर्श समाज सम्वाददाता
पौष २०, २०७५

पोखरा, १९ पुस। पोखरा महानगरपालिकामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको तयारी गरिएको छ। राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले पोखरामै सम्मेलन केन्द्र बनाउन जग्गा खोजी गरिरहेको छ। बिहीबार सम्मेलन केन्द्र विकास समितिले महानगरको टोलीसँग प्रारम्भिक छलफल गरेको छ ।

समितिले पोखराको प्रदर्शनी केन्द्रलाई बढी प्राथमिकतामा राखेर छलफल अघि सारेको छ भने महानगरले लेखनाथको माछापोखरीमा बनाउन प्रस्ताव गरेको छ। केही समयअघि अध्ययन टोलीले माछापोखरी, सिलिङगे र प्रदर्शनी केन्द्र उपयुक्त ठाउँ भनि प्रस्ताव गरेको थियो। सोही प्रस्तावका आधारमा प्रदर्शनी केन्द्र भएको जग्गालाई उपयुक्त भनि महानगरसँग स्वीकृति मागेको छ। ‘माछापोखरीमा मत्स्य केन्द्र छ। त्यसलाई त्यही स्वरुपमा अघि बढाउनुपर्छ। सिलिङगेमा वातावरणीय समस्या आउन सक्छ,’ सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निदेर्शक पुरुषोत्तम अमात्य भन्छन्, ‘प्रदर्शनी केन्द्र सबै हिसाबले उपयुक्त छ। हामीलाई यही जग्गा चाहिन्छ।’

उनका अनुसार सम्मेलन केन्द्र निर्माणका लागि कम्तीमा ६० रोपनी जग्गा चाहिन्छ। तर प्रदर्शनी केन्द्रमा पनि आवश्यकता अनुसारको जग्गा पुग्दैन। प्रदर्शनी केन्द्रमा ४५ रोपनी मात्रै जग्गा सरकारी स्वामित्वमा छ। ‘अण्डरग्राउण्ड पार्किङ र आधुनिक भवन निर्माण गरेपछि यही जग्गा पनि पर्याप्त हुन्छ,’ उनले भने, ‘अहिले यही जग्गामा सम्मेलन केन्द्र बनाउँछौं र विस्तारै अन्य क्षेत्र खोजौंला।’

उनले सिलिङगे  र अन्य डाँडाहरुमा रिसोर्ट तथा होमस्टे सञ्चालन गरेर सम्मेलन केन्द्रमा आउने पाहुनालाई डाइभर्ट गर्न सकिने बताए। तर महानगरका मेयर मानबहादुर जिसीले चाहीँ शहरी चाप बढी हुने ठाउँमा भन्दा अलि शान्त ठाउँ सम्मेलन केन्द्रका लागि उपयुक्त हुने बताए। ‘माछापोखरी शहरी कोलाहल बाहिर छ। शहरबाट खासै टाढा पनि छैन र सुरक्षा दृष्टिले पनि राम्रो छ,’ उनी भन्छन्, ‘पर्याप्त जग्गा छ। पछि कुनै संरचना थप्नुपरे पनि जग्गाको अभाव हुँदैन। सबैभन्दा उपयुक्त ठाउँ यही हो।’

उनका अनुसार माछापोखरीमा २ सय रोपनीभन्दा बढी जमिन सरकारी स्वामित्वमा छ। ‘महानगरले विकासलाई विकेन्द्रिकरण गर्ने नीति लिएको छ । भएभरका संरचना यहीँ राख्नु उपयुक्त नहोला,’ जिसीले थपे, ‘प्रदेश सरकार छ। उसका कार्यालय थपिएलान्। महानगरका अरु संरचना पनि बनाउनुपर्छ। त्यसैले केही खालि ठाउँ पनि सुरक्षित राख्नुपर्छ।’

मेयर जिसीले प्राथमिकताका आधारमा जग्गा सिफारिस गरेर पठाउने बताए। तर यसअघि पोखरा २६ सिलिङगेमा सम्मेलन केन्द्र निर्माण गर्ने प्रारम्भिक तयारी थियो। एउटा टोलीले सम्मेलन केन्द्र निर्माणको सम्भाव्यता अध्ययन गरेको थियो । करिब ५ सय रोपनीभन्दा बढी जग्गा स्थानीयले निःशुल्क सरकारलाई दिन राजी भएका छन्। उपत्यका नगर विकास समितिले पनि सिलिङगेमा सम्मेलन केन्द्र बनाउन उपयुक्त भनि सिफारिस गरेको थियो।

सम्मेलन केन्द्र निर्माणका लागि प्रदेश सरकारले पनि विशेष चासो दिएको छ। प्रदेश सरकारको पहिलो बैठकबाटै अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने निर्णय गरेर बजेट समेत विनियोजन गरिसकेको छ। आगामी ५ वर्षभित्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने लक्ष्य सरकारको छ ।

Related News

सम्बन्धित समाचार

  • रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड

    धनबहादुर गुरुङ जेठ १५, २०८०
    पोखरा । गणतन्त्र दिवसका दिन फेवा किनारको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिने सूचना केही हप्ता अघिदेखि नै सञ्चार माध्यममार्फत्…
  • कौसी खेतीमा पोखरा महानगरको जोड

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । पोखरा महानगरपालिकाले आगामी वर्षको बजेटमा कौसी खेती र करेसा खेतीलाई जोड दिने बताएको छ । पोखरा महानगरपालिकाकी उपप्रमुख…
  • चापापानी टोल विकासमा प्रेम

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । पोखरा महानगरपालिका १२ चापापानी टोल विकास संस्थाको आमभेलाले प्रेमबहादुर कार्कीको अध्यक्षमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ…
  • सिर्जनशीलमा प्राज्ञिक लेखन र भाषा साहित्य गोष्ठी

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराको आयोजनामा जेठ १२ र १३ गते प्राज्ञिक लेखन कार्यशाला तथा भाषा साहित्य विषयक गोष्ठी…
  • सेतीकालीको प्रथम मुखपत्र विमोचन

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । सेतीकाली साहित्य संगम भीमादले नव वर्षको अवसरमा सेतीकाली साहित्य यात्रा प्रथम मुखपत्र विमोचन गरेको छ । गीतल प्रतिष्ठान…

hero news full width