भूकम्पपीडितद्वारा अनुदान नपाएको गुनासो

आदर्श समाज सम्वाददाता
पौष २, २०७५

लमजुङ, १ पुस। लमजुङका भूकम्पपीडितले अनुदान रकम समयमा नपाएको भन्दै गुनासो गरेका छन्। भूकम्पले घर भत्काएपछि चको ब्याजदरमा ऋण काढेर पुनःनिर्माण गरेका उनीहरूले मापदण्डअनुसार घर नबनेको भन्दै अनुदान नपाएपछि समस्यामा परेको गुनासो गरेका हुन्।

वेशीसहर नगरपालिकाद्वारा तिलाहारमा आयोजित ‘जनताको आवाज मेयरको जवाफ, भूकम्प पुनर्ःर्निर्माण तथा सेवा प्रवाह र स्थानीय विकास निर्माणको सवाल’ विषयक सार्वजनिक सुनुवाइका सहभागीले यस्तो गुनासो गरेका हुन्।

‘भूकम्पले घर भत्काएपछि ओत लाग्ने ठाउँ भएन, सरकारी अनुदान समयमा आएन न त प्राविधिक आए। त्यसपछि अनुदानको आशामा महँगो ब्याजदरमा ऋण लिई आफैँ पुनःनिर्माण गरियो तर ऐले प्राविधिक मापदण्ड पुग्दैन भन्छन्,’ वेशीशहर-११ का ५६ वर्षीय हरिकृष्ण तिवारीले गुनासो पोखे। उनी भन्छन्, ‘बस्ने ठाउँ नै नभएपछि ऋण काढेर साढे ८ लाखमा ४ कोठे घर बनाएँ, तर घर अझै पास भयो भनिँदैन, पास नभएकाले दोस्रो किस्ता नै पाउन सकेको छैन।’

वेशीशहर-११ की मीठु सार्कीले पनि बस्ने ठाउँ नभएपछि घर निर्माण गरे, घर बनाउँदा इञ्जिनियर थिएनन्। आफ्नो अनूकल घर बनाएँ। अहिले घरको नक्सा पास गर्न इञ्जिनियर मान्दैनन्, वडाध्यक्षले कुरा सुन्नै चाहदैनन्।’ उनले तेस्रो किस्ता पाएकी छैनन्।

लाभग्राही सूचीमा परेका यस्ता पीडितले हालसम्म पनि सरकारले घोषणा गरे अनुसारको तीन लाख अनुदान नपाएका हुन्।

पूर्व शिक्षक रुद्रनिधि तिवारीले तेस्रो किस्ता नपाएको धेरै समय भो। ‘कि पाउन्नस् भने हुन्थ्यो कति धाउने  वेशीशहर’ भन्दै प्रत्रि्रश्न गरे।

सरकारले भूकम्प प्रभावित लाभग्राही सूचीमा परेकाले पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख अनुदान पाउने कार्यविधि कार्यान्वयन गरेको छ। गुनासोपछि वेशीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले मापदण्ड अनुसार निर्माण गरिएका घरलाई रकम दिन कुनै समस्या नहुने बताए। उनले भने, ‘नगरपालिकाभित्र रहेका भूकम्पपीडितका समस्या समाधान गर्न नगरपालिका लागिपरेको छ।’ उनले नगरपालिकामा पहिले प्राविधिकको समस्या रहेको तर अब प्राविधिक पर्याप्त छन्, प्राविधिकबिना काम नरोकिने बताए। वेशीशहर नगरपालिका-११ का वडाध्यक्ष अच्युत वगालेले वडाभित्र भूकम्पले भत्किएका घरको पुननिर्माणलाई गति दिन आफू लागिपरेको बताए। उनका अनुसार वडाभित्रका ४ सय ४० जना भूकम्पपीडितमध्ये ४ सय २५ जनाले अनुदान सम्झौता गरेको र १५ जनाले अझै सम्झौता गरेका छैनन्। २०७२ वैशाख १२ को भूकम्पले जिल्लामा १३ हजार ९ सय ५९ घर पूर्ण रूपमा क्षति भएका थिए। त्यसमध्ये १३ हजार ३ सय १९ घर पुनःनिर्माणको सम्झौता भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका फोकलपर्सन शिव रेग्मीले बताए। जिल्लामा ६ सय ४० लाभग्राहीले अझै अनुदान सम्झौता गरेका छैनन्, सम्झौता भएकामध्ये १३ हजार ३ सय १९ परिवारले पहिलो किस्ता लिइसकेका छन्। जिल्लाका ५ हजार ४५ जनाले दोस्रो किस्ता र ८ सय ५१ जना पीडितले तेस्रो किस्ता पाएको रेग्मीको भनाइ छ। पहिलो किस्ता लिएका ७ हजारले निजी आवास पुनःनिर्माण कार्य शुरु गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width