‘सहकारीमा जोखिम न्यूनिकरण आवश्यक’

आदर्श समाज सम्वाददाता
कार्तिक १५, २०७५
sahakari_Fotor

पोखरा, १४ कात्तिक।  बचत तथा ऋण सहकारी संस्थाहरुको जोखिम न्यूनिकरण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

नेपाल सरकार भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालय, सहकारी विभागको सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड पोखरा फिल्ड कार्यालयले पोखरामा वुधवार आयोजना गरेको सहकारीहरुको जोखिम विश्लेषण कार्यशाला गोष्ठीमा सो विषयमा जोड दिइएको हो ।

प्रमुख अतिथि पोखरा महानगरपालिकाका वडा ८ अध्यक्ष रुद्रनाथ बरालले सहकारीमा भएका समस्याहरुको व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको बताए। उनले केन्द्र, प्रादेशिक र स्थानीय तहले निर्माण गरेको नियमावली बाझिएको अवस्थामा नेफ्स्कुनसँग सहकार्य गरी अगाडि बढ्ने बताउँदै सहकारी मर्म अनुसार जोखिम न्यूनिकरण र यस क्षेत्रमा देखिएका समस्याप्रति समन्वय गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रममा अध्यक्षको आसनबाट संघका गण्डकी प्रदेश संयोजक भीम गुरुङले सहकारीलाई निरन्तर सुपरीवेक्षण र अनुगमन मार्फत कुनै प्रकारको जोखिमरहित बनाउनु नै नेफ्स्कुनको मूल ध्येय रहेको बताए।

संघका सदस्य विभाग प्रमुख एवम् प्रशिक्षणका सहजकर्ता दुर्गा ढकालले सहकारी सञ्चालनमा सहजता ल्याउनमा कार्यक्रमले विशेष भूमिका खेल्ने बताए।

पोखरा फिल्ड कार्यालयका कार्यक्रम संयोजक नवराज काफ्लेले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यालयका सह-संयोजक नारायणप्रसाद आचार्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा ८ र १७ का ३८ जना सहकारीकर्मीको सहभागीता थियो।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. पोखरा फिल्ड कार्यालयले आगामी सोमबारसम्म सहकारीका विविध विषयमा सरोकारवालाबीच छलफल चलाउने छ।

जसअन्तर्गत प्रदेशस्तरीय ऐन नियमावली तथा सहकारीको कोष विषयक छलफल, नेफ्स्कुनको बोर्ड बैठक, कास्की बचत संघका पदाधिकारी र प्रोब्यावसन तथा जोखिममा आधारित सुपरीवेक्षण गोष्ठीमा आबद्ध भएका र हुन चाहेका संस्थाका अध्यक्ष र व्यवस्थापकबीच अन्तक्रिर्या, सहकारीसँग नेफ्स्कुन कार्यक्रमअन्तर्गत विभिन्न सहकारीको स्थलगत भ्रमण गरी अनुभव आदानप्रदान, सहकारीका लेखा सुपरीवेक्षण समितिलाई आन्तरिक सुशासन र लेखापरीक्षणबारे अभिमुखीकरण लगायत कार्यक्रम हुने प्रदेश संयोजक भीम गुरुङले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width