बन्धुत्व जगाउँदै भाट समुदाय

आदर्श समाज सम्वाददाता
असाेज २९, २०७५
Ranabhat Samaj 1 (1)_Fotor

२०४२ सालमा स्थापना भएको रानाभाट सेवा समिति पछिल्लो समय क्रियाशील रहँदै आएको छ।

२०६२/०६३ को जनआन्दोलनपछि २०६५ सालमा शेरसिंह भाटको नेतृत्वमा केन्द्रमा सामाजिक गतिविधिमा क्रियाशील रानाभाट सेवा समाजले आफ्ना बन्धुबीच बन्धुत्व जगाउने आशा देखाएको थियो नै।

समयको कालखण्डमा स्याङ्जा भाटखोलाका कृष्णबहादुर रानाभाट, ठूलाडिहीका गौतम रानाभाट र विष्णु रानाभाटको नेतृत्वमा क्षेत्रियस्तरमा पछिल्लो पुस्ता जागेपछि समाजका प्रगतिका पाइला दिनप्रतिदिन अगाडि बढेका छन्।

२०६५ पौष १४ गते प्रारम्भिक, माघ १२ गते तदर्थ तथा फाल्गुन २४ गते प्रथम अधिवेशनबाट तोयबहादुर भट्टराई भाटले पश्चिमाञ्चल क्षेत्रीय समितिको नेतृत्व लिएसँगै सेलाएको समाजको मुहार फेरिएको मात्रै होइन जाज्वल्यमान बनेर चम्किरहेको छ।

कुरोको चुरो केन्द्र र जिल्लास्तरमा निस्क्रिय जस्तै समाजलाई २०६५ सालमा तनहुँका रमेश रानाभाट (विकास) ले डाँफे विमान बनाएपछि प्रारम्भिक भेला गराउन प्रेरणा जगाएको सन्दर्भ भने बिर्सन हुँदैन। कृष्ण र गौतमको कार्ययोजना समाजका लागि तीन ‘स’ सङ्गठन-समाजघर-सहकारी तथा युवापुस्ताका लागि सङघर्षमा कलम साहित्य समाज, सङघर्षमा कलम पत्रिका र सङघर्षका पाइला कृति प्रकाशनको अवधारणाले समाज पुनर्जागरणसँगै हाल नेपालभरिका भाटबन्धु एकजुट मात्रै होइन एक ढिक्का भएका छन्।

समितिले तत्कालीन पाँचै विकास क्षेत्र र विभिन्न जिल्लामा समाज गठन गरिसकेको छ। पश्चिमाञ्चलका नौ जिल्लामा जिल्ला र विभिन्न एकाइ समिति गठन गरेको समितिले कास्की जिल्लामा १७ एकाइ समिति गठन गरेर पुनर्जागरण कालका योजनालाई पूर्णता दिइसकेको छ। सङ्गठनपछि सहकारीमा लागेको समाजले कास्की जिल्ला कार्य क्षेत्र रहेको पवित्र बचत तथा ऋण सहकारी सञ्चालन गरेको छ। जसका माध्यमबाट सातसय बढी शेयर सदस्यलाई गोलबन्द गरेर बन्धुबान्धवको आर्थिक समृद्धिमा टेवा पुर्‍याउँदै आएको छ।

विस्तार भएको सङ्गठन र सहकारीको स्थायित्वका लागि लेखनाथको कालिकाचोकमा ओम, वसन्त, र शिव बञ्जरा भाट दाजुभाइबाट प्राप्त एक रोपनी तीन आना जग्गामा क्षेत्रीय समितिले बहुउद्देश्यीय समाजघर निर्माण कार्यलाई यतिवेला अगाडि बढाइरहेको छ। समाजको केन्द्रीय कार्यालय भक्तपुरको बालकोटमा रहे तापनि क्षेत्रीय समितिले निर्माण थालेको उक्त भवनलाई निकै चासोका रूपमा लिइएको छ।

चार तलाको उक्त भवन निर्माणका लागि स्वेच्छिक सहयोगबाटै निर्माण कार्य अगाडि बढिरहँदा झण्डै डेढ करोड खर्च भइसकेको छ। भवन निर्माणका लागि पश्चिमाञ्चल क्षेत्रीय समितिबाट सात लाख, समाजसेवी तीलक रानाभाटबाट पाँच लाख, ४६ जना भाटबन्धुबाट एक लाख बीस हजारदेखि एक लाख ५० हजार, र दुर्इ सय ८० भाटबन्धुलगायत अन्य वन्धुबान्धवबाट स्वेच्छिक सहयोग प्राप्त भएको निर्माण समिति संयोजक ठाकुर रानाभाट बताउछन्।

अब भवनलाई सुविधा सम्पन्न रूपमा पूर्णता ६०, ७० लाख लागत लाग्ने अनुमान निर्माण समितिको रहेको छ।

भवन निर्माण समितिले सोही जानकारी गराउन समितिसहित पवित्र बचत तथा वडा इकाइ २६ को संयुक्त आयोजनामा शनिवार प्रगति विवरण प्रस्तुत, बन्धुबान्धव भेटघाट, रकम ग्रहण तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।

समारोहका प्रमुख अतिथि समाजसेवी तीलक रानाभाटले असल कामका लागि असलै विचार र संगत चाहिने बताए। अतिथि रानाभाटले आफ्ना बुबाआमाको नाममा समाजमा कक्ष बनाउने सन्दर्भलाई जोड्दै सभ्य समाजमा मात्रै आफ्नो पहिचान स्थापित हुने भएकाले मन, वचन र कर्मलेसहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे।

भवन निर्माण समितिका संयोजक ठाकुर रानाभाटले समितिले न्यूनतम पाँच हजार पाँच सय ५५ देखि माथि सहयोग गर्ने दातालाई रकम अनुसार योगदानको कदर गर्ने र पाँच लाखमाथि सहयोग गर्ने दाताले इच्छाएको व्यक्तिका नाममा कक्ष स्थापनासहित शीलालेखमा नाम सङ्गृहीत गराउने जनाए।

जग्गादाता दाजुभाइद्वय ओम बञ्जरा भाट र वसन्त वञ्जरा भाटले समाजले दाताको अपेक्षा अनुरूप कार्य गरेकोमा समितिलाई आभार व्यक्त गर्दै दुर्इ दिनको भौतिक शरीर भन्दा समाजमा कोरिएको जीवन्त इतिहासले मानव चोलालाई कालजयी बनाउने बताए।

विभिन्न दाताले निर्माण समितिलाई रकम हस्तान्तरणसमेत गरेको कार्यक्रममा भवन निर्माण समितिका सचिव कृष्ण भाट, सदस्य राजेन्द्रकुमार रानाभाट, समाजका केन्द्रीय सदस्य नरेन्द्र रानाभाट, पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर रानाभाट, कास्की जिल्ला अध्यक्ष रमेशबहादुर रानाभाट, इकाइ २६ का अध्यक्ष नरेशकुमार रानाभाट, पवित्र सहकारीका अध्यक्ष शिबबहादुर रानाभाट, निवर्तमान अध्यक्ष मिना रानाभाट, नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट, परोपकार महासंघ पोखरा २६ का अध्यक्ष रेवती अधिकारी भाट, पोखरा २६ का वडा सदस्य खड्कबहादुर रानाभाट, मुक्तिनाथ बैंक बुढीबजार शाखाका प्रबन्धक रामचन्द्र रानाभाट, समाजसेवी मेजर रमेशकुमार बन्जराभाट, मोनिका रानाभाटलगायतले समाजको भवनलाई यथाशक्य छिटो सम्पन्न गर्नका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width