पदमार्गका मजदूर आन्दोलित

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७५
Pada Marga Majdur

पोखरा, ११ असोज । पदमार्ग क्षेत्रको सिण्डिकेटविरुद्ध ट्रेकिङ गाइड आन्दोलित बनेका छन्। अन्नपूर्ण क्षेत्र, मनास्लु र मनाङका पदमार्गहरुमा ट्रेकिङ गाइड लगायत पदमार्ग मजदूरहरुमाथि थोपरिएको सिण्डिकेटविरुद्ध आफूहरु आन्दोलित बनेको पोखरामा विहीबार आयोजित पत्रकार सम्मेलनमा मजदूरहरुले बताए ।

अन्नपूर्ण-११ टाडापानी, मनास्लु र मनाङको पदमार्ग तथा त्यस क्षेत्रको आसपासका होटल व्यवसायीहरुको मिलेमतोमा गाउँका स्थानीय युवा क्लबहरुले पदमार्ग मजदूरहरुसँग खानाको पैसा उठाएको भन्दै आफूहरु आन्दोलित बनेको उनीहरुले जनाए ।

नेपाल ट्रेकिङ-ट्राभल्स-र्‍याफ्टिङ-एअरलाइन्स पुरातात्विक-संस्कृति, कागो, कुरियर कर्मचारी मजदूर युनियन (युनिट्राभ) र अखिल नेपाल पर्यटन मजदूर संघ नेपालले विहीबार संयुक्त पत्रकार सम्मेलन आयोजना गरी उक्त कुराको जानकारी गराएको हो ।

टाडापानी देउराली कोरुङ र मनास्लु क्षेत्रमा असोज १ गतेबाट लागू हुने गरी खानाको रकम एकमुष्ठ रुपमा उठाउने र कुपन दिएरमात्र खाना खुवाउने गरी स्थानीय युवा क्लबहरुले कुपन बेच्न शुरु गरेको पदमार्ग श्रमिकहरुले बताए ।

अन्नपूर्णको भैंसीखर्क, देउराली र चुहिनेलगायतका फरक फरक ठाउँहरुमा पदमार्गमा लागेका ट्रेकिङ गाइड र श्रमिकहरुबाट प्रतिब्यक्ति लञ्च तथा डिनरका लागि भनि प्रतिछाक १ सय ५० रुपैयाँ तोकेको युनिट्राभका गण्डकी प्रदेश अध्यक्ष विजय केसीले बताए । त्यस्तै, मनास्लु क्षेत्रको पदमार्गमा हिँडेका ट्रेकिङ गाइड तथा श्रमिकहरुबाट गोरखाको जगत भन्ने चेक प्वाइन्टमा प्रतिव्यक्ति लञ्च, डिनर दुबैका लागि २ सय रुपैयाँ खानाको कुपन किन्नुपर्ने बाध्यता रहेको केसी बताउँछन् । केसीले मनास्लु क्षेत्रको पदमार्ग ७ दिनसम्म लाग्ने गरेको बताए । यसरी ७ दिनको १४ छाक खानाको पदमार्ग श्रमिकहरुले २८ सय तिर्नुपर्ने केसीले उल्लेख गरे ।

त्यसैगरी, मनाङको चामे, ताल, धारापानी, टंकी र खाङ्सारसम्मको पदमार्ग २ देखि ३ दिनसम्म लाग्ने र उक्त पदमार्गमा लागेका ट्रकिङ गाइडलगायत श्रमिकहरुले  १ सय ५० तिर्नुपर्ने बाध्यात्मक स्थिति बनाएको पदमार्ग मजदूरहरुले बताउँदै आएका छन् ।

विगतदेखि नै मर्दी हिमाल रुट र अन्नपूर्ण सर्किट अन्तरगत मनाङबाट तिलिचो पास थोरङ्लासम्मको रकम एकमुष्ठ उठाउँदै आएकोबारे सरोकारवाला संघसंस्था सबैलाई ध्यानाकर्षण गराएको मजदूरहरु बताउँछन् ।

सिर्जित समस्या समाधान गर्न यसअघि ध्यानाकर्षणपत्र बुझाएकोमा हालसम्म टान, पोखरालगायत जिम्मेवार निकायहरुबाट कुनै चासो नदेखाइएको मजदूरहरुले बताए । अन्नपूर्ण क्षेत्रअन्तर्गत टाडापानी, मनास्लु क्षेत्र र मनाङका विभिन्न क्षेत्रहरुमा मजदूरहरुले खाना खानुभन्दा पहिले नै २ देखि ७ दिनसम्मको लञ्च तथा डिनरको कुपन तिर्नुपर्ने र कुपन देखाएरमात्र खाना खान पाउने व्यवस्था तत्काल हटाउनुपर्ने माग मजदूरहरुको छ । यस्ता गतिविधिलाई तत्काल रोकेर खाना खाइसकेपछि होटलको काउण्टरमा तोकिएको न्यूनतम रकम बुझाउने व्यवस्था गर्नुपर्ने मजदूरहरुले माग राखेका छन् ।

२०७३ सालमा मजदूरहरुले गरेको आन्दोलनपछि टान, पोखराको पहलमा नेपाल सरकारको प्रतिनिधिसहित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सेञ्चुरी पर्यटन व्यवसाय समिति तथा पर्यटन मजदूरहरुबीच भएको सहमति पूर्ण रुपमा लागू गर्न मजदूरहरुको माग छ ।

माग सम्बोधन नभए असोज १५ गतेबाट पदयात्रामा कुनै पनि मजदूर नजाने, पदयात्रा गतिविधिमा रोक लगाउने र सरोकारवाला संघसंस्थाहरुमा आफ्ना माग र आन्दोलनबारे पत्राचार गर्ने कार्यक्रम छ ।

असोजको १७ गतेसम्म पनि मागको कुनै सम्बोधन नभए, पदयात्रा गतिविधिलाई जारी राखेमा टानको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने र पदयात्रामा निस्किएका मजदूरहरुलाई बाटोबाटै फिर्ता गर्ने कार्यक्रम छ ।

यस्तै, २२ गतेसम्म पनि नभए अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कार्यलयको पर्मिट काउण्टरमा तालाबन्दी गर्ने र विदेशी पर्यटकहरुलाई समेत पदयात्रा गतिविधिमा रोक लगाउने चेतावनी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width