सदनमा मुख्यमन्त्रीको ब्रिफिङ

थाकेका कर्मचारी पठाएर कसरी काम गर्ने?

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७५
prithvi

पोखरा, ७ असोज । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीकै कारण काममा समस्या भैरहेको बताएका छन् । सरकारले कर्मचारीको व्यवस्थापन ठीक ढंगले गर्न नसकेको कारण सरकारको काम प्रभावकारी सञ्चालन गर्न नसकेको उनको गुनासो छ ।

‘प्रभावकारी काम गर्न दक्ष जनशक्ति पनि चाहियो नि ? संघीय सरकारले प्रदेश सरकारलाई पठाउने जनशक्ति चाँडो पनि हुनुपर्‍यो । व्यवस्थित पनि हुनुपर्‍यो । वैज्ञानिक पनि हुनुपर्‍यो,’ गण्डकी प्रदेशसभालाई आइतबार सम्बोधन गर्दै उनले भने, ‘पेन्सन निस्किन दुर्इ महिना बाँकी, १५ दिन बाँकी, ६ महिना बाँकी भएका थाकेका कर्मचारी यहाँ पठाउने । छैन भने छ, छ भने केही पनि गर्न नसक्ने । यस्ता कर्मचारीले कसरी काम गर्ने -’

उनले केन्द्र सरकारको असहयोगका कारण देखिने गरी काम थाल्न नसकेको ब्रिफिङ गर्दै सरकारलाई आवश्यक पर्ने सबै कर्मचारीको वैज्ञानिक व्यवस्थापन गरिदिन आग्रह गरे। ‘संघले गर्नैपर्ने काममा सचेत गराउँदा कसरी घेराबन्दी हुन्छ ? संघीय व्यवस्था सफल पार्न र जनतालाई सेवा सुविधा दिन घचघच्याएका हौं । व्यवस्था बलियो बनाएर जानुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनी भन्छन्, ‘मुख्यमन्त्रीले साह्रै धेरै विरोध गर्‍यो भनेर प्रश्न पनि उठिरहेका छन् । संघ सरकारको विरोध गरेको हैन । भन्दाभन्दा र हेर्दा हेर्दा पनि केही काम नभएपछि बाध्य भएर आवाज उठाउनुपरेको हो र अहिले पनि भन्छु, प्रदेश सरकारको सफल कार्यान्वयनको लागि, गौरव बढाउनको लागि र जनताको विकासको चाहना पूरा गर्नका लागि फाँसीमा झुण्डिन पनि तयार छु ।’ मुख्यमन्त्रीहरुको भेलालाई लिएर बाहिर आएको टीका टिप्पणीप्रति उनले प्रष्टिकरण दिएका छन् ।

‘प्रदेशलाई थोरै अधिकार दिए हुन्छ भन्ने भावनामाथिका ठूला कर्मचारीसँग छ । अनि कोही रिसाउँला कि भनेर आफ्ना कुरा नभन्ने हो भने हाम्रो सुनुवाइ हुनेवाला छैन,’ उनी भन्छन्, ‘त्यसैले ७ जना मुख्यमन्त्रीहरुले सल्लाह गरियो। बिरालोको घाँटीमा घण्टी झुण्ड्याउनै पर्‍यो भन्ने भयो अनि घण्टी झुण्ड्याउने हिम्मत मैले गरेको हो ।’ साढे दुर्इ घण्टाभन्दा बढी सम्बोधन गरेका उनले आफ्नो अधिकार क्षेत्रभित्र रहेका कार्यालय र सम्पत्ति पनि प्रदेश सरकारको मातहतमा नआएको बताएका छन् । उनले जनतालाई विकास छिटो चाहिएकोले अब कुर्न नसक्ने बताए। ‘नेपालका ठूलाठूला मान्छेहरु के बितेको छ र विस्तारै जाउँला नि भन्छन् । उखानै छ, भोकले वारी खाउँ भन्छ र अघाएकाले पारी खाउँ भन्छ,’ उनले थपे, ‘हामी भोकै छौं । त्यसैले चाँडै काम गर्नुपरेको छ । त्यसैले हामीले ढिलो भयो भनेका हौं ।’

यसैबीच, गण्डकी प्रदेशको बर्खे अधिवेशन आइतबार सकिएको छ । आइतबारको बैठकमा प्रदेश प्रमुख बाबुराम कुवँरले पत्र पठाएर अधिवेशन रोक्न आग्रह गरेका हुन् । दशैं तिहारपछि मात्रै हिउँदे अधिवेशन चलाउने तयारी बुझिएको छ । सरकारले यो अधिवेशनमा चालु वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएको छ। तर खासै उल्लेख्य काम भने गर्न सकेको छैन ।

रेडलाईट एरिया बहसका लागि मात्रै

मुख्यमन्त्री गुरुङले बहसका लागि मात्रै रेडलाईट एरियाको कुरा उठाएको बताएका छन् । सदनमा पटकपटक प्रश्न उठेपछि उनले आफू रेडलाईट एरिया बनाउने वा नबनाउने पक्षमा नरहेको भन्दै बहसका लागि मात्रै प्रस्ताव गरेको बताएका हुन् । ‘माग चाहीँ छ भित्रभित्रै, यहाँ अब्यवस्थित यौन ब्यवसाय छ यसलाई ब्यवस्थित गर्नुपर्‍यो भन्ने । समाज दुर्इतिर बिखण्डित हुँदै गयो । कुहिँदै गयो । हाम्रो नैतिकता, हाम्रो मौलिकता चाहीँ कमजोर भयो भनेर मैले अब बहस गरौं भनेको हो,’ उनले भने, ‘मैले नारीलाई मात्रै लक्षित गरेको हैन । मलाई यो शब्द प्रयोग गर्दा माफी दिनुहोला, समाजमा वेश्याहरु त पुरुष पनि हुन्छन् नि महिलामात्रै हुन्छन् र ? थर्ड जेण्डरहरु पनि छन् । त्यसैले कुनै जेण्डरप्रति र वर्गप्रति लक्षित होइन।’

यौनधन्दा समाजको एउटा कलंकको रुपमा चित्रित गर्दै उनले नियमभित्र ल्याउनुपर्ने धारणा राखे । विश्वमा पनि यसका आ-आफ्नै अभ्यास भएकोले त्यसतर्फ अब बहस चलाउनुपर्ने उनले दोहोर्‍याए । ‘यौन ब्यवसायबारेमा संसारमा धेरै अभ्यास छन् । एउटा भनेको प्रतिबन्ध लगाउने हो । दोश्रो जे-जे अपराध भए पनि छोडिदिने हो । तेश्रो कानून निर्माण गरेर रेगुलेसन गर्ने कुरा रहेछ । र, अन्तिममा निर्मूल गर्ने अभियान सञ्चालन गर्ने भन्ने कुरा छ,’ उनले उदाहरण दिँदै भने, ‘चारमध्ये एउटा त हामीले पनि गर्नेपर्छ । हामीलाई जे उचित लाग्छ त्यसैमा बहस चलाऔं भनेको हो । रेगुलेसनको बारेमा मैले आइडेन्टी कार्ड दिएर सञ्चालन गर्न दिने कुरा भनेको थिएँ ।’

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width