उद्योगी, व्यवसायीको सच्चा पहरेदार बन्छौं : अधिकारी

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७५

पोखरा, ३० भदौ ।पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनमा प्यानलै उम्मेदवारी घोषणा गरेको समावेशी व्यवसायी समूहले उद्योगी व्यवसायीको सच्चा पहरेदार बन्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

पोखरा उद्योग वाणिज्य संघको आउँदो असोज ५ र ६ गते हुन गइरहेको निर्वाचनमा उम्मेवारी घोषणा गरेकाहरुका लागि निर्वाचन समितिले शनिबार राखेको ‘उम्मेद्वार परिचय’ कार्यक्रममा बोल्दै सो समूहका उम्मेदवारहरुले आफूहरु बिजयी भए जिन्दगीभर उद्योगी, व्यवसायीको सच्चा पहरेदार बन्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

समावेशी व्यवसायी समूहका अध्यक्षका उम्मेदवार दामु अधिकारीले उद्योगी, व्यवसायी र उनीहरुका समस्या समाधानको चौकीदार बन्ने बताउँदै भने, ‘उद्योगी, व्यवसायीको निम्ती र उनीहरुको समस्या समाधानका लागि हामी सच्चा पहरेदार बन्नेछौं । अझ भनौं चौकीदार बनेर काम गर्नेछौं ।’

पोखरा उद्योग वाणिज्य संघमा बिताएका ६ वर्ष र सामाजिक क्षेत्रमा गरेका अनगिन्ती कामहरुको अनुभवलाई संस्थागत गर्न आफू अध्यक्षको उम्मेदवार भएको प्रष्ट पारे ।

पोखरा प्रदेशको राजधानी मात्र हैन, पर्यटनको पनि राजधानी भएकाले पोखरा उद्योग वाणिज्य संघको कार्यक्षेत्र पनि फराकिलो भएकाले त्यो सोंच र कार्यान्वयन गर्न सक्ने व्यक्ति नेतृत्वमा आउनुपर्ने उनले तर्क गर्दै उनले भने, ‘हिजो पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा अग्रजले आन्दोलन गरेर पोखरा अन्तराष्ट्रिय विमानस्थल बन्ने निश्चित भो, भोलिका दिनमा यस्ता आन्दोलन अझ धेरै गर्नु छ । त्यसैले ति आन्दोलनको नेतृत्व गर्नका पनि मेरो उम्मेद्वारी हो ।’

अध्यक्षका उम्मेदवार अधिकारीले सरकारले ल्याएका योजना सफल बनाउन पोखरा उद्योग वाणिज्य संघले साझेदारी गर्ने, राष्ट्रिय गौरवलगायतका कार्यहरु राम्रोसँग नगरेमा खबरदारी गर्ने तथा उद्योगी, व्यवसायीको ढाड सेक्नेगरी बृद्धि गरिएको कर बृद्ध्रि्रति खबरदारी गर्नपनि आफू अध्यक्ष बन्न आवश्यक रहेको उनको भनाई थियो ।

संघमा निर्वाचित भएपछि गर्ने कामको योजनासहित अघि बढेका अधिकारीले अरुलेजस्तो लाभको पद पाए बिचमै छाडेर नजाने घोषणा गरे । उनले भने, ‘म बिजयी भएमा लाभको पद पाएँ भन्दैमा उद्योगी व्यवसायीलाई बिचल्ली पारेर भाग्दिनँ, त्यसरी कहिल्यै बिचल्लित हुन्नँ ।’

सोही समूहका बरिष्ठ उपाध्यक्षका उम्मेदवार यदुनाथ अधिकारीले पोखरामा आउने खानेपानीको मुहान सफा पार्न त्यहाँ शव दहन निर्माणको सफलतापूर्वक जिम्मेवारी पूरा गरेको बताउँदै अब पोखरेलीलाई सफा पानी खुवाउने हो भने अहिलेको मुहान भन्दा ४ किलोमिटर माथी लैजानुपर्ने भएकाले सो कार्य सम्पन्न गर्नका लागि आफू उम्मेद्वार भएको स्पष्ट पारे ।

उद्योगतर्फका उपाध्यक्षका उम्मेदवार गीता तिवारी गौतमले टोलटोलमा महिला उद्यमशीलता अभियान चलाएर महिला उद्यमी जन्माउन आफूले उम्मेद्वारी दिएको बताइन् ।

वाणिज्यतर्फका उम्मेद्वार यमनाथ पौडेलले घरधनी र घर भाडामा लिनेबीच दूरी बढ्दै गएको बताउँदै आफू घर भाडा सरोकार समितिको अध्यक्ष भइसकेकाले अब पोखरा उद्योग वाणिज्य संघमा गएर घरधनी र घरभाडामा लिनेबीच नङ र मासुको सम्बन्ध बनाउन प्रयत्न गर्ने बाचा गरे ।

साथै उनले समस्यामा परेका उद्योगी/व्यवसायीलाई कानूनी सल्लाह र स्वास्थ्य ब्यबसायीसमेत भएकाले त्यस क्षेत्रमा पनि उल्लेख्य कार्य गर्ने बताए ।

समावेशी व्यवसायी समूहकै तर्फका महासचिवका उम्मेद्वार किसान सुनारले युवा पलायन रोकेर देशमै स्वरोजगार सृजना गर्नका लागि आफ्नो उम्मेद्वारी भएको बताए ।

पोखरा उद्योग वाणिज्य संघ र यसमा आबद्ध उद्योगी, व्यवसायी बिचको दुरी बढ्दै गएकाले त्यो घटाउने आफ्नो सपना भएको बताउँदै उनले भने, ‘संघ र संघमा आबद्ध उद्योगी, व्यवसायीबीचको दूरी घटाउने मेरो सपना हो ।

संघ र उद्योगी, व्यवसायीलाई एउटैमा गाँस्ने मभित्र हुटहुटी छ । साथै हरेक उद्योगी, व्यवसायीलाई समृद्ध बनाउने मेरो सपना हो ।’

कोषाध्यक्षका उम्मेद्वार प्रेमबहादुर भुजेलले कुन व्यक्ति, कस्तो चरित्र र कस्तो क्षमता छ भन्ने मूल्यांकन गर्न आग्रह गर्दै सबै हिसाबले समावेशी, युवा, सबल र सक्षम नेतृत्व समावेशी व्यवसायी समूह भएकाले प्यानललाई नै मत दिएर जिताउन आग्रह गरे ।

उपमहासचिवका उम्मेद्वार सीता बरालले पोखरा उद्योग वाणिज्य संघमा महिला उद्यमी समितिको संयोजक भइसकेकाले सबै व्यवसायीको हकहित र अधिकार संरक्षण गर्दै महिला उद्यमशीलतामा क्रान्ति ल्याउन आफू उम्मेदवार भएको बताइन् । उनले महिलालाई बिना धितो ऋण उपलब्ध गराउन आफूले भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

समावेशी व्यवसायी समूहका अन्य सदस्यका उम्मेदवारहरु नारायण पौडेल, डीबी भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेलले उद्योगी, व्यवसायीको पक्षमा काम गर्ने तथा संघको गरिमा जोगाई राख्न भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width