सदरमुकामकै अधिकांश पसल बिनादर्ताका

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७५

लमजुङ, १३ भदौ। जिल्ला सदरमुकाममै सञ्चालनमा रहेको अधिकांश पसल बिना दर्ताका भेटिएका छन्। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा बुधबार त्यस्तो फेला परेको हो।

वेशीशहरको सहजी बजार र मनाङे चौतारादेखि, हाइस्कूल चोकदेखि पुरानो बैँक चोकदेखि घलेगाउँ चोकसम्म गरिएको अनुगमनमा अधिकांश पसलहरू बिनादर्ताका फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले बताए।

उनका अनुसार टोलीले संचालनमा रहेका सबै पसलहरूको संयुक्त अनुगमन गरेको हो। त्यो क्रममा अधिकांश पसलहरु दर्ता बिनै संचालनमा रहेको भेटिएको थापा बताउँछन्।

सहजीबजार र मनाङे चौताराको पछाडिको कालोपत्रे सडक रहेको मकैडाँडा जाने चोकदेखि घलेगाउँचोकसम्मका पसलहरुको पहिलो पटक बजार अनुमगन भएको उपभोक्ताहरुले बताएका छन्। त्यस क्षेत्रमा पहिलो पटक अनुगमन गरिएकोले व्यवसायीहरूलाई सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले बताए। उनका अनुसार दर्ता नभएका पसललाई १५ दिनसम्म पसल दर्ता गरिसक्नु निर्देशन दिइएको छ। अन्यथा पुनः अनुगमन गरी कानूनी मान्यता नलिएको भेटिएमा कार्बाहीको दायरमा लगिने थापाले जानकारी दिए ।

अनुगमनमा अधिकांश पसलहरूमा म्याद गुज्रेको सामान भेटिएको उपभोक्त मञ्च लमजुङका अध्यक्ष डम्बरबहादुर अधिकारीले बताए। उनका अनुसार त्यस्ता सामग्री तुरुन्त हटाउन निर्देशन दिइएको छ।

यसैगरी, अनुगमनमा भेटिएका पुराना ढक तराजु हटाएर डिजिटल तराजु राख्न समेत निर्देशन दिइएको लमजुङ उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष अशोक अधिकारीले बताए। उनका अनुसार पसलमा अनिवार्य रूपमा मूल्यसूची टाँस गर्नुका साथै सामान बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रुपमा बिल उपलब्ध गराउन पनि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए। सहायक प्रजिअ थापाको नेतृत्वमा गरिएको बजार अनुगमनमा राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष डम्बरबहादुर अधिकारी, वेशीशहर नगरपालिका प्रतिनिधि शम्भु घिमिरे, घरेलु तथा साना उद्योग कार्यालयका कृष्ण जिसी, कोलेनिका प्रतिनिधि ललिता पौडेल, जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत खिलाशर्मा घिमिरे सहभागी थिए।

यसैगरी अन्यमा जिल्ला जनस्वास्थ कार्यालयका अधिकृत टेकनारायण लामिछाने, लमजुङ उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष अशोक अधिकारी, पत्रकार महासंघ लमजुङ शाखाका उपाध्यक्ष कृष्ण आले सहित प्रहरी संचारकर्मी तथा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधि अनुगमनमा सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width