बिउँतिदैं बीच भलिबल

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७५
Beach VolleyBall

पोखरा, २७ साउन । नेपालको खेलकुद क्षेत्रमै सुस्ताएको भलिबलको अर्को विधा बीच भलिबल पुन : पोखराबाट बिउँतिदै छ । प्रायशः विकसित मुलुकहरुमा समुन्द्री किनारमा खेलिने बीच भलिबल तालैतालको शहर पोखराको फेवाताल किनारबाट बिउँतदैछ ।

देशकै राष्ट्रिय खेल भलिबलको पनि फरक विधा बीच भलिबल पर्यटकीय हब पोखरा र पोखराको पनि अझै पर्यटकीय हब बैदामको लेकसाइडस्थित फेवाताल किनारको बाराहीघाटस्थित बीच भलिबल कोर्टबाट उक्त खेललाई बिउँताउने प्रयास गरिदैंछ ।

कास्की  जिल्ला भलिबल संघले यही भदौको १ देखि ३ गतेसम्म उक्त बीच भलिबल कोर्टमा अन्तर क्लब खुल्ला पुरुष बीच भलिबल प्रतियोगिताको आयोजना गर्दैछ । आयोजक भलिबल संघका अनुसार प्रतियोगितामा करिब २२ टिमले प्रतिस्पर्धा गर्दैछ ।

चौथो पटक पोखरामा बीच भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको हो । यसअघि, यही भलिबल कोर्टमा दुइपटक र बाटुलेचौरमा एक पटक राष्ट्रिय खुल्ला बीच भलिबल प्रतियोगिता बीच भलिबल प्रतियोगिता भएको थियो । यतिखेर, आयोजक कास्की जिल्ला भलिबल संघ उत्साहका साथ प्रतियोगिताको तयारीमा जुट्दैछ । प्रतियोगिताका करिब करिब अन्तिम तयारीमा पुगेको भलिबल संघले जनाएको छ । कोर्टमा बालुवा राख्ने काम र सजावटबाहेक अन्य सवै तयारी पूरा भएको प्रतियोगिता संयोजक तारानाथ पहारीले बताए ।

प्रतियोगितामा सहभागी टिम तथा रेफ्रीसंगको संयोजन, आवश्यक खर्च, ब्यानर प्रायोजन, उद्घाटन कार्यक्रमको तयारी पूरा भएको संयोजक पहारीले जानकारी दिएका छन् । संयोजक पहारीका अनुसार प्रतियोगितामा विदेशीलाई पनि सक्दो सहभागिता गराउने प्रयास गरिएको छ । पर्यटकीय हिसावले हाल पिक अप सिजनको मन्दी छाएको छ । यस्तो अवस्थामा पोखरामा हुने प्रतियोगिताले बीच भलिबलको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा सन्देश पुर्‍याउने आयोजकको विश्वास छ । प्रतियोगिताबाट पोखराको खेलकुद पर्यटनलाई अघि बढाउन चाहेको संयोजक पहारीले बताए ।

संरक्षणको अभावमा रहेको पोखरा बैदामको बाराहीघाटस्थित बीच भलिबल कोर्टको संरक्षण र र्दैुयटिफिकेसन गरिने पहारीले प्रतिबद्धता जनाए। पहारीले यसपछि सानो ठूलो बीच भलिबल प्रतियोगिताको आयोजना गर्दै जाने बताए ।

‘प्रतियोगिताको शुरु चरणमा छौं । पहिलो चरणमा आठ/दश जना विदेशीलाई समेत बीच भलिबल खेलाउने हाम्रो उद्देश्य हो,’ संयोजक पहारीले भने, ‘पोखराको लेकसाइडमा भलिबल कोर्ट छ, पछि-पछिपनि यस कोर्टमा सानो-ठूलो बीच भलिबल प्रतियोगिताहरु खेलाउन सहियो भने यहाँ स्पोर्ट्स टुरिजम अघि बढ्नेछ ।’

स्पोर्ट्स टुरिजम मार्फत आन्तरिक तथा बाहृय पर्यटकलाई आकषिर्त गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए। बीच भलिबललाई व्यवस्थित गर्न सके विदेशीहरु रमाउने पराजुलीको धारणा छ । स्पोर्ट्स टुरिजमको विकास गर्न सके पर्यटकहरु यहाँ एक रात बढि बस्न सक्ने पराजुलीले बताए।

सेनाको स्वामित्वमा रहेको बाराहीघाटस्थित नेपाल ट्रष्टको उक्त जग्गालाई बीच भलिबलका लागि छुट्याइएको थियो । पाँच वर्षअघि पोखराको वियपुरस्थित पश्चिम पृतनापति जर्णेल भिक्टर राणाले बीच भलिबल प्रतियोगिताका लागि उक्त जग्गा उपलब्ध गराएका हुन्।

‘संघले आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिने सोंचमा छ,’ पराजुलीले भने, ‘कोर्ट बेवारिसे अवस्थामा छ । यहाँको स्थानीय सरकार महानगरपालिका र प्रदेश सरकारले कोर्टको संरक्षण र व्यवस्थापन गर्नुपर्छ ।’

नेपालमै सुस्ताएको बीच भलिबल प्रतियोगिता पोखराबाट पुनः बिउँतिन लागेकोमा गण्डकी प्रदेशका लागि कास्कीबाट निर्वाचित सांसद राजीव पहारीसमेत उत्साहित छन् । आफ्नो निर्वाचन क्षेत्रमै बीच भलिबल प्रतियोगिता शुरु हुन लागेकोमा आफूलाई खुसी लागेको पहारी बताउँछन् ।

‘प्रतियोगितालाई सफलतासाथ सम्पन्न गर्नुपर्ने हुन्छ । बीच भलिबललाई पोखराबाटै विकास गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘प्रतियोगितालाई सफल पार्न व्यक्तिगत र जनप्रतिनिधिको हैसियतले मेरो सक्दो सहयोग रहने छ। सांसद पहारीले नेपाल ट्रष्टको अधिनमा रहेको उक्त जग्गालाई प्रदेश सरकार मातहत ल्याउने आफ्नो प्रयास रहने बताए। देश संघीयतामा गइसकेको अवस्थामा ट्रष्टका कारण यहाँ खेलहरु खेलाउन पनि केन्द्रीय सरकारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने सांसद पहारीको माग छ ।  ‘बाराहीघाटस्थित खेल मैदानलाई प्रदेश सरकारको स्वामित्वमा ल्याउनुपर्छ,’ सांसद पहारीले भने, ‘यसका लागि पहल थालेको छु । ट्रष्टको जग्गालाई आउँदो दसैंभित्र प्रदेश सरकारको मातहतमा ल्याएर खेलकुद मैदानकै रुपमा विकास गर्नतर्फ लाग्नेछु ।’

बीच भलिबल प्रतियोगिता हुन केही दिन बाँकी रहँदा कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्र पोखराका प्रशिक्षक बुद्धसिंहसमेत खुसी छन् । उनले हाल कास्कीको बीच भलिबल टोलीलाई प्रशिक्षण दिइरहेका छन् । चार वर्षअघि उही कोर्टमा बीच भलिबल प्रतियोगिता हुँदा तत्कालीन कास्कीको टोलीबाट बीच भलिबल खेलको अनुभव बुद्धसिंह सुनाउँछन् । त्यस प्रतियोगितामा उनको टोली सेमीफाइनलबार्ट बाहिरिएको प्रशिक्षक बुद्धसिंहलले सुनाए।

पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्री रविन्द्र अधिकारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा विजेतालाई ३० हजार र उपविजेतालाई २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको संयोजक पहारीले बताए। संयोजक पकारीका अनुसार प्रतियोगितामा सवोर्त्कृष्ट खेलाडी र अनुशासित टिमलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

रेगुलर र बीचमा फरक

बालुवाले भरिएको आठ बाई आठ मिटर लम्बाइ चौडाइ क्षेत्रफलको कोर्टमा दुइ/दुइ जना खेलाडीले बीच भलिबल खेल्ने गरिन्छ । ६/६ जनाले रेगुलर भलिबल खेलिन्छ ।

दुइ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापकसहित ४ जनाको बीच भलिबलको टिम बन्छ । यद्यपी, रेगुलबर भलिबलमा नेपालको राष्ट्रिय खेलमा हालसम्म एक लिबेरोसहित १२ जना खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक गरी १४ जनाको टिम हुन्छ । पछिल्लो समय अन्तराष्ट्रिय भलिबल महासंघ, फिभ्बको नियममा दुइ लिबेरोसहित एउटा टिममा १४ जना खेलाडी हुनुपर्ने अनिवार्य गराएको छ ।

बेष्ट अफ थ्रीका आधारमा खेलाइने बीच भलिबलको २१ स्कोरमा गेम हुन्छ । सात/सात स्कोरमा कोर्ट स्वीचिङ हुन्छ । उता, रेगुलर भलिबलमा भने बेष्ट अफ फाइभमा गेम सकिन्छ । बेष्ट अफ फोरसम्म २५ स्कोर र बेष्ट अफ फाइभमा भने १५ स्कोरमा खेल सकिन्छ । बेष्ट अफ फाइबको गेममा ७ स्कोरमा कोर्ट स्वीचिङ हुन्छ ।

रेगुलर भलिबलको खेलमा जस्तो बीच भलिबलमा लाइन क्रसको फउल मानिदैन । बीच भलिबलमा एक हातले बल तान्न, फिङ्गरिङबाट सर्भिस बल उठाउन र नेटबाट बल कटाउन फउल मानिन्छ । बीच भलिबलमा फिङ्गरिङको सट्टा ग्रीफ र डिकिङ प्रयोग गरिन्छ । बीच भलिबलमा अण्डर हृयाण्ड सर्भिस हुँदैन, ओभर हेड सर्भिस गर्नुपर्छ ।

रेगुलर भलिबलमा अण्डर हृयाण्ड, ओभर हेड दुबै सर्भिस गर्न मिल्छ । रेगुलर बलमा एक हातले बल तान्न, फिङ्गरिङबाट बल उठाउन, बल कटाउन, ग्रीफ हान्न पाउने नियम छ ।

६/६ जनाले खेल्ने रेगुलर भलिबल कोर्टमा जस्तो बीच भलिबलको कोर्टमा फ्रन्ट जोन र ब्याक जोन हुँदैन । ९ बाई ९ मिटरको ३ मिटरको फ्रन्ट जोन र ६ मिटरको ब्याक जोनले रेगुलबर भलिबल कोर्ट बनेको हुन्छ ।

बीच भलिबलमा १ नं र २ नं मात्रै जर्सीप्रयोग गरिन्छ । यद्यपी, अन्य नम्बरको जर्सीप्रयोग अमान्य ठहरिन्छ । रेगुलर भलिबलमा १ देखि १८ नं सम्मको जर्सीप्रयोग गरिन्छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width