पोखरा, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकबाट आउने रेलमा नेपालको मिनिरल वाटर भरेर पठाउने बताएका छन् । नेपालमा जस्तो मिनिरल वाटर अरु देशमा नपाइने भन्दै उनले नेपालमा आउने रेलमा पानी भरेर पठाउने योजना अघि सारेका हुन् ।
‘हिउँबाट पग्लिदै आएको पानी पहरोमा पसेपछि मिनिरल र खनिजसँग मिलेर मिनिरल वाटर बन्छ । हाम्रोमा बाहेक दुनियाँमा मिनिरल वाटर झुठ्ठो कुरा हो,’ उनले भने, ‘रेल बनाएपछि ल्याउन त सामान आउला । पठाउने के भने पानी पठाउने, पानी । मिनिरल वाटर । पानीमात्रै उठाएर बोत्तलमा भरेर बेच्ने भने देश धनी बन्छ ।’ समुद्रको आडमा भएका देशसँग पिउनेपानी नभएको भन्दै उनले नेपालले आफूसँग भएको श्रोत उपयोग गर्नुपर्नेमा जोड दिए । समुद्र छन् मान्छेसँग । पानी देखेर समुद्र पिउन हुन्छ र ? हाम्रा खोला झरनामात्रै हो पिउन मिल्ने,’ उनले थपे, ‘पानी नभएको मुलुकको कुन आपत छ, कतारलाई हेर्र्नुस्। इजराइल समुद्रको पानी पिउने बनाउँछन् । सिंगापुर यस्तै हो ।’
उनले नेपालमा रेल र पानी जहाज ल्याएरै छाड्ने दोहोर्याएका छन् । ‘मैले रेलको कुरा गर्दा धेरैले मजाक बनाए । अरु देशले रेल चलाउन हुने नेपालले नहुने -,’ उनको प्रश्न छ, ‘नेपालमा रेल चल्छ । पूर्व पश्चिम रेल चलाइन्छ ।’ रक्सौल-काठमाडौं रेलको अध्ययन भइरहेको र पूर्व-पश्चिम रेलमा पनि छिट्टै काम हुने उनको भनाइ छ ।
गण्डकी प्रदेशसभालाई विहीवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालबाट तुइन हटाइछाड्ने दृढता देखाएका छन् । ‘पोहोर परारको तुइनको फोटो हालेर मलाई जिस्क्याउँछन् । तर त्यसको मतलव मलाई छैन,’ उनी भन्छन्, ‘म तुइनको शत्रु हो । नेपालबाट तुइन हट्छ-हट्छ ।’ ४७ वटा तुइन विस्तापित हुने क्रममा रहेको जानकारी दिँदै उनले १ सय जति तुइनलाई हटाएर अरु संरचना बनाउन नमिल्ने अवस्थामा रहेको बताए । पुल बनाउन नमिल्ने ठाउँमा केवुल राखेर भए पनि तुइन हटाइने उनको दाबी छ ।
प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशमा फिल्म सिटीको अवधारणा पनि सरकारले सञ्चालन गर्न लागेको जानकारी दिए । ‘यत्तिकै अमिताभ बच्चन नेपाल आएका छैनन् । मैले भारतीय कलाकारहरुलाई गण्डकी प्रदेशभित्र मस्र्याङ्दी आसपास ठाउँ हेर्न भनेको छु,’ उनले भने, ‘यो प्रदेशमा फिल्म सिटी बन्दा आधा मुर्म्बई यता सर्छ । मुर्म्बईमा समथर बाहेक केही देख्न पाइँदैन, यता हिमालदेखि तालसम्म सबै देख्न पाइन्छ ।’ ओलीले नेपालमा स्तरीय चिकित्सा शिक्षा नहुँदा वर्षेनी ४ सय विद्यार्थी नेपालमा नाम निकालेर बाहिरी देशमा पढ्न जाने गरेको सुनाए । सन् २०२१ जुलाइभित्रै पोखराको अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्ने उनको विश्वास छ । सानातिना कुरामा अल्झेर समृद्धिको बाटो पूरा नहुने भन्दै देशको पक्षमा काम गर्न उनको आग्रह छ । प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन अनिवार्य रहेकोले भ्रष्टाचारको अन्त्य हुनु आवश्यक रहेको समेत औल्याए ।
‘पहिले स्थानीय निकाय प्रयोगमा थियो । केन्द्रमा नेपाल सरकार अहिलेकै अवस्थामा थियो,’ उनले भने, ‘नयाँ भनेको प्रदेश सरकार हो । यसमा केही अन्यौलता स्वभाविक छ । तर सानातिना कुरामा अल्झिने हैन । अधिकार पाएका ठाउँमा काम गर्नुपर्छ ।’
गण्डकी प्रदेशको वयान गर्दै उनले मानव सभ्यतासँग जोड्न आग्रह गरे । ‘नामै गण्डकी प्रदेश, सप्तगण्डकी हाम्रो सभ्यता र जीवनको शुरुवात हो, संस्कृतिको शुरुवात हो,’ उनले भने, ‘सप्तगण्डकीको शुरुवात हिमालबाट हुन्छ, गण्डकीको ऐतिहासिक, पौराणिक र धार्मिक महत्व छ ।’ उनले गण्डकी प्रदेश शिक्षा, स्वास्थ र पर्यटनको हवको रुपमा रहेको भन्दै प्रदेश विकासमा संघीय सरकारको पूर्ण साथ रहने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले यसअघि निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका थिए भने पोखरा विश्वविद्यालयको १९ औं साधारण सभा बैठकमा सहभागी भएका थिए । यसैबीच, प्रधानमन्त्री ओलीलाई पोखराका विभिन्न ठाउँमा कालोझण्डा देखाउने करिब २५ जनालाई प्रहरीले नियन्त्रणमा लिई साँझ छाडेको छ ।
सदनमा काँग्रेसको अवरोध
अनसनरत प्राडा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गण्डकी प्रदेशसभा अबरुद्ध गरेको छ । प्रधानमन्त्रीको सम्बोधनलगत्तै बसेको दोश्रो बैठक काँग्रेसले अवरुद्ध गरेको हो ।
प्रदेशसभामा विहीवार ३ वटा बैठक सञ्चालन हुने कार्यसूची कार्यव्यवस्था परामर्श समितिले तय गरे पनि काँग्रेसको अवरोधले एउटामात्रै बैठक पूरा भयो । पहिलो कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशलाई सम्बोधन गर्ने एजेण्डा रहेको थियो । तोकिएको समयभन्दा झन्डै साढे २ घण्टा ढिलो आएका ओलीले सवा घण्टासम्म समय लिए । त्यसपछि साढे ५ बजेसम्मलाई सदन स्थगित गरियो । दोश्रो बैठकमा प्रदेशसभा व्यवस्थापनसम्बन्धीको विधेयक टेबुल गर्ने कार्यसूची थियो । सभामुख नेत्रनाथ अधिकारीले दोश्रो बैठक सञ्चालन गर्न लाग्दा प्रमुख प्रतिपक्षी दल नेपाली काँंग्रेसका सांसदहरु उठेर विरोध गरे ।
सभामुख अधिकारीले बोल्ने पालो दिएपछि प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्राडा केसीको जीवनरक्षाको माग गरे । ‘प्रधानमन्त्रीजीले प्रदेशसभामा सम्बोधन गर्दै गर्दा केसीमाथि दमन भैरहेको थियो । अपहरण शैलीमा काठमाडौं लगेर मानवीय संवेदनाको धज्जी उडाएको छ,’ उनले भने, ‘डा गोविन्द केसीले उठाएको माग आमजनताको हो । स्वास्थ्य शिक्षामा सबैको समान पहुँच हुनुपर्छ भन्नेहरुको हो । तत्काल सुनुवाइहोस् ।’ उनले वार्ता टोली बनाएर माग सुनुवाइ गर्न आग्रह गरेका छन् ।
यस्तै, काँग्रेसले सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने संवैधानिक व्यवस्थाप्रति पनि ध्यानाकर्षण गराएको छ ।
गण्डकी प्रदेशमा नेकपातर्फबाट तत्कालीन माओवादी सांसद नेत्रनाथ अधिकारी सभामुख र तत्कालीन एमालेकी सांसद सिर्जना शर्मा उपसभामुख छन् । काँग्रेसले सदन अवरुद्ध गरेसँगै बैठक शुक्रबारसम्म स्थगित गरिएको छ ।
Related News
सम्बन्धित समाचार
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
hero news full width
मुख्य समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१