पोखरा, १ साउन । पोखराको अधिकांश वडामा यतिबेला जथाभावी ग्राभेल निकाल्ने र मनपरी बेच्ने क्रम बढ्दो छ । विशेषगरी सेती नदी जोडिएका वडाहरुमा यो समस्या अधिक छ ।
पोखरा वडा १, १४, १५, १७, १९, २५, ३३ लगायतमा मनपरी नदीजन्य सामाग्री उत्खनन् भैरहेको छ । वडा २१ को दोविल्ला, वडा १४ को बाच्छीबुडुवामा नियमविपरीत सञ्चालित क्रसर अझै बन्द भएका छैनन् । पोखराको वडा १ याम्दीमा रहेको क्रसर भने नियम नपुगेको भन्दै महानगरले यसअघि नै बन्द गरिदिएको थियो ।
नदी दोहन र निजी जमिनमा पनि मापदण्ड पूरा नगरी निर्माण सामग्री उत्खनन् गरिएको छ । पोखरा वडा ३३, भरतपोखरीस्थित पुष्प वस्ती नजिक ठूलो जमिन खनेर घडेरी बनाइएको छ । सरकारसँग अनुमति नलिएको भन्दै गएको साता कास्की प्रहरीले ६ वटा टिपर र डोजर नियन्त्रणमा लिएको थियो । त्यसपछि देखिने गरी काम नगरे पनि लुकिछिपी उत्खनन् भैरहेको र जमिन भत्काउने क्रम नरोकिएको स्थानीयहरु बताउँछन् । जमिन खन्दा निस्किएको निर्माण सामग्री नजिकैको जंगलमा गोदाम बनाएर थुपारिएको छ । केही चाहीँ बिक्री पनि भैसकेको एक स्थानीयले बताए ।
भरतपोखरीमा समूह मिलेर नदी उत्खनन् गर्ने र बाँझो जमिनमा थुपार्ने चलन धेरै पहिलेदेखिको हो । यो क्रम जनप्रतिनिधि निर्वाचित भएपछि झनै बढेको छ । बिनास्वीकृति निर्माण सामग्री थुपारे पनि वडा र महानगरले चासो दिएको छैन । ‘भरतपोखरीमा ३/४ वटा ग्रुप मिलेर काम गरिरहेका छन् । बाँझो जमिनमा थुपार्छन् र फुर्सदमा बिक्री गर्छन्,’ एक स्थानीयले भने, ‘धेरै पटक जनप्रतिनिधिलाई पनि भनिसक्यौं तर टेर्र्नुभएन ।’ दोबिल्लाबाट भरतपोखरी छिर्नेबित्तिकै बाटोको आडमा रहेका अधिकांश घर नजिक ग्राभेल, ढुंगा र बालुवाको गोदाम छ । जग्गाधनीलाई केही रकम दिने र तिनै समूहले अवैध हिसाबले बिक्री गर्ने गरेका ती स्थानीयले बताए ।
वडाध्यक्ष शिव आचार्य चाहीँ ग्राभेल थुपार्ने क्रम पूरै नियन्त्रणमा ल्याइसकेको बताउँछन् । निर्वाचनभन्दा पहिले दोविल्लामा क्रसर राख्ने मनसायले धेरै मेटेरियल थुपारिएको रहेछ । हामी निर्वाचित भएपछि क्रसर चलाउन दिएनौं,’ उनले भने, ‘त्यै सामग्री अहिले विभिन्न बहानामा बेचिएका छन् । नयाँ सामग्री थुपार्न पाएका छैनन् ।’ खानी उत्खनन् ८० प्रतिशत रोकिएको उनको दावी छ । ‘पहिले सार्वजनिक जग्गामा उत्खनन् हुँदा पनि हेरेर बसे । अहिले निजी जग्गामा पनि कडाइ गरेका छौं,’ उनी भन्छन्, ‘छाडापनलाई विस्तारै कानूनी दायरामा ल्याएका छौं ।’ खानीको जमिन जोडिएको ठाउँमा स्थानीयले बलमिच्याईं गरेका भन्दै उनले यसलाई पनि रोक्ने प्रतिबद्धता जनाए । ‘अरु वडालाई हेरेर निर्माण सामग्री निकाल्न पाउनुपर्ने दावी स्थानीयले गर्छन् । सबैतिर रोकिएको भए जनप्रतिनिधिलाई पनि सजिलो हुन्थ्यो,’ वडाध्यक्ष आचार्यले थपे, ‘अरु वडामा धमाधम गिटी बालुवा निकालेर बेचिएका छन् । मैलेमात्रै रोक्न खोज्दा गाह्रो भयो ।’ प्राविधिकको सल्लाहमा वडा तहले नै खानी सञ्चालन गर्न पाउनुपर्ने उनको माग छ ।
महानगरका मेयर मानबहादुर जिसीले भरतपोखरी क्षेत्रमा अधिक उत्खनन् भएको भन्दै तत्काल एक्सनमा जाने बताए । ‘बाटो बनाउने र घडेरी खार्ने भनेर निवेदन दिन्छन् । विकासको काम रोक्ने कुरै भएन,’ उनले भने, ‘विकास देखाएर विनास गर्छन् । यसलाई रोक्न तल्लो तहको पनि सहयोग चाहिन्छ ।’ विभिन्न चरणमा अवलोकन गरिसकेको भन्दै मेयर जिसीले स्थानीय र जनप्रतिनिधिको सहयोगमा अवैध रुपमा हुने उत्खनन् बन्द गर्ने बताएका छन् । दोविल्लादेखि सुरौंदीखोलाको तिरसम्मै अवैध काम बढिरहेको उनको भनाइ छ । महानगरपालिकाले बोले अनुसार काम भने गर्न सकेको छैन । अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्ने यसअघि नै प्रतिबद्धता जनाए पनि कार्यान्वयन अहिलेसम्म भएको छैन । पछिल्लो समय जनप्रतिनिधिकै संलग्नतामा अवैध काम बढ्न थालेको गुनासो सरोकारवालाको छ ।
पोखरा वडा १४ र २१ को क्रसर सञ्चालनमा वडाध्यक्षले नै स्वीकृति दिएका थिए । त्यसबाहेक आफ्नो अधिकार क्षेत्र बाहिरका धेरै कामहरु गर्ने बाटो वडा तहका जनप्रतिनिधिले नै खोलिदिएका छन् । वातावरणीय प्रभाव मूल्यांकन नगरी जबर्जस्ती नदी दोहन गर्ने क्रम तुरुन्तै रोक्न स्थानीयको माग छ । गण्डकी प्रदेश सरकारले पनि प्राकृतिक श्रोतमाथि हुने दोहन रोक्न विशेष कार्ययोजना तयार गरेको छ ।
Related News
सम्बन्धित समाचार
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
hero news full width
मुख्य समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१